काठमाडौं । वैदेशिक रोजगारीको नाममा ठगेको आरोपमा प्रहरीले एक वर्षमा ३४८ जनालाई पक्राउ गरेको छ ।
आर्थिक वर्ष २०८० साउनदेखि २०८१ असार मसान्तसम्ममा वैदेशिक रोजगारीको प्रलोभनमा पीडितहरूले ६४ करोड १२ लाख २५ हजार रकम गुमाएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
साउन महिनामा मात्र उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगीमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । उनीहरूबाट १० जना पीडित भएका छन् ।
२०८१ साउन महिनामा मात्र वैदेशिक रोजगार विभाग र अदालतबाट १३६ जनाविरुद्ध पक्राउ अनुमति आएको एसपी काजीकुमार आचार्यले बताए ।
त्यस्तै ठगीमा संलग्न ८४० जनाविरुद्ध वैदेशिक रोजगार विभाग र अदालतबाट पुर्जी जारी भएको छ ।
वैदेशिक रोजगारीमा सहज रूपमा जान र काम गर्न पाइने मुलुक भए पनि काठमाडौंमा बसेर बिचौलियाहरूले कतार, साउदी अरब, युएई र कुवेतकै नाममा ठग्ने गरेका छन् ।
अरबको खाँडीमा पठाइदिने सपना बेचेर ठगेको आरोपमा प्रहरीले सिराहाका गुनेशकुमार ठाकुरलाई पक्राउ गरेको छ ।
ललितपुरको इमाडोल बस्ने ३२ वर्षीय ठाकुरले साउदी–कतारकै सपना देखाएर १ करोड ९७ लाख ठगेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी आचार्यले बताए । ठाकुरविरुद्ध वैदेशिक रोजगार विभागमा ८५ जनाले उजुर गरेका छन् ।
प्रहरीको खोजी सूचीमा रहेका ठाकुर साउन २१ मा पक्राउ परेका छन् । बैंकिङ र ठगीसम्बन्धी ८ वटा कसुरमा उनी फरार रहेको अपराध रेकर्ड फेला परेको छ ।
बसुन्धारास्थित ‘ओम इन्टरनेशनल’ मेनपावरको कर्मचारी हुँ भनेर ठाकुरले पीडितहरूसँग रकम असुल्ने गरेका थिए । यसअघि प्रहरी वृत्त गोशालाको टोलीले उनलाई मेनपावरको परिचय पत्रसहित पक्राउ गरेको थियो ।
आरोपीले ठगेको रकमले पत्नीको नाममा घर खरिद गरेका छन् । उनकी पत्नी माध्यमिक विद्यालयकी शिक्षिका हुन् । विराटनगरमा उनले पत्नीको नाममा ८० लाखमा घर खरिद गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
कतार र साउदी बाहेक गुनेशले पोल्यान्ड पठाउने सपना बेचेर पनि ठगेको अनुसन्धानमा संलग्न डीएसपी गोविन्द पन्थीले बताए ।
विदेश पठाउने नाममा एउटै गिरोहले १५ करोडसम्म ठगेको भेटिएको छ । २०८१ जेठमा उपत्यका अपराध अनुसन्धान कार्यालयले राजकुमार भट्ट, नवीन बिक र पवन पन्तलाई पक्राउ गरेको थियो ।
उनीहरुले ३ सय जनाबाट करिब १५ करोड ठगेको अनुसन्धान अधिकृतहरू बताउँछन् । चितवन घर भएका भट्ट, पोखरा घर भएका पन्त र विकले कम्बोडिया, न्युजिल्याण्ड र फ्रान्स पठाउने सपना देखाएर ठगेका थिए ।



