Oct 29 2026 | २०८३ कार्तिक १३ गते

लक्षित वर्गलाई २ लाख रुपैयाँसम्मको निःशुल्क जलन उपचार

लक्षित वर्गलाई २ लाख रुपैयाँसम्मको निःशुल्क जलन उपचार

शुक्रवार, भाद्र २६ २०८३
  • काठमाडौँ। काठमाडौँ महानगरपालिकाले जलनको उपचार गर्नु पर्ने लक्षित वर्गका व्यक्तिलाई २ लाख रुपैयाँसम्मको निःशुल्क उपचार गराउने भएको छ। अति विपन्न, हिंसा पीडित तथा बेवारिसे बिरामीहरुलाई महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिको सिफारिसमा सेवा प्रदान गरिनेछ।

    यस्तै काठमाडौँ महानगरपालिका क्षेत्रभित्र बसोबास गर्ने स्थायी बासिन्दा, कानुन बमोजिम बसाइँसराइ गरी आएका व्यक्तिहरू, महानगरका जनप्रतिनिधिहरू, कर्मचारीहरू र उनीहरूका परिवारका सदस्यहरूलाई पनि यो सेवा प्रदान गरिनेछ । उपचारका लागि प्रति व्यक्ति २ लाख रुपियाँसम्मको खर्च कोषबाट व्यहोरिनेछ।

    images

    कोषको रकम उपचारका लागि मात्र प्रयोग गरिनेछ । बिरामीले अस्पतालको क्याबिन सेवा, ईएचएस सेवा वा कस्मेटिक उपचार रोजेको खण्डमा भने कोषबाट रकम खर्च गरिनेछैन । अस्पतालले आफूसँग उपलब्ध सेवा र सुविधाहरूमा मात्र यो कोष परिचालन गर्नुपर्ने सम्झौतामा उल्लेख छ।

    यो सेवा प्रदान गर्न शुक्रबार काठमाडौँ महानगरपालिका र कीर्तिपुर अस्पताल (जनस्वास्थ्य सरोकार ट्रष्ट)का बिचमा सम्झौता सम्पन्न भएको छ।

    महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालको रोहवरमा महानगरपालिकाका तर्फबाट स्वास्थ्य विभागका प्रमुख दिपककुमार के. सी. र अस्पतालका तर्फबाट कार्यकारी निर्देशक गौरी प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरे।

    उपचारका लागि प्रयोग हुने औजार, उपकरण तथा निःशुल्क उपचार सेवा सञ्चालन गर्न महानगरपालिकाले अस्पताललाई २ करोड रुपैयाँ प्रदान गरेको छ । यसमध्ये ‘जलन उपचार कोष’ का लागि १ करोड रुपैयाँ हो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार