Oct 28 2026 | २०८३ कार्तिक १२ गते

टोकियोसहित जापानका पाँच प्रिफेक्चरमा भूकम्पको धक्का, ३७ जना घाइते

टोकियोसहित जापानका पाँच प्रिफेक्चरमा भूकम्पको धक्का, ३७ जना घाइते

आइतवार, भाद्र ७ २०८३
  • काठमाडौँ ।  जापानको पूर्वी क्षेत्रमा आइतबार बिहान पाँच दशमलव नौ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पमा टोकियोसहित पाँच प्रिफेक्चरमा कम्तीमा ३७ जना घाइते भएका छन्। 

    अधिकारीहरूले सुनामीको खतरा नरहेको बताएका छन्। जापान मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्पको केन्द्रबिन्दु दक्षिणी इबाराकी प्रान्तमा ७० किलोमिटर गहिराइमा रहेको थियो। 

    images

    अमेरिकी भूगर्भ सर्वेक्षणले भने भूकम्प पाँच दशमलव आठ म्याग्निच्युड रहेको जनाएको छ। प्रिफेक्चरल अधिकारीहरू र अग्नि तथा विपद् व्यवस्थापन निकायका अनुसार टोकियोमा १५, साइतामामा नौ, कानागावामा आठ, चिबामा चार र इबाराकीमा एक जना घाइते भएका छन्। 

    अधिकांश घाइते भूकम्पका बेला लड्दा वा फर्निचर तथा ढोकामा ठोक्किँदा चोट लागेको बताइएको छ। कानागावा प्रान्तको योकोहामामा ८० वर्षीया एक महिला ओछ्यानबाट लडेर गम्भीर रूपमा घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

    भूकम्पका कारण टोकियो र नारिता विमानस्थल जोड्ने एक्सप्रेस रेल तथा उत्तरपूर्वी क्षेत्रमा सञ्चालन हुने केही स्थानीय रेल सेवामा ढिलाइ भएको थियो। यद्यपि, शिन्कानसेन बुलेट रेल सेवा सामान्य रूपमा सञ्चालन भएको पूर्वी जापान रेलवे कम्पनीले जनाएको छ।

    प्रधानमन्त्री साने ताकाइचीले सम्भावित क्षतिको मूल्याङ्कन गर्न सरकारले कार्यदल गठन गरेको बताइन्। जापान मौसम विज्ञान एजेन्सीले भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई आगामी एक सातासम्म थप मध्यम खालका भूकम्प आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ।

    टोकियोको कोटो वार्डमा भूमिगत पानीको पाइप फुटेर सडकमा पानी बगेको थियो। पाइप मर्मत गरी चुहावट रोकिएको छ। आणविक नियमन प्राधिकरणले देशका आणविक ऊर्जा केन्द्र तथा अन्य आणविक सामग्रीसम्बन्धी सुविधाबाट कुनै असामान्य अवस्थाको रिपोर्ट नभएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार