काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन व्यवस्थापन विधेयक (एकीकृत) मस्यौदा र निर्वाचन व्यवस्थापनमा गर्नुपर्ने सुधारबारे छलफल गरेको छ । गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा भएको उक्त छलफल कार्यक्रममा निर्वाचन सुधारका समसामयिक विषयहरू र प्रस्तावित निर्वाचन व्यवस्थापन विधेयकमा प्रस्ताव गरिएका नयाँ व्यवस्थाका सम्बन्धमा प्रस्तुतीकरण एवम् छलफल भएको हो।
छलफलमा गृहमन्त्री गुरुङले विगतका निर्वाचनमा देखिएका समस्याहरू समाधान गर्न, विदेशमा रहेका र आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका मतदाताहरूलाई मताधिकार दिनका लागि आवश्यक पर्ने कानुनी विषयहरू प्रस्तावित विधेयकमा समेट्न र सो अनुसार प्राविधिक तयारी सुरु गर्न आयोगलाई आग्रह गरेका छन्।
प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनको स्वच्छता, स्वतन्त्रता, निष्पक्षतालाई थप उचाइमा पुर्याउन र आम मतदाताहरूको चाहना अनुसार निर्वाचनको विधि र पद्धतिमा सुधार गर्न आयोग सक्रिय रहेको र यसका लागि कानुनी, संस्थागत, प्राविधिक तयारी सुरु गरिसकेको जानकारी गराउँदै आवश्यक पर्ने स्रोत साधन र जनशक्ति सरकारले उपलब्ध गराउने विश्वास व्यक्त गरेका छन्।
त्यस्तै, निर्वाचन आयुक्त माननीय डा.जानकीकुमारी तुलाधर, सगुन शमशेर जबरा, गुरूप्रसाद वाग्ले र डा.राजीव सुब्बाले निर्वाचन सुधारका विभिन्न पक्षमा आ–आफ्नो धारणा राखेको आयोग प्रवक्ता नारायण भट्टराईले जानकारी दिए। कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठ, आयोगका निमित्त सचिव नारायणप्रसाद भट्टराई समेतको उपस्थिति रहेको थियो।



