Oct 31 2026 | २०८३ कार्तिक १५ गते

विपद्‌का बेला कांग्रेसमा गाईजात्रा

विपद्‌का बेला कांग्रेसमा गाईजात्रा

बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौँ। भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। ४ हजारको हाराहारीमा बेपत्ता छन्। हजारौँ नागरिक घरबारविहीन भइरहेका छन्।

    त्यहाँमात्र होइन वर्षादको समय भएकाले विपद्को जोखिम कायम छ । राजमार्गहरू भासिने, पहिरो जाने क्रम निरन्तर छ। पहिरो र बाढीले गाउँबस्तीहरू बगाइरहेको छ । यस्तो बेलामा कांग्रेसभित्रको आन्तरिक कलह भने ‘गाईजात्रा’को रूपमा छताछुल्ल भइरहेको छ ।

    images

    गत पुसमा तत्कालीन केन्द्रीय कार्यसमितिको असहमतिबिच भएको विशेष महाधिवेशनबाट सभापति भएका गगन थापाले बिहीबार बिहान फेसबुकमा भिडियो सन्देश राख्दै नुवाकोट र रसुवाका बाढीपहिरो प्रभावित क्षेत्रको दृश्यावलोकन उतारेका छन् । भिडियोमा उनले एउटा अबोध बालक, जसले आफ्ना आमाबुबा बाढीमा गुमाएको छ, उसलाई ‘बाटो बनेपछि ममी–बाबा आउनुहुन्छ’ भनेर सम्झाउँदै ढाँटिएको उनले उल्लेख गरेका छन् ।

    नागरिकमा यस्तो कारुणिक चित्कार रहेको बेलामा कांग्रेसमा उनै थापा नेतृत्वको कार्यसमिति र संस्थापन इतर (निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला)समूहका नेताहरू भने काठमाडौँमा सुविधायुक्त स्थानमा पार्टीको १५ औँ महाधिवेशनका छुट्टाछुट्टै कार्यतालिका ल्याउन व्यस्त छन् । विपदका बेला उद्धार र राहतको कमान्ड सम्हाल्नुपर्ने पार्टीभित्र महाधिवेशनको कार्यतालिका कुन गुटले पहिला ल्याउने भन्ने होडबाजी जस्तै देखिन्छ ।

    कांग्रेसको संस्थापनले भदौ २४ गते वडा अधिवेशन सुरु गरेर असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । त्यही कार्यतालिकामा महाधिवेशन गर्न आफ्नो पक्षमा कति महाधिवेशन प्रतिनिधिहरू ल्याउन सकिन्छ भन्ने जोडघटाउमा कांग्रेस संस्थापनका नेताहरू लागेका छन् ।
     
    अर्कोतर्फ इतर समूहका नेताहरू भोटेकोशी बाढी पीडितको उद्धार र राहतमा लाग्नुपर्नेमा बुधबारदेखि संस्थापनलाई देखाइदिन भन्दै महाधिवेशनको छुट्टै कार्यतालिका ल्याउन व्यस्त छन् । बुधबारको बैठकमा इतर समूहका तर्फबाट निवर्तमान सहमहामन्त्री उमाकान्त चौधरीले आगामी मंसिर २१, २२ र २३ गते काठमाडौँमा १५औँ केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् । समूहले असोज १५ गतेबाट वडा अधिवेशन सुरु गरेर केन्द्रीय महाधिवेशन मंसिर २१ गते सुरु गर्नेगरी छलफल गरिरहेको छ । बैठक बिहीबार पनि बस्दैछ ।
     
    इतर समूहले छुट्टै महाधिवेशनको कार्यतालिका बैठकमा प्रस्ताव गरेपछि संस्थापनले बिहीबार दिउँसो २ बजेका लागि अनुशासन समिति बैठक बोलाएको छ ।
     
    विडम्बना, बाढीपीडितका लागि खट्न नेता कार्यकर्तालाई निर्देशन दिने र नेतृत्व स्वयं नागरिकलाई कसरी सुरक्षित गराउने भन्नेमा लाग्नु पर्नेमा कांग्रेसमा नेताहरू अहिले पार्टीको सत्ता र शक्तिमा आफ्नो वर्चश्व जोगाउन र अर्को पक्षलाई ठेगान लगाउन केन्द्रित देखिन्छन् । देउवा समूहले छुट्टै महाधिवेशन कार्यतालिका ल्याउन खोज्नु र संस्थापन पक्षले त्यसलाई अनुशासनको कसीमा घोट्न खोज्नुले पार्टीभित्रको लोकतन्त्र कति कमजोर र गुटबन्दी कति बलियो छ भन्ने छर्लङ्ग पार्छ ।

    अहिले मुलुकका सामु देखा परेको सङ्कट सामना गर्न कुनै एउटा सरकार, कुनै एउटा दलमात्र होइन, सामूहिक एकताको खाँचो छ । मुलुकको सबैभन्दा पुरानो र ठुलो लोकतान्त्रिक पार्टी भएकाले यसका लागि कांग्रेसले नेतृत्व लिएर सबैलाई एकतामा बाध्ने पहल गर्नुपर्थ्यो, तर कांग्रेस अहिले आफ्नै पार्टीभित्रको किचलोमा अल्झिएको छ ।

    कांग्रेस प्रवक्ता देवराज चालिसेले मुलुकमा विनाशकारी विपद् आउनुभन्दा अगाडि नै महाधिवेशनसम्बन्धी कार्यक्रम घोषणा भएकाले महाधिवेशनको तयारीमा जुट्नु सामान्य प्रक्रिया भएको बताउँछन् ।

    ‘हाम्रो पार्टीको अधिवेशन विनाशकारी बाढी आउनुभन्दा अगाडि घोषित कार्यक्रम हो,’ प्रवक्ता चालिसेले रातोपाटीसँग भने, ‘पार्टी अधिवेशन कानुनी, वैधानिक र संवैधानिक रूपमा बाध्यकारी छ । तसर्थ अधिवेशन, राहत र उद्धारका प्रक्रियालाई प्रभावित क्षेत्रमा समन्वय गरेर लैजान्छौँ ।’

    चालिसेले मंसिरभित्र कांग्रेस महाधिवेशन बाध्यकारी रहेकाले आफूहरू अधिवेशनका काम अगाडि बढाउन बाध्य रहेको बताए । ‘पार्टी विधान प्रचलित कानुन र अदालतले पार्टीका गतिविधिलाई हेरिरहेको हुन्छ । महाधिवेशनका लागि मंसिरभित्रको समयसीमा बाध्यकारी छ,’ चालिसेले भने, ‘अहिले नगरेमा पछि चाडपर्व सुरु भएपछि झन् कठिनाइ हुन्छ । त्यसैले अधिवेशन र राहत उद्धारलाई समन्वय गरेर पार्टी अगाडि बढ्छ ।’

    अर्कोतर्फ देउवा समूहले भने पार्टीको आन्तरिक जीवन र राष्ट्रिय विपत्तिलाई सँगसँगै लैजानुपर्ने बताउँछ । देउवा समूहका प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्मा त्यही अनुसार आफूहरूले अधिवेशनका काम र भोटेकोशी बाढी पीडितको राहत र उद्धारका काममा लागिरहेको बताउँछन् ।

    ‘हामी सँगसँगै छौँ । पार्टीको अधिवेशन पार्टी जीवनसँग जोडिएको कुरा हो,’ विश्वकर्माले रातोपाटीसँग भने, ‘बाढी पहिरोलगायत सार्वजनिक वा राष्ट्रिय विपत्तिको विषय हो । यस्तो बेलामा आफ्नो आन्तरिक काम गर्दै राष्ट्रिय र सार्वजनिक काममा लाग्छौँ ।’  

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार