काठमाडौँ । रुसले युक्रेनमाथिको आक्रमण तीव्र पारिरहेका बेला युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकासँग थप प्याट्रियट इन्टरसेप्टर मिसाइल मागेका छन् । अमेरिकाले आफ्नो मौज्दातबाट १० प्रतिशत प्याट्रियट इन्टरसेप्टर मिसाइल मात्र उपलब्ध गराए पनि रुसबाट हुने सबै ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न सकिने दाबी जेलेन्स्कीले गरेका छन्।
सीएनएनसँगको अन्तर्वार्तामा जेलेन्स्कीले युक्रेनसँग प्याट्रियट इन्टरसेप्टर मिसाइलको मौज्दात लगभग सकिएको अवस्थामा रुसले राजधानी किभलगायतका क्षेत्रमा आक्रमण बढाइरहेको बताएका हुन् । उनका अनुसार अमेरिकाबाट १० प्रतिशत मिसाइल प्राप्त भए रुसका सबै ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न पर्याप्त हुनेछ । पाँच प्रतिशत मिसाइल प्राप्त भए पनि जाडोयामसम्म युक्रेनलाई टिकाउन पर्याप्त हुने उनको दाबी छ।
“यो वर्ष हामीसँग २०२५ को तुलनामा साढे दुई गुणा कम इन्टरसेप्टर छ”, जेलेन्स्कीले भने । उनका अनुसार रुसले यसअघिको तुलनामा मासिक दुई गुणाभन्दा बढी मिसाइल प्रहार गरिरहेको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार जुलाई २०२२ को अप्रिलयताकै युक्रेनी सर्वसाधारणका लागि सबैभन्दा घातक महिना बनेको थियो।
अमेरिका र खाडी मुलुकहरूले इरानसँगको युद्धका क्रममा इरानी मिसाइल तथा ड्रोन रोक्न ठूलो सङ्ख्यामा इन्टरसेप्टर प्रयोग गरेपछि विश्वभर यस्ता मिसाइलको अभाव देखिएको छ । यसको असर युक्रेनमा समेत परेको छ। रुसी आक्रमणका बेला युक्रेनका केही सहर पर्याप्त हवाई प्रतिरक्षाविहीन देखिने गरेका छन्।
जेलेन्स्कीले थप प्याट्रियट मिसाइल प्राप्त गर्न अमेरिकी अधिकारी तथा अन्य सहयोगी राष्ट्रसँग निरन्तर सम्पर्क गरिरहेको बताएका छन् । सहयोगीहरूसँग फोन तथा सन्देशमार्फत नियमित कुराकानी गर्दै मिसाइल प्राप्तिका लागि विभिन्न सम्झौता र सहकार्यका प्रयास भइरहेको उनको भनाइ छ।
हालै जेलेन्स्कीले अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग पनि फोनवार्ता गरेका थिए । तर उनले उक्त वार्ताको विवरण सार्वजनिक गर्न अस्वीकार गरेका छन् । फाइनान्सियल टाइम्सका अनुसार भान्सले कृष्ण सागरमा रहेका रुसी बन्दरगाहमाथि युक्रेनले गरिरहेको आक्रमण रोक्न आग्रह गरे वा नगरेकोसमेत स्पष्ट भएको छैन।
यसैबीच, अमेरिकाले युक्रेनलाई आफ्नै प्याट्रियट इन्टरसेप्टर मिसाइल उत्पादन गर्न अनुमति दिने विषयमा अझै स्पष्ट निर्णय गरेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि युक्रेनलाई उत्पादन अनुमति दिन सकिने बताएका थिए। तर केही दिनपछि उनले उक्त योजनाबारे आफू निश्चित नभएको बताएका थिए।
जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्न अमेरिकी संलग्नता थप बढाउनुपर्नेमा जोड दिँदै आएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अहिले युद्ध रोक्न इच्छुक नरहेको र उनलाई युद्ध अन्त्य गर्न पर्याप्त दबाब नपरेको उनको दाबी छ।
युक्रेनले डोनबास क्षेत्रमा रुसले दाबी गरेको बाँकी भूभाग छाड्ने प्रस्तावसमेत अस्वीकार गर्दै आएको छ । जेलेन्स्कीका अनुसार दीर्घकालीन सुरक्षा प्रत्याभूति युक्रेनका लागि मुख्य विषय हो।
“जब रूसले यो युद्धको बारेमा बोल्न थाल्छ र उनीहरू क्षेत्रको बारेमा कुरा गर्छन्, मुख्य प्रश्न यो हो कि ठूलो विरामपछि ऊ १० वा २० लाख थप सैनिक बोकेर फेरि आउँदैन भन्न सकिन्छ र ? ऊ हामीलाई कब्जा गर्न फेरि किन आउँदैन ?” उनले प्रश्न गरेका छन्।
पश्चिमी केही मूल्याङ्कनसँग आफू सहमत रहेको बताउँदै जेलेन्स्कीले पुटिनले भविष्यमा नेटोको एकता परीक्षण गर्ने उद्देश्यले बाल्टिक क्षेत्रका साना नेटो सदस्य राष्ट्रमाथि समेत आक्रमण गर्न सक्ने सम्भावना रहेको बताए।
“आफ्नो समाजका लागि ठूलो कब्जा नगरीकन वा ठूलो विजयबिना यो युद्ध कसरी टुङ्ग्याउने भन्ने कुरा उसलाई थाहा नै छैन । केही सानो देश खोज्नु धेरै सजिलो छ ... उसको लागि त्यो देश नेटोमा छ वा छैन भन्ने कुरा महत्त्वपूर्ण हुनेछैन। आफूले नै जित्छु, कब्जा गर्छु, नष्ट गर्छु वा नियन्त्रणमा राख्छु भन्नेमा ऊ शतप्रतिशत ढुक्क छ”, जेलेन्स्कीले भनेका छन्।



