काठमाडौँ । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले पुर्याएको अकल्पनीय मानवीय र भौतिक क्षतिप्रति काठमाडौँ उपत्यकाका नागरिकहरूले दुःख व्यक्त गर्दै ऐक्यबद्धता जनाएका छन्।
नेपाल–चीन सीमा क्षेत्रमा गएको हिमपहिरो र हिमताल विस्फोटपश्चात् भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका जिल्लाहरूमा पुर्याएको अकल्पनीय मानवीय र भौतिक क्षतिप्रति काठमाडौँ उपत्यकाका नागरिकहरूले गहिरो दुःख व्यक्त गर्दै ऐक्यबद्धता जनाएका हुन्।
उपत्यकाका नागरिकहरूले आइतबार बिहान काठमाडौँमा सामूहिक ऐक्यबद्धता र्यालीको आयोजना गर्दै दुःख व्यक्त गरे । विनाशकारी महाविपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ताहरूको खोजी कार्यलाई राज्यले उच्च प्राथमिकता दिन माग गरेका छन् । बेपत्ताको खोजीका लागि अधिकतम स्रोत–साधन, जनशक्ति तथा आधुनिक प्राविधिक र वैज्ञानिक विधिको प्रयोग गर्न सरकारसँग आग्रह गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा फेला परेका शवहरूको सनाखतमा जटिलता देखिएको उल्लेख गर्दै नागरिक समूहले सबै शवको सम्मानजनक व्यवस्थापन र वैज्ञानिक अभिलेखीकरण गर्न ध्यानाकर्षण गराएको छ । शवको पहिचानका लागि डीएनए लगायतका जैविक नमुनाहरू सुरक्षित राख्न र परिवारबाट नमुना सङ्कलन गरी समन्वय गर्न राज्यले देखाएको तत्परताको स्मरण गर्दै पहिचानपश्चात् शव हस्तान्तरण प्रक्रियालाई मानवीय संवेदनशीलताका साथ सरल र सहज बनाउन अनुरोध गरिएको छ।
सङ्कटको यस कठिन समयमा आफ्नो ज्यानको प्रवाह नगरी उद्धार कार्यमा अहोरात्र खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, स्थानीय उद्धारकर्मी, चालक, प्राविधिक तथा स्वयंसेवकहरूको योगदानको वक्तव्यमार्फत उच्च सम्मान र प्रशंसा गरेका छन्।
महाविपद् प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापना र पुनर्निर्माण कार्यलाई दीर्घकालीन राष्ट्रिय प्राथमिकतामा राख्न राज्यसँग माग गरिएको छ । आवास र जीविकोपार्जन गुमाएकाहरूको पुनःस्थापनामा सरकार गम्भीर हुनुपर्नेमा जोड दिँदै क्षतिग्रस्त सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था, खानेपानी, विद्युत् र सञ्चार जस्ता आधारभूत पूर्वाधारहरू यथाशक्य छिटो निर्माण गर्न आग्रह गरेका छन्।
पुनर्निर्माणका क्रममा मानव सुरक्षा, वातावरणीय संवेदनशीलता र भविष्यमा आउन सक्ने विपद् जोखिम न्युनीकरणलाई विशेष ध्यान दिनुपर्ने उल्लेख छ । उपत्यकाका नागरिकहरूले शोकलाई शक्ति र सहयोगमा रूपान्तरण गर्ने सङ्कल्प गर्दै प्रभावित परिवारसँग ऐक्यबद्धता प्रकट गरेका छन् । कठिन परिस्थितिमा एक–अर्कालाई सहयोग गर्नु नै मानवीय धर्म र नेपाली पहिचान भएको उल्लेख गर्दै सुरक्षित नेपाल निर्माणका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरिएको छ।



