काठमाडौँ । गृहसचिव राजकुमार श्रेष्ठले मानवीय सेवामा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न सबैलाई अनुरोध गरेका छन्।विश्व मानवीय दिवसको अवसरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधवार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मानवीय सहायता संकटका बेला गरिने सहयोग मात्र नभई मानव-मानवबीचको साझा जिम्मेवारी र सेवाभावको अभिव्यक्ति भएको बताएका हुन्।
मानवीय सहायता प्रभावकारी बनाउन संस्थागत प्रयाससँगै व्यक्तिगत सेवाभाव र सहकार्यलाई निरन्तरता दिनुपर्नेमा गृहसचिव श्रेष्ठले जोड दिए। पृथ्वी सबै मानवको साझा घर भएकाले मानव जाति एउटै परिवारका सदस्य भएको उल्लेख गर्दै उनले एकअर्काको दुःख-सुखमा साथ दिनुपर्ने बताए।
उनले देश, क्षेत्र, समुदाय, टोल र घरका आधारमा विभाजित हुन नहुने धारणा राखे। मानवीय सहायता प्रदान गर्न विश्वव्यापी रूपमा संस्थागत संरचना विकास भएको र सेवाभाव भएका मानिसहरू विभिन्न क्षेत्रमा जोडिएर काम गरिरहेको प्रसङ्ग उनले उल्लेख गरे।
सहायता वितरणका क्रममा सरकारी निकाय तथा गैरसरकारी संस्थामाथि गुनासो र आलोचना आउने गरेको स्मरण गर्दै गृहसचिव श्रेष्ठले भने, ‘हामी सहज रूपमा आफ्ना काममा निरन्तर अघि बढ्नुपर्ने हुन्छ। देख्नेले जेसुकै देखिरहोस्, हामी आफ्नो कर्तव्यपथमा लागिरहौँ। फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार।’
काम गर्दा प्रशंसा र आलोचना दुवै आउने भएकाले मात्तिने र आत्तिने गर्न नहुने उनले बताए। किर्डाकका कार्यकारी निर्देशक गोविन्दबहादुर शाहीले मानवीय सहायता प्रभावकारी बनाउन समुदाय र स्थानीय तहको सशक्तीकरणमा जोड दिनुपर्ने बताए। यस वर्षको नाराले समुदायको सशक्तीकरण, साझेदारी र मानवीय कार्यमा सबैको सहभागितामा जोड दिएको उल्लेख गर्दै उनले स्थानीय तहलाई सशक्त र साधन-स्रोतयुक्त बनाउनुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा मानवीय कार्यमा खटिएर उत्कृष्ट योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्रका प्रहरी नायब निरीक्षक प्रेम साउद, सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन निर्देशनालयका सशस्त्र प्रहरी नायब उपरीक्षक कमलबहादुर अधिकारी, सामुदायिक विपद् व्यवस्थापन समिति रौतहटकी सदस्य रूपकलि देवी राम र कञ्चनपुर सुन्दर प्रकृति सामुदायिक विपद् व्यवस्थापन समितिकी सचिव कमला खड्का रहेका छन्।



