Oct 31 2026 | २०८३ कार्तिक १५ गते

२ वर्षदेखि राहतको पर्खाइमा सिदुङ्खाका अग्निपीडित

२ वर्षदेखि राहतको पर्खाइमा सिदुङ्खाका अग्निपीडित

बिहिवार, भाद्र ४ २०८३
  • काठमाडौँ । गुल्मीको इस्मा गाउँपालिका–२ सिदुङ्खाका अग्निपीडितले दुई वर्ष बितिसक्दा पनि सरकारले उपलब्ध गराउने भनिएको राहत रकम पाउन सकेका छैनन्।आगलागीबाट घरगोठ तथा सम्पत्ति गुमाएका पीडितले ऋण खोजेर घर निर्माण गरे पनि सरकारी रकम निकासा नहुँदा ऋण तिर्न नसकेको गुनासो गरेका छन्।

    २०८१ वैशाख ८ गते सामुदायिक वनबाट बस्तीमा फैलिएको आगोले सिदुङ्खामा २६ घरगोठ जलेर नष्ट भएका थिए । आगलागीमा दर्जनौँ पशुचौपायासमेत जलेका थिए।घरबारविहीन भएका पीडितका लागि अहिले नयाँ आवास निर्माण भइसकेको छ । तर, घर निर्माणबापत सरकारले उपलब्ध गराउने रकम नपाउँदा पीडितको समस्या भने अझै समाधान भएको छैन।

    images

    अग्निपीडित मीना रायमाझीले ऋण लिएर ठेक्कामार्फत घर निर्माण गरेको बताइन् । घर निर्माण सम्पन्न भए पनि ठेकेदार र कामदारले रकम माग्दा आफू थप दबाबमा परेको उनको गुनासो छ।सरकारले आवास निर्माणका लागि किस्ताबन्दीमा रकम उपलब्ध गराउने व्यवस्था गरेको जानकारी पाए पनि अहिलेसम्म रकम नपाएको अर्की अग्निपीडित बसुन्धरा कुँवरले बताइन् । आगलागीमा घर, गोठ र पसलसमेत गुमाएकाले समयमै राहत रकम उपलब्ध गराउन उनले सरकारसँग आग्रह गरिन्।

    अग्निपीडितका लागि आवास निर्माण गर्न प्रतिपरिवार ५ लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको थियो । त्यसमा इस्मा गाउँपालिकाले एक लाख रुपैयाँ र बाँकी ४ लाख रुपैयाँ प्रदेश तथा संघीय सरकारले उपलब्ध गराउने निर्णय भएको थियो।इस्मा गाउँपालिकाले एक लाख रुपैयाँ दिएपनि अरु ४ लाख रुपैयाँ अग्नी पीडितले नपाएको इस्मा गाउँपालिका वडानम्बर-२ का वडाअध्यक्ष लोकनाथ आचार्यले बताए।

    पालिकाले तत्काल गर्न सक्ने सबै कामहरु गरे पनि मुख्य समस्या संघीय सरकाले निर्माणको भुक्तानी मै रहेको अध्यक्ष आचार्यले बताए।गाउँपालिकाले आफ्नोतर्फको १ लाख रुपैयाँ उपलब्ध गराइसकेको भए पनि प्रदेश र संघ सरकारबाट आउनुपर्ने ४ लाख रुपैयाँ भने अझै निकासा भएको छैन।

    स्थानीयस्तरमा समेत अग्निपीडितका लागि राहत संकलन गरिएको थियो । सिदुङ्खामा गठन गरिएको स्थानीय राहत संकलन समितिले १६ लाख रुपैयाँभन्दा बढी रकम संकलन गरी क्षतिको अवस्था मूल्याङ्कन गरेर पीडित परिवारलाई वितरण गरेको समितिका अध्यक्ष रमेश थापाले बताए । तर, ऋण खोजेर घर निर्माण गरेका पीडितले सरकारी रकम नपाउँदा आर्थिक बोझ थपिएको छ।

    जिल्ला विपद् व्यवस्थापन समितिले अग्निपीडितलाई लाभग्राही कायम गरी आवास निर्माणका लागि आवश्यक रकम निकासाको माग गरेको छ । हालसम्म रकम निकासा भने भएकौ छैन् । गुल्मीमा २०८१ वैशाखमा सुख्खा मौसममा आगलागीका कारण १६९ घरगोठ जलेर नष्ट भएका थिए।आगलागीमा एक सयभन्दा बढी पशुचौपाया समेत मरेका थिए।

    जिल्लाका विभिन्न सामुदायिक वनबाट फैलिएको आगो बस्तीमा पुग्दा करोडौँ रुपैयाँ बराबरको क्षति भएको थियो। जिल्लाका १२ स्थानीय तहमध्ये इस्मासँगै मदाने, मुसिकोट, धुर्कोट र रुरुक्षेत्रमा समेत आगलागीबाट ठूलो क्षति भएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार