Oct 31 2026 | २०८३ कार्तिक १५ गते

औषधीय प्रयोजनका लागि गाँजा उत्पादनमा सरकार सकारात्मक : अर्थमन्त्री वाग्ले

औषधीय प्रयोजनका लागि गाँजा उत्पादनमा सरकार सकारात्मक : अर्थमन्त्री वाग्ले

शुक्रवार, भाद्र ५ २०८३
  • काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा उत्पादन तथा बजारीकरणलाई कानुनी रूपमा व्यवस्थित गर्न अर्थ मन्त्रालय सकारात्मक रहेको बताएका छन् ।

    राष्ट्रियसभाको शुक्रबारको बैठकमा सांसद विष्णुकुमारी सापकोटाको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले गाँजा उत्पादन र बजारीकरणलाई आय, रोजगारी तथा सम्भावित राजस्वको विषयमा मात्र सीमित गरेर हेर्न नहुने बताए ।

    images

    उनका अनुसार गाँजा औषधिजन्य तथा लागुपदार्थका रूपमा नियन्त्रित विषय भएकाले विज्ञबाट अध्ययन गरी आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने हुन्छ ।

    “गाँजा उत्पादन तथा बजारीकरणको विषय आय, रोजगारी तथा सम्भावित राजस्व सङ्कलनमा मात्र सीमित नभई औषधिजन्य तथा लागुपदार्थका रूपमा नियन्त्रित विषय हो,” उनले भने, “सम्बन्धित विज्ञबाट अध्ययन तथा निष्कर्ष भई कानुनबमोजिम व्यवस्थित गरिएमा अर्थ मन्त्रालय सहजीकरणका लागि तत्पर रहनेछ ।”

    विकसित तथा पश्चिमा मुलुकमा समेत गाँजाको औषधीय प्रयोगप्रति खुलापन बढ्दै गएको उल्लेख गर्दै वाग्लेले नेपालले पनि यस विषयमा सकारात्मक दृष्टिकोणबाट अध्ययन गर्नुपर्ने बताए । यसका लागि गृह मन्त्रालयसँग समन्वय गरी थप अध्ययन अघि बढाउने उनको भनाइ छ ।

    “थप अध्ययन र निक्र्योल गरेर कानुनमै यसको व्यवस्था गर्न सकेमा अर्थ मन्त्रालयले सकारात्मक रूपमा हेर्नेछ,” उनले भने, “गृह मन्त्रालयसँग थप समन्वय गरेर तदारुकताका साथ यो विषयको निक्र्योल गर्न पहल गर्नेछु ।”

    गाँजा उत्पादन तथा बजारीकरणलाई कानुनबमोजिम व्यवस्थित गर्न सके आय, रोजगारी, औद्योगिक प्रवर्द्धन र सरकारी राजस्व वृद्धिमा योगदान पुग्न सक्ने अर्थमन्त्री वाग्लेले बताए ।

    यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत आर्थिक वर्ष २०८३/८४ मा मन्त्रालय, आयोग, विभाग, कार्यालय तथा समितिसँग सम्बन्धित ऐन, नियम, कार्यविधि, निर्देशिका तथा मापदण्ड तर्जुमाका लागि प्रारम्भिक रूपमा सात लाख रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिए ।

    सांसद भुवनबहादुर सुनारको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले आवश्यकताअनुसार उक्त रकम सम्बन्धित मन्त्रालयले रकमान्तर गर्न सक्ने बताए । औचित्यका आधारमा थप बजेट माग भए अर्थ मन्त्रालयले आवश्यक रकम उपलब्ध गराउने आश्वासनसमेत उनले दिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार