काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जारी गरेको बाढीपछिको सङ्क्रामक रोग निगरानी प्रतिवेदन अनुसार २४ घण्टाको अवधिमा कुल ५२ जना नयाँ बिरामी दर्ता भएका छन्।
अद्यावधिक तथ्याङ्क अनुसार नयाँ बिरामीहरूमध्ये अधिकांशमा ज्वरोको समस्या देखिएको छ, जसको सङ्ख्या ४९ रहेको छ। यसबाहेक कडा झाडा पखालाका २ जना र शरीरमा डाबर वा दागसहितको ज्वरो आएका १ जना बिरामी भेटिएका छन्।
पछिल्ला केही दिनयता प्रभावित क्षेत्रहरूमा ज्वरो, खोकी र झाडापखालाका बिरामीहरूको दैनिक सङ्ख्यामा उतारचढाव आइरहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ। जिल्लागत रूपमा कुल बिरामीको सङ्ख्या हेर्दा रसुवा जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ।
रसुवामा हालसम्म कुल ३१९ जना बिरामी दर्ता भइसकेका छन् भने नुवाकोटमा २७२ जना र धादिङमा ७२ जना बिरामी फेला परेका छन्। पछिल्लो २४ घण्टाको विवरण अनुसार पनि रसुवामा मात्रै २२ जना नयाँ बिरामी थपिएका छन्।
त्यस्तै नुवाकोटमा १२ जना र धादिङमा २ जना नयाँ बिरामी भेटिएका हुन्। बिरामीहरूमा मुख्यतया ज्वरो, खोकी र कडा झाडापखालाको लक्षण बढी पाइएको छ भने जन्डिससहितको ज्वरो र जनावरको टोकाइका घटनाहरू पनि फाट्टफुट्ट दर्ता भएका छन्।
रोगको सम्भावित जोखिम र महामारीको स्थिति नियन्त्रण गर्नका लागि स्वास्थ्य निकायहरूले निगरानी तथा रोकथामका कार्यलाई तीव्र बनाएका छन्। मैदानमा खटिएका ‘एफईटीपी ’ ग्राजुएटहरूलाई रोगको ट्रेन्ड विश्लेषण र अनुगमनसम्बन्धी अभिमुखीकरण प्रदान गरिएको छ।
यसका साथै, रसुवास्थित जनस्वास्थ्य कार्यालयमा रोग निगरानीलाई सुदृढ बनाउन र आपत्कालीन प्रतिकार्यका लागि अन्तर(निकाय समन्वय बैठकहरू सम्पन्न भएका छन्। विभिन्न होल्डिङ सेन्टरहरूमार्फत निरन्तर बिरामीहरूको तथ्याङ्क सङ्कलन गरी अवस्थालाई नियन्त्रणमा राख्ने प्रयास भइरहेको छ।



