Oct 28 2026 | २०८३ कार्तिक १२ गते

इरान–अमेरिका होर्मुज वार्तामा नयाँ शर्त, यसको अर्थ के हो ?

इरान–अमेरिका होर्मुज वार्तामा नयाँ शर्त, यसको अर्थ के हो ?

बुधवार, श्रावण २७ २०८३
  • काठमाडौँ । होर्मुज जलडमरूमध्य पुनः खोल्ने विषयमा वार्ताका क्रममा अमेरिका र इरानले नयाँ–नयाँ माग अघि सारेका छन् । यसले पाँच महिनादेखि जारी युद्ध अन्त्य गर्ने उद्देश्यले हुने भनिएको बृहत् सम्झौताको सम्भावनामाथि संशय पैदा भएको छ । अमेरिकाले आफू प्रत्यक्ष रूपमा वार्तामा संलग्न रहेको बताएको छ।

    तर इरानले भने आफूले प्रत्यक्ष रूपमा अमेरिकासँग नभई ओमानसँग मात्र वार्ता गरिरहेको जनाएको छ । इरानले भविष्यमा महत्वपूर्ण जलमार्गको व्यवस्थापन ओमानसँग मिलेर गर्ने प्रस्ताव समेत अघि सारेको छ । अमेरिका–इजरायलले इरानमाथि युद्ध सुरु गर्नुअघि विश्वको करिब एक–पाँचौं तेल तथा तरलीकृत प्राकृतिक ग्यास यही जलमार्ग हुँदै ढुवानी हुने गरेको थियो । सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबाट क्षतिपूर्ति माग्ने बताएका छन् । इरानले पनि गत साता युद्धबाट भएको क्षतिका लागि अमेरिकाले क्षतिपूर्ति दिनुपर्ने माग गरेको थियो । साथै, वासिङ्टनले आफ्ना राजनीतिक तथा आर्थिक शर्त पूरा नगरेसम्म होर्मुज जलडमरूमध्य नखोल्ने इरानले जनाएको थियो।

    images

    विशेषज्ञहरूका अनुसार होर्मुज जलडमरूमध्यको विवाद समाधान नभएसम्म अमेरिका र इरानबीचको व्यापक शान्ति वार्ता पुनः सुरु हुने सम्भावना न्यून छ । पत्रकार तोहिद असादीले भनेका छन्, ‘दुवै पक्ष थप टाढिँदै गएका छन् । कूटनीतिक समाधानको सम्भावनाका विषयमा उनीहरूबीच दूरी झन् बढिरहेको छ।’

    ट्रम्पले ‘क्षतिपूर्ति’ बारे के भने ?

    ट्रम्पले इरानले आफ्ना गतिविधिका कारण मारिएका वा गम्भीर घाइते भएका मानिसका लागि क्षतिपूर्ति दिनुपर्ने बताएका छन् । ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उनले इरानले विगत ५० वर्षमा गरेको क्षतिको क्षतिपूर्ति माग्ने बताएका छन् । त्यसपछि आफ्नो ट्रुथ सोसल पोस्टमा ट्रम्पले सन् २००० मा यमनमा अमेरिकी नौसैनिक जहाज ‘यूएसएस कोल’ माथि भएको आक्रमणमा मारिएका १७ अमेरिकी नाविकका परिवारलाई समेत इरानले क्षतिपूर्ति दिनुपर्ने माग गरे । उक्त आक्रमणको जिम्मेवारी भने इरानलाई नभई अलकायदालाई दिइएको थियो।

    उनले जनवरीमा सरकारविरोधी प्रदर्शनका क्रममा मारिएका इरानी प्रदर्शनकारीका परिवारलाई पनि क्षतिपूर्ति दिनुपर्ने बताए । ट्रम्पले लेबनान, सिरिया, यमन र गाजाका मानिसको मृत्यु तथा क्षतिका लागि समेत इरान जिम्मेवार हुनुपर्ने बताएका छन् । यी मागहरू इरानले यस वर्षको युद्धका क्रममा अमेरिका र इजरायलको आक्रमणबाट भएको क्षतिका लागि अमेरिकाले तेहरानलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेपछि आएका हुन्।

    अमेरिकी राष्ट्रपतिको यस्तो कडा अभिव्यक्ति उनका उपराष्ट्रपति जेडी भान्सको भनाइसँग भने केही हदसम्म बाझिएको देखिन्छ । भान्सले शनिबार इरानसँग सम्झौता हुनेमा आफू विश्वस्त रहेको र त्यस्तो सम्झौता अमेरिकी जनताका लागि राम्रो हुने बताएका थिए । तर ट्रम्पको नयाँ मागपछि सोमबार तेलको मूल्य ५ प्रतिशतभन्दा बढी बढ्यो । मंगलबार पनि सम्झौताको सम्भावना कमजोर देखिएसँगै तेलको मूल्य थप बढेको थियो।

    इरानका नयाँ माग के हुन् ?

    युद्ध सुरु भएपछि इरानले लगभग बन्द गरेको होर्मुज जलडमरूमध्य पुनः खोल्न अमेरिकाले केही महत्वपूर्ण कदम चाल्नुपर्ने तेहरानको भनाइ छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले शनिबार सार्वजनिक गरेका ६ नयाँ शर्त यस्ता छन् :-

    इरानविरुद्ध अमेरिकी धम्की र अपमानजनक अभिव्यक्ति अन्त्य गर्नुपर्ने।इरान तथा लेबनान, प्यालेस्टाइन, यमन र इराकमा रहेका उसका सहयोगीमाथिको आक्रमण स्थायी रूपमा अन्त्य गर्नुपर्ने।इरानी बन्दरगाहमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउनुपर्ने तथा इरान वरपरबाट अमेरिकी नौसैनिक र हवाई सेना फिर्ता गर्नुपर्ने ।इरानले ‘थोपिएको युद्ध’ भनेका दुई युद्धबाट भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने ।अमेरिकी प्रतिबन्ध हटाउनु पर्ने ।विदेशमा रोक्का राखिएका इरानी सम्पत्ति बिना कुनै शर्त फुकुवा गर्नुपर्ने।

    यसैबीच इरानका विदेशमन्त्री अब्बास अराघ्चीका अनुसार होर्मुज जलडमरूमध्यमा नयाँ ढुवानी व्यवस्थाबारे ओमानसँग भइरहेको वार्ता प्रगति हुँदै अन्तिम चरणमा पुगेको छ । नयाँ व्यवस्थामा जलमार्गका नयाँ ढुवानी लेनहरू निर्धारण गर्ने विषय पनि समावेश छ।

    यसले शान्ति वार्तामा के अर्थ राख्छ ?

    होर्मुज जलडमरूमध्यलाई लिएर अमेरिका र इरानको वार्ता अडान झन् कडा बन्दै गएको देखिन्छ । यसले व्यापक शान्ति सम्झौताको सम्भावनामा पनि शंका उत्पन्न गरेको छ । विश्लेषक नेगर मोर्ताजावीका अनुसार होर्मुजको विषय र यसको भविष्यको व्यवस्थापनबारे सहमति नभएसम्म व्यापक सम्झौताका लागि वार्ता पुनः सुरु हुने सम्भावना कम छ।

    उनका अनुसार दुवै पक्षले गम्भीर वार्ता सुरु हुनुअघि अधिकतम मागहरू अघि सारेका छन् । मोर्ताजावीले ट्रम्पका नयाँ माग विशेष रूपमा संवेदनशील भएको बताइन् । उनका अनुसार यदि विगतका प्रदर्शन तथा अन्य घटनाको क्षतिपूर्ति वास्तवमै अमेरिकी सम्झौताको अनिवार्य सर्त बन्यो भने तेहरानका लागि त्यसलाई स्वीकार गर्न निकै कठिन हुनेछ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार