काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र कारबाहीमा परेका तथा कारबाही प्रक्रियामा रहेका व्यक्तिहरूलाई पार्टीका कुनै पनि निकायमा समावेश नगर्न र पार्टीले आयोजना गर्ने कार्यक्रमहरूमा सहभागी नगराउन आग्रह गरिएको छ।
राप्रपा जिल्ला कार्यसमितिलाई सम्बोधन गर्दै केन्द्रीय कार्यालय धुम्बाराही, काठमाडौंमा पठाइएको पत्रमार्फत पार्टीको साधारण सदस्यबाट निष्कासन भइसकेका चार जना तथा कारबाही प्रक्रियामा रहेका तीन जनालाई पार्टीका गतिविधिबाट अलग राख्न अनुरोध गरिएको हो।
पार्टीबाट कारबाही भई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएका व्यक्तिहरूमा काठमाडौंका उद्धव थापा, राजेन्द्र प्रजापती र राजु विष्ट तथा चितवनका गिरबहादुर तामाङ रहेका छन्।
त्यस्तै, कारबाही प्रक्रिया अघि बढाइएका व्यक्तिहरूमा दोलखाकी मोनिका श्रेष्ठ, काठमाडौंका नुरज वज्राचार्य र धादिङका डम्बर तामाङ रहेका छन्।
पत्रमा उल्लेखित व्यक्तिहरूलाई पार्टीका कुनै पनि निकायमा जिम्मेवारी वा सहभागिता नदिनुका साथै पार्टीद्वारा आयोजना गरिने कार्यक्रमहरूमा समेत सहभागी नगराउन सम्बन्धित पक्षलाई आग्रह गरिएको छ।




