काठमाडौं । नेपाल अहिले महत्वपूर्ण जनसांख्यिक संक्रमणको चरणमा पुगेको छ। देशमा काम गर्ने उमेर समूहको जनसंख्या ठूलो रहेकाले आर्थिक विकासका लागि महत्वपूर्ण अवसर सिर्जना भएको छ। तर यही समयमा जन्मदर घट्दै जानु, औसत आयु बढ्नु र युवाको ठूलो हिस्सा विदेशिनुले नेपाल क्रमशः वृद्ध समाजतर्फ अघि बढिरहेको देखिएको छ।
युएनएफपिएले नेपालमा रहेको युवा जनसंख्यालाई रोजगारी, सीप, शिक्षा र उद्यमशीलतासँग जोड्न सके देशले जनसांख्यिक लाभ लिन सक्ने जनाएको छ। तर स्वदेशमा पर्याप्त रोजगारी तथा अवसर सिर्जना हुन नसक्दा युवा वैदेशिक रोजगारी र अध्ययनका लागि बाहिरिने क्रम बढिरहेको छ। यसले देशभित्र उपलब्ध युवा जनशक्तिबाट लिन सकिने आर्थिक लाभ कमजोर बनाउने जोखिम रहेको छ।
युएनएफपिएका अनुसार नेपाल ऐतिहासिक रूपमा रहेको युवा बाहुल्यबाट वृद्ध हुँदै जाने समाजतर्फ अघि बढिरहेको छ। सन् २०२१ मा ६० वर्षमाथिको जनसंख्या करिब ९ प्रतिशत रहेकोमा आगामी दशकहरूमा यसको हिस्सा निरन्तर बढ्ने अनुमान छ। सन् २०६१ सम्म प्रत्येक पाँच नेपालीमध्ये करिब एक जना ६० वर्षभन्दा माथिका हुने अनुमान गरिएको छ।
नेपाल सरकारको ज्येष्ठ नागरिक नीति मस्यौदाले पनि ज्येष्ठ नागरिकको संख्या तीव्र रूपमा बढिरहेको उल्लेख गरेको छ। वि.सं. २०४८ मा ५.७ प्रतिशत रहेको ज्येष्ठ नागरिकको हिस्सा वि.सं. २०७८ सम्म आइपुग्दा १०.२१ प्रतिशत पुगेको छ। यससँगै ज्येष्ठ नागरिकका लागि स्वास्थ्य सेवा, सामाजिक सुरक्षा, हेरचाह तथा सुरक्षित र सम्मानजनक जीवन सुनिश्चित गर्नु राज्यका लागि थप चुनौती बन्ने देखिन्छ।
अर्कोतर्फ, युवा पुस्ता रोजगारीका लागि विदेशिने र परिवार संरचना सानो हुँदै जाँदा घरमा रहेका ज्येष्ठ नागरिकको हेरचाहसमेत चुनौतीपूर्ण बन्दै गएको छ। सरकारले प्रस्ताव गरेको नयाँ ज्येष्ठ नागरिक नीतिले परिवारलाई प्राथमिक हेरचाहकर्ता मान्दै स्थानीय तहलाई स्वास्थ्य, पुनर्स्थापना र समुदायमा आधारित सेवामा थप जिम्मेवारी दिने प्रस्ताव गरेको छ।
त्यसैले नेपालका लागि अहिलेको मुख्य चुनौती युवा जनसंख्यालाई अवसरमा बदल्नु र भविष्यको वृद्ध समाजका लागि तयारी गर्नु हो। युवालाई स्वदेशमै रोजगारी र उद्यमका अवसर उपलब्ध गराउने, स्वास्थ्य तथा सामाजिक सुरक्षा बलियो बनाउने र ज्येष्ठ नागरिकको ज्ञान तथा अनुभवलाई राष्ट्रिय विकासमा उपयोग गर्ने नीति आवश्यक देखिन्छ।



