काठमाडौँ । विभिन्न अध्ययनले जापानी कम्पनीहरू कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोगका मामिलामा निकै सुस्त रहेको देखाएका छन्। गम्भीर श्रम अभाव, वृद्ध हुँदै गएको जनसङ्ख्या र लामो समयदेखि कायम उत्पादकत्वको समस्याबीच जापानी कम्पनीहरू एआई प्रयोगका लागि सबैभन्दा उपयुक्त अवस्थामा हुनुपर्ने हो। तर, अमेरिका र बेलायतको तुलनामा जापानका धेरै कार्यस्थलमा एआईको प्रयोग अझै सुस्त र सावधानीपूर्ण छ।
एआईप्रतिको जापानको प्रतिक्रिया त्यहाँको परम्परागत र सुस्त गतिमा अघि बढ्ने ‘नोह’ नाटकजस्तै देखिन थालेको छ। मञ्चमा मुखौटा लगाएका सबै पात्र तत्काल कदम चाल्नुपर्ने कुरामा सहमत हुन्छन्, गम्भीरतापूर्वक एउटै आह्वान दोहोरिन्छ, तर कलाकारहरू भने आफ्नै ठाउँमा स्थिर रहन्छन्। नाटकमा तनाव बढाउन यो शैली राम्रो होला, तर देशका तत्कालीन समस्या समाधान गर्न भने यो प्रभावकारी देखिँदैन।
कार्यस्थलमा एआईको प्रयोगसम्बन्धी तथ्याङ्कले जापान पछाडि परेको देखाउँछ। आर्थिक सहयोग तथा विकास सङ्गठन (ओईसीडी) ले गत वर्षको अन्त्यमा प्रकाशित गरेको एउटा प्रतिवेदनअनुसार जापानमा केवल ८.४ प्रतिशत कामदारले मात्र आफ्नो काममा एआई प्रयोग गर्छन्।
यसको तुलनामा अमेरिकामा यो दर ५० प्रतिशत र बेलायतमा ३२ प्रतिशत रहेको छुट्टाछुट्टै तथ्याङ्कले देखाउँछ। संयुक्त अरब इमिरेट्स (यूएई) पछि एसियामा सबैभन्दा धेरै एआई प्रयोग हुने र विश्वमै दोस्रो स्थानमा रहेको मानिएको सिङ्गापुरमा ५६ प्रतिशत कामदारले हप्तामा धेरैपटक एआई प्रयोग गर्ने बताइएको छ।

जापान किन पछाडि परिरहेको छ ?
अमेरिकी स्टार्टअप ‘क्युज एआई’ का सहसंस्थापक अस्टिन सुका अनुसार जापानी कम्पनीहरू रूढिवादी र जोखिम लिन नचाहने प्रवृत्तिका भएकाले एआई प्रयोगमा ढिलाइ भएको हो। उनको कम्पनीले हालै जापानी कम्पनीहरूलाई आफ्ना एआई प्रणाली बिक्री गर्न जापानमै कार्यालय स्थापना गरेको छ।
सु भन्छन्, ‘केही संस्थामा प्रक्रिया र सहमतिमा आधारित संस्कृतिले वास्तवमै निर्णय प्रक्रियालाई सुस्त बनाउँछ। एआईका गल्तीप्रति सहनशीलता झन्डै शून्य हुन्छ, विशेषगरी ग्राहकसँग प्रत्यक्ष सम्बन्धित काममा। कतिपय कम्पनीले मेसिनलाई काम दिनुभन्दा कर्मचारीको पद नै खाली राख्न रुचाउँछन्।’
उनका अनुसार अमेरिकाको अवस्था भने निकै फरक छ। त्यहाँ केही कम्पनीले उत्पादकत्व बढाउन एआई एजेन्टलाई धेरै स्वतन्त्रतासहित काम गर्न दिइरहेका छन्। ‘अमेरिकामा एआई सहकर्मीका रूपमा सहयोग गर्न प्रवेश गर्छ र बिस्तारै कार्यप्रणालीको हिस्सा बन्छ। त्यहाँका व्यवस्थापकको सोच प्रायः 'पहिला प्रयास गर्न देऊ, गल्ती भए सुधारौँला' भन्ने हुन्छ,’ उनी भन्छन्।
जापानी कम्पनीहरूले एआईमाथि पर्याप्त विश्वास गरिनसकेको पनि सु बताउँछन्। क्योटो युनिभर्सिटी अफ एड्भान्स्ड साइन्सकी अन्तर्राष्ट्रिय व्यवस्थापनकी प्राध्यापक पारिसा हाघिरियन पनि धेरै जापानी कम्पनी जोखिम लिन नचाहने भएकाले एआई प्रयोग गर्न हिचकिचाइरहेको बताउँछिन्।
उनका अनुसार जापानी कम्पनीमा एआई अपनाउने चुनौती अन्य कुनै नयाँ परिवर्तन अपनाउँदा जस्तै हो। त्यसैले विशेषगरी कार्यस्थलमा एआईको प्रयोग अझै सीमित र सावधानीपूर्ण छ।हाघिरियनले जापानको अवस्थालाई अमेरिकाको उद्यमशील संस्कृतिसँग तुलना गर्दै जापानी कम्पनीहरू गल्ती, अनिश्चितता र प्रतिष्ठामा पर्ने जोखिमप्रति निकै संवेदनशील रहेको बताइन्।
‘जेनेरेटिभ एआई अझै पूर्ण रूपमा विश्वसनीय नभएकाले जापानमा यसको प्रयोग मुख्यतः कम जोखिम भएका काममा भइरहेको छ। जस्तै: लेखन, सारांश बनाउने वा सूचना सङ्कलनमा। तर मुख्य सञ्चालन, निर्णय प्रक्रिया वा समग्र कार्यप्रणाली सुधारमा यसको प्रयोग निकै कम छ,’ उनी भन्छिन्।
स्वास्थ्य क्षेत्र झन् सुस्त
जापानको स्वास्थ्य क्षेत्र एआई प्रयोगमा विशेषगरी पछाडि रहेको बताइन्छ। केही अस्पतालले अझै बिरामीका अभिलेखलाई पूर्ण रूपमा डिजिटल बनाउन सकेका छैनन्। जापानी अस्पतालका एक कर्मचारीले नाम नबताउने सर्तमा भने, ‘नसोचेको स्तरमा कागजी दस्तावेज थुप्रिन्छन्। यो त ढुङ्गे युगजस्तै छ।’

जापानी सरकार एआई प्रयोग न्यून रहेको यो व्यापक समस्याबारे जानकार छ र कम्पनीहरूलाई यो प्रविधि अपनाउन प्रोत्साहित गरिरहेको छ। गत वर्ष जापानी संसद्ले एआई प्रवर्द्धनसम्बन्धी कानुन पारित गरेको थियो।
यो कानुनले हल्का नियमनमार्फत व्यवसायहरूलाई एआईमा थप लगानी गर्न प्रोत्साहित गर्ने लक्ष्य राखेको छ। टोकियोले जापानलाई ‘एआई विकास र प्रयोगका लागि विश्वकै सबैभन्दा अनुकूल देश’ बनाउने प्रतिबद्धता जनाएको छ।
सरकारको विश्वास छ कि एआईको व्यापक प्रयोगले जापानको उत्पादकत्व बढाउन सहयोग गर्न सक्छ। विकसित राष्ट्रहरूको ‘जी-७’ समूहमा जापानको उत्पादकत्व स्तर अहिले पनि सबैभन्दा कमजोरमध्येमै पर्छ।
जापानको अर्थ मन्त्रालयका अनुसार व्यवसायमा एआईको प्रयोग भने उल्लेख्य रूपमा बढेको छ। पाँच वर्षअघि ११ प्रतिशत कम्पनीले मात्र एआई प्रयोग गर्ने गरेकोमा अहिले ७५ प्रतिशत कम्पनीले एआई प्रयोग गरिरहेको मन्त्रालयको तथ्याङ्क छ।
तर आलोचकहरूका अनुसार यी कम्पनीमध्ये प्रत्येकमा वास्तवमै एआई प्रयोग गर्ने कर्मचारीको सङ्ख्या निकै कम छ र प्रयोग गर्नेहरूले पनि सीमित रूपमा मात्र यसको प्रयोग गरिरहेका छन्।
दक्ष जनशक्ति अभाव र पुराना कम्प्युटर प्रणाली
मेइजी विश्वविद्यालयका जापानी सामाजिक प्रणाली तथा प्रविधि विशेषज्ञ प्राध्यापक यासुशी ओगासावाराका अनुसार जापानको कार्यक्षेत्रमा प्रविधिमा दक्ष जनशक्तिको अभाव छ।
‘जापानीहरू स्मार्टफोनजस्ता प्रविधिसँग खेल्न मन पराउँछन्, तर यहाँ डिजिटल साक्षरता कम छ,’ उनी भन्छन्। यस वर्ष सार्वजनिक भएको एउटा प्रतिवेदनले सन् २०३० सम्म जापानमा करिब ८ लाख आईटी विशेषज्ञको अभाव हुने अनुमान गरेको छ।
धेरै कम्पनी पुराना कम्प्युटर प्रणालीका कारण पनि समस्यामा छन्। करिब ६० प्रतिशत प्रणाली २० वर्षभन्दा पुराना रहेको बताइएको छ। ओगासावाराका अनुसार जापानी कम्पनीमाथि एआईका कारण रोजगारी गुम्न सक्ने अवस्था सिर्जना गर्नुभन्दा बेरोजगारी बढ्न नदिने दबाब बढी छ।
‘सरकार एआई, पुनः सीप विकास र डिजिटल सीपको कुरा गरिरहेको छ। तर व्यवहारमा मानव संसाधनलाई डिजिटल सीपतर्फ रूपान्तरण गर्न कठिन छ, किनभने पहिलो प्राथमिकता पूर्ण रोजगारी कायम राख्नु हो,’ उनी भन्छन्।

नयाँ पुस्तामा परिवर्तन
यद्यपि, कर्मचारी भर्ना प्रक्रियामा भने केही परिवर्तन देखिन थालेको छ। केही कम्पनीले नयाँ स्नातक कर्मचारी नियुक्त गर्दा ‘एआई साक्षरता’ लाई प्राथमिकता दिन थालेका छन्।
ठूला निजी कम्पनीमध्ये प्रमुख व्यापारिक कम्पनी ‘कानेमात्सु’ ले पनि एआईमा दक्ष नयाँ स्नातकहरूलाई नियुक्त गरिरहेको छ। गत अप्रिलमा कम्पनीमा आबद्ध भएकी उता यामागुचीले काममा आफूले एआई निकै प्रयोग गर्ने बताइन्।
‘म काममा एआई निकै प्रयोग गर्छु। मेरा धेरै सहकर्मीले पनि यसको धेरै प्रयोग गर्नुहुन्छ। हाकिमका लागि इमेल लेख्न, जटिल दस्तावेजको सारांश बनाउन, बैठक रेकर्ड गर्न तथा त्यसको सारांश बनाउन हामी एआई प्रयोग गर्छौँ,’ उनले भनिन्।
तर, अमेरिकाको तुलनामा जापानमा धेरै चरणमा हुने जटिल कामलाई स्वचालित रूपमा सम्हाल्न सक्ने एआई प्रणालीको प्रयोग अझै लगभग सुनिँदैन।
भविष्यप्रति खुला सोच राख्ने भनेर परिचित ओगासावाराको कम्पनीले भने त्यस्ता प्रणाली प्रयोगमा ल्याइसकेको छ। यद्यपि, ओगासावारा समग्र जापानमा परिवर्तन अझै सीमित रहेको बताउँछन्।
‘जापानी समाज पीडारहित सुधार चाहन्छ। त्यसैले कम्तीमा पनि गहिरो र तीव्र परिवर्तन गर्न कठिन छ भन्न सकिन्छ,’ उनी भन्छन्। जापानमा ठूलो परिवर्तन वा अवरोधलाई राम्रो दृष्टिले नहेरिए पनि अब एआईबिना देशलाई आवश्यक उत्पादकत्व वृद्धि हासिल गर्न कठिन हुन सक्ने देखिन्छ।



