Oct 29 2026 | २०८३ कार्तिक १३ गते

जनता भोट फिर्ता गर्ने मनस्थितिमा पुगिसके : महेश बस्नेत

जनता भोट फिर्ता गर्ने मनस्थितिमा पुगिसके : महेश बस्नेत

शुक्रवार, भाद्र २६ २०८३
  • काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारका गतिविधि देखेर जनता निराश भएको बताएका छन्।

    शुक्रबार एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जनता भोट फिर्ता गर्ने मनस्थितिमा पुगिसकेको दाबी गरेका हुन्।

    images

    सरकार बनेको ६ महिना नपुग्दै जनतामा निराशा उत्पन्न भएको उनले बताए। अन्तर्राष्ट्रिय शक्तिहरूले सामाजिक सञ्जाल र अल्गोरिदमको प्रयोग गरेर नयाँ पुस्तामा भ्रम सिर्जना गरी वर्तमान सरकार निर्माण गरिएको उनले दाबी गरे। सुशीला कार्की नेतृत्वको अन्तरिम तथा वर्तमान सरकारका गतिविधिका कारण जनताले आफ्नो निर्णय गलत भएको महसुस गर्न थालेको उनको भनाइ छ।

    जनतामा अहिले उक्त जनादेश फिर्ता गर्नुपर्ने मनोविज्ञान विकास भएको उनले बताए। सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी मुद्दा विचाराधीन रहेकाले संसद् पुनःस्थापना गरेर गलत अभ्यास सच्याउनुपर्ने उनले बताए। एमालेले यही विषय आगामी केन्द्रीय कमिटी बैठकमा छलफलको एजेन्डा बनाउने उनको दाबी छ।

    जनताको मनोविज्ञानबारे बोल्दै सचिव बस्नेतले भने, ‘पछिल्लो एक वर्षको अन्तरिम र वर्तमान सरकारका कारणले जनताहरुले आफ्नो निर्णय गलत भयो भनेर पछुताउ गरेको र अहिले निर्वाचन हुने सच्चिने ठाउँमा पुगिसक्नुभएको छ।’

    सरकारको काम र जनादेशबारे प्रस्ट पार्दै उनले थपे, ‘सरकारले जुन खालको गलत हर्कत गरिरहेको छ, आम जनता त्यो जनादेश फिर्ता गर्नुपर्छ भन्ने मनोविज्ञान भोगिरहेको र अहिले हुने भए त्यो जनादेश फिर्ता गर्नुपर्छ भन्ने मनस्थितिमा पुगेको बेलामा जनताको आन्दोलनको बलबाट सर्वोच्च अदालतमा भएको विचाराधीन मुद्दाबाट संसद पुनर्गठन हुने एउटा परिवेश सिर्जना हुने अवस्थामा छ।’

    आगामी कदमबारे बोल्दै उनले भने, ‘यसले त्यतिखेरको निर्वाचनमा गरिएका गलत अभ्यासहरु सच्चिने ठाउँमा पुग्छन्। आगामी केन्द्रीय कमिटीको बैठकमा यो विषय छलफल हुन्छ, त्यसलाई हामी छलफलको एजेन्डा बनाउँछौँ।’

    पार्टी संगठनभित्रका कमजोरीलाई सुधार गरी जनतामा फैलिएका भ्रम चिर्ने गरी एमालेलाई सशक्त बनाएर लैजाने उनले बताए। जनतासँगको सम्बन्ध थप बलियो बनाउँदै उनीहरूका मुद्दामा नियमित अन्तरक्रिया र छलफल गर्ने तथा सामाजिक न्याय र समाजसेवाका काममा पार्टीलाई केन्द्रित गर्ने उनको भनाइ छ।

    पार्टीको समीक्षा तथा पुनर्गठनका लागि गठित कार्यदल पार्टी अध्यक्षलाई हटाउन गठन गरिएको भन्ने गलत प्रचार भइरहेको समेत उनले बताए। कार्यदललाई निर्वाचनको समीक्षा तथा बदलिँदो राजनीतिक परिस्थितिमा पार्टी कसरी अघि बढ्ने भन्ने विषयसँगै पार्टी पुनर्गठनको जिम्मेवारी दिइएको उनले स्पष्ट पारे।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार