काठमाडौँ । नरेफाँटबाट बरामद गरेको ग्यास निर्धारित मूल्यमा नै उपभोक्तालाई वितरण गर्ने गरी प्रहरीले फिर्ता गरेको छ। प्रहरीले बिहीबार साँझ काठमाडौँ–३२ स्थित नरेफाँटबाट १८३ थान खाना पकाउने ग्यास बरामद गरेको थियो।
निर्धारित मूल्यमा नै डिलरले सूचीकृत गरेको उपभोक्तालाई वितरण गर्ने सर्तमा ग्यास फिर्ता गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले रातोपाटीलाई बताए । उनले भने, ‘बढी मूल्य लिएको सूचनाको आधारमा नियन्त्रणमा लिएका थियौँ, सचेत गराएर पठाएका छौँ।’
नरेफाँट स्थित रामेछाप ब्राण्ड ग्यास डिलरका सञ्चालक नारायण श्रेष्ठले फिर्ता लगेको ग्यास उपभोक्तालाई वितरण गरेका छन् । ग्यासको निर्धारित मूल्य २ हजार १६५ भए पनि रामेछाप ब्राण्ड ग्यास डिलरले ढुवानी भाडा जोडेर २५ सय असुलेको उपभोक्ताहरू बताउँछन् । बिहीबार साँझ प्रहरीले सामाखुसीबाट पनि १८९ थान सिलिन्डर बरामद गरिएको थियो । बसुन्धरास्थित हाम्रो सगरमाथा सहकारी संस्थामार्फत ग्यास कारोबार गर्ने प्रदीप घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । घिमिरेले २ हजार ६ सय ग्यास बेच्ने गरेको भेटिएको छ।



