Oct 28 2026 | २०८३ कार्तिक १२ गते

समाचार

तत्काल राजदूत नियुक्त गर्न मलेसियाका नेपाली श्रमिकको माग

तत्काल राजदूत नियुक्त गर्न मलेसियाका नेपाली श्रमिकको माग

सोमवार, भाद्र २२ २०८३
  • काठमाडौँ । मलेसियामा रहेका नेपाली श्रमिक तथा व्यवसायीहरूले नेपाली श्रमिकका समस्या समाधान गर्न र तत्काल राजदूत नियुक्ति गर्न सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीको ध्यानाकर्षण गराएका छन्।

    एसिया–प्यासिफिक तथा सेन्ट्रल एसियाका ३० देशका सांसद सहभागी एएफपिपिडीअन्तर्गतको सम्मेलनमा भाग लिन आएकी सांसद डा. कार्कीसँग रास्वपाको प्रवास शाखा मलेसियाले अन्तरक्रिया आयोजना गरेको थियो।

    images

    छलफलमा मलेसियामा सुरक्षागार्डसहित अन्य क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरूले भोग्दै आएका समस्या, गुनासा, नेपाली दूतावासको भूमिका र लामो समयदेखि राजदूत नियुक्ति नभएको अवस्थामा देखिएका समस्याबारे प्रश्नहरू उठेका थिए।

    विशेषगरी मलेसियामा कार्यरत नेपाली सेक्युरिटी गार्डहरूले अत्यधिक समय काम गर्नुपर्ने, तोकिएको तलब नपाउने लगायत लामो समयदेखि भोगिरहेका समस्याबारे डा. कार्कीलाई जानकारी गराइएको बताइएको छ।

    छलफलमा सांसद डा. कार्कीले नेपाली श्रमिकका गुनासा र राजदूत नियुक्तिको विषयलाई गम्भीरताका साथ लिएको भन्दै सम्बन्धित निकाय तथा संसद्मा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

    मलेसियामा सेक्युरिटी गार्डहरूले तोकिएको न्यूनतम मासिक १७ सय रिंगेट नपाउँदा कम्पनी छाड्ने र ‘इलिगल’ बन्ने क्रम समस्याका रूपमा देखिएको छ।

    नेपाली दूतावासले मागपत्र प्रमाणीकरण गर्नुअघि नेपाली श्रमिकले न्यूनतम तलब बैंक खातामा पाए–नपाएको हेर्ने र नपाएको भए मागपत्र प्रमाणीकरण नगर्ने नीतिलाई कडाइका साथ अघि बढाएको बताएको छ । तर, सेक्युरिटी गार्डहरूले न्यूनतम तलब नपाएको गुनासो गरिरहेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार