काठमाडौँ । महात्मा गान्धीद्वारा लिखित दुर्लभ हस्तलिखित नोटहरूको संग्रह मुम्बईमा भएको लिलामीमा १६.२ करोड भारतीय रुपैयाँमा बिक्री भएको छ।
ती नोट स्वतन्त्रता सेनानी र गान्धीका नजिकका सहयोगी आनन्द टी. हिंगोरानीको परिवारले सुरक्षित राखेका थिए। यस संग्रहमा गान्धीद्वारा लिखित ६८८ सन्देश छन्।
ती सन्देश १९४४ र १९४६ को बिचमा लेखिएका थिए। जसमा सत्य, अहिंसा र आत्मसंयमजस्ता विषयमा गान्धीका विचार छन्।

लिलामी कम्पनी स्याफ्रनआर्टका अनुसार यो बिक्रीले भारतीय ऐतिहासिक दस्तावेजको लिलामीमा तिरेको उच्चतम मूल्यको रेकर्ड बनाएको छ।
गान्धीले ब्रिटिस शासनविरुद्ध भारतको अहिंसात्मक स्वतन्त्रता आन्दोलनको नेतृत्व गरेका थिए। भारतमा उनी राष्ट्रपिताका रूपमा सम्मानित छन्। यद्यपि यी हस्तलिखित नोटले गान्धीको राजनीतिक नेतृत्वको सट्टा उनका व्यक्तिगत र भावनात्मक पक्षको झलक प्रस्तुत गर्छन्।
गान्धीले हिंगोरानीकी पत्नी विद्याको मृत्युपछि हिंगोरानीलाई लगभग दुई वर्षसम्म पत्र र सन्देश लेखेका थिए। जसमा उनले हिंगोरानीलाई सल्लाह, सान्त्वना र प्रोत्साहन दिएका छन्।यी सन्देशलाई पछि ‘अ थट फर द डे’ शीर्षकको पुस्तकमा समेटियो।



