काठमाडौँ । परराष्ट्र मन्त्रालयले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछिको खोज, उद्धार तथा राहत कार्यका सम्बन्धमा पछिल्लो प्रगति विवरण सार्वजनिक गरेको छ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बिहीवार आयोजित नियमित प्रेस ब्रिफिङमार्फत विपद् व्यवस्थापनका विभिन्न नौ क्षेत्रमा भइरहेका कार्यहरूबारे जानकारी दिए।
मन्त्रालयका अनुसार हालसम्म बाढी प्रभावित क्षेत्रबाट १ हजार २५२ जनाको शव निकालिएको छ भने करिब ४ हजार २ सय जना अझै बेपत्ता छन्। उद्धार गरिएका ११ हजार ९९३ जनामध्ये ३ सयभन्दा बढी विदेशी नागरिक रहेका छन्।
बेपत्ता हुनेहरूमा ३४ देशका ५९० विदेशी नागरिक रहेको प्रारम्भिक तथ्यांक छ। नेपाल पर्यटन बोर्ड र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सरकारले तथ्यांक अद्यावधिक गरिरहेको छ।
बेपत्ता विदेशी नागरिकका परिवार र कूटनीतिक नियोगहरूसँग समन्वय गर्न मन्त्रालयमा 'इमर्जेन्सी कन्ट्रोल रूम' क्रियाशील छ। उक्त कक्षमा दैनिक करिब २ सय सोधपुछ आउने गरेको र बिहान ७ देखि राति १० बजेसम्म हटलाइन सेवा सञ्चालनमा रहेको प्रवक्ता क्षेत्रीले जानकारी दिए।
विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारका लागि नेपाली सेनासँगै भारत, चीन र दक्षिण कोरियाका विशेषज्ञ टोलीहरू परिचालन गरिएका छन्। हाल ९ हजार ३ सयभन्दा बढी नेपाली सेनाका जवानहरू रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासीसम्म खटिएका छन्।
चिलिमे र लाङटाङमा भारतीय टोली, माथिल्लो त्रिशूली ३-ए मा चिनियाँ टोली र माथिल्लो त्रिशूली-१ मा कोरियाली टोलीले नेपाली उद्धारकर्मीसँग मिलेर काम गरिरहेका छन्। लाङटाङतर्फ सुरुङको माथिल्लो भागबाट सानो प्वाल पारेर खोजी कार्य अघि बढाइएको छ। हाकु क्षेत्रमा पनि पुनः प्रवेश गरी खोजी सुरु गरिएको छ।
मृतकको पहिचानका लागि भारत, चीन, सिंगापुर र दक्षिण कोरियाका फरेन्सिक विशेषज्ञ तथा 'डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन' टोलीहरू खटिएका छन्। हालसम्म १९ भारतीय, ५ चिनियाँ र सिंगापुरका १९ विशेषज्ञहरूले डिएनए सङ्कलन र विश्लेषण कार्य सुरु गरिसकेका छन्। मन्त्रालयले बेपत्ताका आफन्तहरूलाई डिएनए परीक्षणका लागि महाराजगञ्जस्थित प्रहरी अस्पताल वा नजिकैको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।
नेपालले बाढीपछिको जटिल परिस्थितिसँग जुध्न अन्तर्राष्ट्रिय समुदायसँग उच्च क्षमताका ड्रोन, लाइडर, बेली ब्रिज, डिएनए परीक्षण किट र मोबाइल एयर ट्राफिक कन्ट्रोल सिस्टमजस्ता उपकरणहरूको माग गरेको छ। भारत, चीन, अमेरिका, बेलायत, जापानलगायत विभिन्न मित्रराष्ट्र र संयुक्त राष्ट्रसङ्घ, एसियाली विकास बैंकजस्ता दातृ निकायहरूले प्रदान गरेको सहयोगप्रति नेपालले आभार व्यक्त गरेको छ।
प्रवक्ता क्षेत्रीले यो विपद्लाई हिमालयी क्षेत्रको संवेदनशीलता र जलवायु परिवर्तनको गम्भीर असरका रूपमा चित्रण गरे। नेपालले न्यून कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनको मारमा बढी परेको उल्लेख गर्दै मन्त्रालयले 'लस एन्ड ड्यामेज फन्ड' बाट तत्काल सहयोगका लागि पत्राचार गरिसकेको जनाएको छ। प्रारम्भिक अनुमानमा घर, सडक, पुल र जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको देखिएकाले पुनर्निर्माणका लागि विस्तृत क्षति मूल्याङ्कन गरिने मन्त्रालयको भनाइ छ।
चीनको केरुङमा रहेका करिब १ हजार ४ सय नेपालीमध्ये ११४ जना तातोपानी नाका हुँदै नेपाल फर्कने क्रममा रहेका छन्। चिनियाँ पक्षको समन्वयमा उनीहरूलाई फर्काउने प्रक्रिया जारी छ। यद्यपि, केरुङ क्षेत्रबाट बाढीको दिनदेखि करिब १ सय नेपाली अझै बेपत्ता रहेको मन्त्रालयले पुष्टि गरेको छ।



