काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)बाट उत्पादित घ्यू दुबई निर्यात सुरु भएको छ। त्यहाँ बसोबास गर्ने नेपालीलाई लक्षित गरेर शुक्रबारदेखि दुबईमा घ्यू पठाउन थालिएको हो।
पहिलोपटक शुक्रबार ६ सय किलो घ्यू जहाजमार्फत दुबई पठाइएको छ। दुबईमा घ्यू निर्यातका लागि डीडीसीले रातो र चन्द्र–सूर्य इन्टरनेसनलीसँग सम्झौता गरेको छ।
दुबईका बिक्रेताले पहिलो चरणमा परीक्षणका रूपमा घ्यू बिक्री गर्नेछन्। त्यहाँको माग र प्रतिक्रिया हेरेर थप परिमाणमा निर्यात बढाउने योजना रहेको डीडीसीका प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेले बताए।
सुरुवाती चरणमा प्रचारप्रसारका लागि जहाजबाट पठाइए पनि आगामी दिनमा भारत हुँदै कन्टेनरमार्फत घ्यू पठाउने डीडीसीको तयारी छ। दुबईबाहेक मध्यपूर्वका अन्य देशमा पनि छिट्टै घ्यू तथा अन्य दुग्ध उत्पादन निर्यात गर्ने लक्ष्य संस्थानले राखेको छ।



