Oct 28 2026 | २०८३ कार्तिक १२ गते

युक्रेनमा रुसको क्षेप्यास्त्र आक्रमण, ५ जनाको मृत्यु

युक्रेनमा रुसको क्षेप्यास्त्र आक्रमण, ५ जनाको मृत्यु

बिहिवार, भाद्र ४ २०८३
  • काठमाडौं । रुसले युक्रेनको राजधानी किएभ र आसपासका क्षेत्रमा बिहीबार राति गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । आक्रमणमा २३ जनाभन्दा बढी घाइते भएका युक्रेनी अधिकारीहरूले बताएका छन्।

    युक्रेनको राज्य आपत्कालीन सेवा (डीएसएनएस)का अनुसार आक्रमणमा आवासीय भवन तथा गोदामहरूलाई निशाना बनाइएको थियो । ध्वस्त भवनका भग्नावशेषमा फसेकाहरूको उद्धारका लागि उद्धारकर्मीहरू परिचालित छन्। उद्धार टोलीले भग्नावशेषबाट एक जनालाई जीवितै निकालिसकेको बीबीसीले जनाएको छ।

    images

    किएभका मेयर भिताली क्लित्स्कोका अनुसार आक्रमणमा बाल अस्पतालसमेत क्षतिग्रस्त भएको छ । आसपासका केही सवारीसाधनमा आगलागी भएको छ।राजधानीको दक्षिण–पश्चिमी क्षेत्रमा पर्ने सोलोमियान्स्की जिल्लास्थित औद्योगिक केन्द्रमा पनि क्षेप्यास्त्र प्रहार भएको क्लित्स्कोले बताएका छन्।

    यसैबीच, किएभ क्षेत्रको ब्रोभारी जिल्लामा भएको छुट्टै आक्रमणमा एक जनाको मृत्यु भएको र अर्का एक जना घाइते भएको क्षेत्रीय गभर्नर तिमुर तकाचेन्कोले जानकारी दिएका छन्।आक्रमणअघि क्षेत्रीय प्रशासनले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा आश्रय लिन आग्रह गरेको थियो । युक्रेनी वायुसेनाको यो सूचनापछि रातभर किएभसहित विभिन्न क्षेत्रमा पटक–पटक क्षेप्यास्त्र आक्रमणसम्बन्धी सूचना जारी गरिएको थियो।

    रुसी हवाई आक्रमणका कारण किएभ क्षेत्रका हजारौँ घर तथा संरचनामा विद्युत् आपूर्ति अवरुद्ध भएको छ। क्षतिग्रस्त ऊर्जा संरचना मर्मत गर्न प्राविधिक टोलीहरू परिचालन गरिएको अधिकारीहरूले बताएका छन्।पछिल्ला केही सातादेखि किएभले लगभग हरेक रात रुसी आक्रमणको सामना गर्दै आएको छ । केही आक्रमणमा दर्जनौँ मानिसको मृत्यु हुनुका साथै ठूलो संख्यामा मानिस घाइते भएका छन्।

    यसबीच युक्रेनले पनि रुसमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण तीव्र पारेको छ । यसै साता रुसमा भएका दुई छुट्टाछुट्टै युक्रेनी आक्रमणमा एक बालकसहित कम्तीमा १६ जनाको मृत्यु भएको थियो।

    रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेको थियो । साढे चार वर्षदेखि जारी युद्धका क्रममा रुसले युक्रेनको करिब पाँचमध्ये एक भाग भूभाग आफ्नो नियन्त्रणमा राखेको छ, जसको ठूलो हिस्सा पूर्वी सीमावर्ती क्षेत्रमा पर्छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार