काठमाडौं । स्ट्रेट अफ होर्मुज खुल्ने सम्भावना कमजोर भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्नुअघि युद्ध, आक्रमण र प्रदर्शनका क्रममा भएको क्षतिको क्षतिपूर्ति तिर्नुपर्ने नयाँ माग अघि सारेपछि स्ट्रेट अफ होर्मुज पुनः कखोल्न दुई पक्षबीच हुने सम्भावित सहमति थप जटिल बनेको छ।
इरानले शान्ति सम्झौताका लागि क्षतिपूर्ति र अमेरिकी प्रतिबन्ध हटाउनुपर्ने सर्त अघि सारेको थियो । त्यसको जवाफमा इरानले पनि विगत करिब ५० वर्षमा भएको क्षतिको रकम तिर्नुपर्ने ट्रम्पले बताए।
ह्वाइट हाउसमा बोल्ने क्रममा ट्रम्पले इरानका कारण मृत्यु भएका नागरिक तथा पश्चिम एशियाली क्षेत्रमा मारिएका अमेरिकी सैनिकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने समेत भनेका छन् । ‘उनीहरूले गरेको क्षतिको पैसा हामी माग्नेछौँ,’ ट्रम्पले भने । भएको क्षतिको जिम्मेवारी इरानले लिनुपर्ने ट्रम्पको अडान छ । फेब्रुअरीमा युद्ध सुरु भएयता ट्रम्पले कहिले सैन्य तनाव बढाउने चेतावनी दिने र कहिले शान्ति सम्झौता नजिकै पुगेको दाबी गरिरहेका छन्।
ट्रम्पको नयाँ मागसँगै स्ट्रेट अफ होर्मुज पुनःखोल्ने विषयमा सहमति हुने सम्भावना कमजोर बनेको छ । यसको असर अन्तर्राष्ट्रिय तेल बजारमा समेत परेको छ । सोमबार तेलको मूल्य करिब ५ प्रतिशतले बढेको छ । रोयटर्सले छापेको समाचार अनुसार ब्रेन्टको भाउ ४ दशमलव ९९ प्रतिशतले बढेर प्रतिब्यारेल ८७ डलर ७२ सेन्ट पुगेको छ । उता, अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियटको भाउ पनि ५ दशमलव शून्य ५ प्रतिशतको वृद्धिसहित ब्यारेलकै ८२ डलर १३ सेन्टमा उक्लिएको छ।
इरानले यसअघि ओमानसँग स्ट्रेट अफ होर्मुज हुँदै दुई देशबीच नयाँ पानीजहाज मार्ग निर्धारण गर्ने अन्तिम सम्झौताको नजिक पुगेको बताएको थियो । तर तेहरानले अमेरिका पनि सम्झौताका केही सर्त मान्नुपर्ने स्पष्ट गरेको छ । ती सर्तमा क्षतिपूर्ति, अमेरिकी प्रतिबन्धको अन्त्य तथा सैन्य धम्की रोक्नुपर्ने माग प्रमुख छन् । इरानका यी मागहरू जुन महिनामा भएको प्रारम्भिक शान्ति सम्झौताका सर्तसँग धेरै हदसम्म मिल्दोजुल्दो थिए । तर उक्त प्रारम्भिक सम्झौतापछि कार्यान्वयनमा जान सकेन।
ट्रम्पले सन् २०२५ को अन्त्य र सन् २०२६ मा भएका प्रदर्शनमाथि इरानी सरकारको दमनको विषय उठाउँदै करिब ६ साताअघि सम्ममा ५२ हजार प्रदर्शनकारी मारिएको दाबी गरेका छन् । तर अमेरिकामा रहेको ह्युमन राइट्स एक्टिभिस्ट्स न्युज एजेन्सी (एचआरएएनए)ले फेब्रुअरीमा सार्वजनिक गरेको तथ्यांकअनुसार करिब ७ हजार मानिसको मृत्यु भएको र त्यसमध्ये करिब ६ हजार ५०० जना प्रदर्शनकारी रहेको जनाएको थियो।
इरानी विपक्षी तथा निर्वासित समूहहरूले भने योभन्दा धेरै मानिस मारिएको दाबी गर्दै आएका छन् । फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण सुरु गरेपछि ट्रम्पले इरानी नागरिकलाई सरकारविरुद्ध उभिन आह्वान गरेका थिए । मानवअधिकार समूहहरूका अनुसार त्यसयता पनि इरानी सरकारले विपक्षी तथा सरकारविरोधी गतिविधिमा संलग्न व्यक्तिमाथि दमन जारी राखेको छ।
ट्रम्पले सन् २००० मा यमनमा अमेरिकी नौसेनाको जहाज यूएसएस कोलमाथि भएको हमलामा मारिएका १७ अमेरिकी नाविकका परिवारलाई पनि इरानले क्षतिपूर्ति दिनुपर्ने बताएका छन् । अल कायदाले गराएको उक्त हमलाका लागि इरानलाई जिम्मेवार ठहराइएको थिएन । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा इरानले लेबनान, सिरिया, यमन र गाजाका मानिसको मृत्यु तथा क्षतिका लागि पनि जिम्मेवारी लिनुपर्ने बताएका छन्।



