काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय सम्मेलन र चुनदेवीमा सभापतिको नेमप्लेटको विषयलाई लिएर कारबाही प्रक्रिया अघि बढाउने भएको छ।
अनुशासन समितिका संयोजक तारामान गुरूङले समितिको बैठक जारी रहेकै अवस्थामा सानेपामा रहेका सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कारबाही प्रक्रियाबारे जानकारी दिएका हुन्।
उनले राष्ट्रिय सम्मेलनमा भएका गतिविधिबारे समितिमा अत्यधिक उजुरीहरू परेको पनि बताए । उजुरीहरू लिखित र मौखिक दुवै प्रकृतिका रहेका संयोजक गुरूङको भनाइ छ।संयोजक गुरूङले २४ भदौमा सुरू हुन गइरहेको वडा अधिवेशन अगावै सबै उजुरीको छिनोफानो गरिसक्ने पनि बताए।
तर, को–को नेता र व्यक्तिमाथि कारबाही प्रक्रिया अघि बढाइने भन्ने विषय भने उनले खुलाएनन्।अनुशासन समितिको बैठक सानेपामा जारी छ । समितिमा धना खतिवडा, रमेश धमला र बजरंग नेपाली सदस्य छन्।



