Oct 29 2026 | २०८३ कार्तिक १३ गते

अस्पताल गेटबाहिरै प्रसूति घटनामा मन्त्रालयद्वारा छानबिन सुरु, ड्युटीका कर्मचारी हटाइए

अस्पताल गेटबाहिरै प्रसूति घटनामा मन्त्रालयद्वारा छानबिन सुरु, ड्युटीका कर्मचारी हटाइए

शुक्रवार, भाद्र २६ २०८३
  • काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेटबाहिरै एक महिलाले शिशु जन्माएको घटनामा सरकारले आवश्यक छानबिन अघि बढाएको जानकारी दिएकी छन्।

    प्रतिनिधि सभाको शुक्रबारको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले उक्त घटनालाई सरकारले गम्भीरतापूर्वक लिएर कारबाही अघि बढाएको बताएकी हुन्।

    images

    घटनाका वेला ड्युटीमा रहेका अस्पतालका कर्मचारीलाई कामकाजबाट हटाएर उनीहरूमाथि छानबिन भइरहेको उनले जानकारी दिइन्। घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सुप्रभात श्रेष्ठ तथा एथिकल कमिटीका डा. अजय शाहसहित पाँच सदस्यीय टोली राजविराज पुगिसकेको उनले बताइन्। मन्त्रालयले २४ घण्टे स्पष्टीकरण मागिसकेको र अस्पतालबाट स्पष्टीकरण प्राप्त भइसकेको उनले जानकारी दिइन्।

    संसदमा बोल्दै मन्त्री मेहताले भनिन्, ‘माननीयज्यूहरूले सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल परिसर बाहिरै एक आमाले बच्चा जन्माएको घटनाका सम्बन्धमा उठाउनुभएको विषयप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ। उक्त घटनाको जानकारी प्राप्त हुनसाथ मन्त्रालयले अस्पतालसँग घटनाका सम्बन्धमा २४ घण्टे स्पष्टीकरण माग गरेको थियो र अस्पतालबाट स्पष्टीकरण पेस भइसकेको पनि छ।’

    छानबिन टोली परिचालनबारे जानकारी दिँदै उनले थपिन्, ‘नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डाक्टर सुप्रभात श्रेष्ठ र एथिकल कमिटीबाट डाक्टर अजय शाह सहित ५ सदस्यीय टोली हिजो नै स्थलगत छानबिनका लागि राजविराज पुगिसकेका छन्। उक्त टोलीसँगै मन्त्रालयको तर्फबाट स्वास्थ्य सेवा विभागका उपचारात्मक सेवा महाशाखा प्रमुख डाक्टर पवनजङ्ग रायमाझी समेत रहनुभएको छ।’

    प्रशासनिक कदमबारे प्रस्ट पार्दै उनले भनिन्, ‘उक्त घटनाका सम्बन्धमा छानबिनका लागि जिल्ला प्रशासन कार्यालय सप्तरीबाट समिति गठन भइसकेको छ। साथै अस्पतालको सो घटनाको बखत डिउटीमा रहेका कर्मचारीहरूलाई तत्काल कामकाजबाट हटाई आवश्यक छानबिन सुरु भइसकेको छ।’

    राज्यको दायित्वबारे बोल्दै उनले थपिन्, ‘मातृ तथा नवजात शिशुको जीवन रक्षा, सुरक्षित प्रजनन तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व भएकाले राजविराजको घटनालाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको छ।’

    अस्पतालबाट प्राप्त प्रारम्भिक विवरणबारे बोल्दै उनले भनिन्, ‘अस्पतालबाट प्राप्त प्रारम्भिक विवरण अनुसार भदौ २४ गते बिहान करिब २ बजे प्रसवको अवस्थामा ३० वर्षीया बबिता कुमारी पासवान अस्पताल आउनुभएको थियो। प्रारम्भिक अवस्था स्वास्थ्य परीक्षण पछि उहाँलाई प्रसूति वार्डको बेड नम्बर २४ मा भर्ना गरिएको थियो।’

    अस्पतालबाट बाहिरिएको घटनाबारे बताउँदै उनले थपिन्, ‘आवश्यक जाँच सम्बन्धी रिपोर्ट उपलब्ध नभएको कारणले अति आवश्यक जाँच गर्न सुझाव दिइएको थियो। त्यसपछि उहाँ र उहाँको कुरुवा अस्पतालले उपलब्ध गराएको शय्यामा नरही अस्पतालबाट बाहिरिनुभएको र बिहान करिब ४ः४५ बजे अस्पतालको मूल गेट बाहिर प्रसूति भएको जानकारी प्राप्त भएको छ।’

    प्रसूतिपछिको अवस्थाबारे जानकारी दिँदै उनले भनिन्, ‘प्रसूति भएपछि आमा र नवजात शिशु सालनाल सहित पुनः प्रसूति वार्डमा आएपछि डिउटीमा रहेका स्वास्थ्यकर्मीले नाल काट्नुका साथै प्रसूति पश्चात् आवश्यक स्वास्थ्य स्याहार तथा उपचारका लागि अस्पतालमै रहन अनुरोध गरिएको थियो।’

    स्वास्थ्यकर्मीको आग्रहबारे थप्दै उनले भनिन्, ‘अनुरोध गरिए तापनि उहाँ अस्पतालबाट बाहिरिनुभएको विवरण अस्पतालबाट प्राप्त भएको छ। यसका लागि छानबिन समितिले काम गरिरहेको छ।’

    कानुनी कारबाहीबारे स्पष्ट पार्दै उनले भनिन्, ‘छानबिन प्रतिवेदन प्राप्त भए पश्चात् दोषी देखिएकाहरूमाथि कानुन बमोजिम कारबाही हुने नै छ। यस्तो अवस्था फेरि पनि दोहोरिन नदिन अस्पतालले प्रतिबद्धता व्यक्त गरिसकेको छ र मन्त्रालयले समेत यसमा गम्भीरतापूर्वक लिई अस्पताललाई सचेत गराइसकेको छ।’

    अस्पतालले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता जनाइसकेको पनि उनले बैठकमा जानकारी दिइन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार