Oct 30 2026 | २०८३ कार्तिक १४ गते

जेनजी आन्दोलनमा ध्वस्त सुदूरपश्चिमका सरकारी कार्यालय लयमा फर्किँदै

जेनजी आन्दोलनमा ध्वस्त सुदूरपश्चिमका सरकारी कार्यालय लयमा फर्किँदै

मंगलवार, भाद्र २३ २०८३
  • काठमाडौँ । गत वर्ष जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सुदूरपश्चिमका सरकारी कार्यालयहरू बिस्तारै पुरानै अवस्थामा फर्किन थालेका छन्।

    क्षतिग्रस्त अधिकांश कार्यालय मर्मतसम्भार गरेर सेवा प्रवाह नियमित गरिएको छ। उक्त आन्दोलनमा सुदूरपश्चिममा सबैभन्दा बढी कैलाली र कञ्चनपुरका कार्यालय क्षतिग्रस्त भएका थिए।

    images

    गत वर्ष भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा कैलालीमा मात्रै १३७ वटा साना–ठुला भवनमा क्षति पुगेको थियो । तीमध्ये १०३ वटा सरकारी कार्यालय थिए।

    त्यस्तै १७ वटा राजनीतिक दलका कार्यालय, पाँच वटा प्रहरी चौकी र १२ वटा निजी घरमा समेत क्षति पुगेको थियो।

    कञ्चनपुरमा पनि सरकारी कार्यालय, व्यापारिक केन्द्र र राजनीतिक दलका नेताका घरमा तोडफोड तथा आगजनी भएको थियो । बेलौरीमा मात्रै ११ वटा सरकारी कार्यालय र १२ जना नेताका घरमा क्षति पुगेको थियो।

    आन्दोलनपछि क्षतिग्रस्त संरचना पुनःनिर्माणका लागि संघ र प्रदेश सरकारले सहयोग गर्ने बताए पनि बजेट आउन ढिलाइ भयो । लामो समयसम्म सरकारी सहयोगको प्रतीक्षा गर्दा नागरिकलाई सेवा दिन समस्या भएपछि स्थानीय तहहरूले आफ्नै आन्तरिक स्रोतबाट कार्यालय मर्मत र पुनःनिर्माणको काम अघि बढाए।

    घोडाघोडी, शुक्लाफाँटा, गोदावरी र गौरीगंगा नगरपालिकाले आन्तरिक बजेटबाट क्षतिग्रस्त संरचना मर्मत गरेका छन्। घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडकबहादुर रावतका अनुसार नगरपालिकाको भवन र सभा हलमा मात्रै करिब नौ करोड रुपैयाँ बराबरको क्षति भएको थियो । नगरपालिकाले आफ्नै स्रोतबाट करिब तीन करोड ७० लाख रुपैयाँ खर्च गरेर सेवा सञ्चालनमा ल्याएको छ।

    शुक्लाफाँटा नगरपालिकाले पनि आफ्ना १२ वटै वडाका क्षतिग्रस्त भवन मर्मत गरेर सेवा सञ्चालन गरिरहेको जनाएको छ । यद्यपि, सबै कार्यालय भने पूर्ण रूपमा पुरानै अवस्थामा फर्किसकेका छैनन् । केही कार्यालयले सीमित कोठाबाटै सेवा दिइरहेका छन्।

    आन्दोलनका क्रममा कैलाली कारागारमा समेत ठुलो क्षति पुगेको थियो । कारागारमा भएको तोडफोड र आगजनीपछि ६६३ जना कैदीबन्दी फरार भएका थिए । तीमध्ये हालसम्म ४६३ जना पुनः कारागार फर्किसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । फरार भएकामध्ये १९ जना भारतीय नागरिक छन् । बाँकी कैदीबन्दीको खोजी भइरहेको जनाइएको छ।

    सरकारी कार्यालयहरू बिस्तारै सामान्य अवस्थामा फर्किए पनि निजी क्षेत्र भने अझै पूर्ण रूपमा तङ्ग्रिन सकेको छैन। महेन्द्रनगरका होटल ओपेरा, सीएमजी क्यासिनो, डाइमण्ड क्यासिनोलगायतमा भएको तोडफोड र लुटपाटबाट व्यवसायीहरूले ठुलो आर्थिक क्षति व्यहोरेका छन् । धेरै व्यवसायी अझै पनि आफ्नो व्यवसायलाई पुरानै अवस्थामा फर्काउने प्रयासमा छन्।

    क्षतिग्रस्त संरचना पुन:निर्माण गरेर पुरानै अवस्थामा फर्काउने प्रयास भए पनि आन्दोलनले पुर्‍याएको आर्थिक तथा सामाजिक क्षतिको असर भने लामो समयसम्म रहने देखिन्छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार