काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । सयौं मानिस अझै बेपत्ता छन्।सरकारले प्रारम्भिक रूपमा १११ जनाको मृत्यु र ८७ जना घाइते भएको जनाएको थियो । तर कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटिजका अनुसार मृत्यु हुनेको संख्या १३२ पुगेको छ भने ५७० जना घाइते भएका छन्।
कोलम्बियन जियोलोजिकल सर्भिसका अनुसार सोमबार गएको भूकम्प यो शताब्दीमा कोलम्बियामा गएको सबैभन्दा शक्तिशाली भूकम्प हो । भूकम्पका कारण पश्चिमी कोलम्बियाका काली, पेरेइरा, क्विब्दो र मानिजालेससहितका शहरमा ठूलो क्षति पुगेको छ । भूकम्पको धक्का छिमेकी इक्वेडर र पानामासम्म महसुस गरिएको थियो।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार भूकम्पको केन्द्रबिन्दु राजधानी बोगोटाबाट करिब ४०० किलोमिटर पश्चिममा रहेको चोको क्षेत्रको सान होसे डेल पालमारमा थियो । भूकम्प १०७ किलोमिटर गहिराइमा गएको थियो भूकम्पपछि केही घण्टाभित्रै कम्तीमा २१ वटा परकम्पसमेत गएका थिए।
संकटकाल घोषणा, खोज र उद्धार जारी
अलजजिराका अनुसार भवनका भग्नावशेषमा मानिसको खोजी जारी छ । उद्धारमा संलग्नहरूले कंक्रिटका ठूला टुक्रा र अन्य भग्नावशेष हातैले हटाइरहेको समेत देखिन्छ।
स्थानीय अधिकारीका अनुसार कालीमा कम्तीमा २० वटा भवन पूर्णरूपमा भत्किएका छन् भने ३८० वटा भवनमा क्षति पुगेको छ । भत्किएका भवनमा धेरै मानिस फसेको आशंका गरिएको छ।

राष्ट्रपति अबेलार्दो दे ला एस्प्रिएल्लाले सोमबार दिउँसो राष्ट्रिय सम्बोधन गर्दै देशभर संकटकाल घोषणा गरेका छन् । ‘राष्ट्रिय सरकारले जीवन जोगाउन, प्रभावित समुदायलाई सहयोग गर्न र आवश्यक ठाउँमा राहत पुर्याउन आफ्ना सबै संयन्त्र परिचालन गरेको छ,’ उनले भने।
केही दिनअघि मात्रै एस्प्रिएल्लाले कोलम्बियाको राष्ट्रपतिको रुपमा शपथ लिएका थिए । नयाँ सरकारका लागि यो पहिलो ठूलो संकट बनेको छ।उनले भग्नावशेषमा फसेका मानिसको उद्धारलाई सरकारको पहिलो प्राथमिकता रहेको बताए।
कोलम्बियाको प्रमुख कफी उत्पादन क्षेत्र रिसाराल्दामा मात्रै कम्तीमा ४० जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । क्षेत्रीय राजधानी पेरेइरामा पनि ठूलो क्षति पुगेको छ बताइएको छ।भाये डेल काउका क्षेत्रमा कम्तीमा २७ जनाको मृत्यु भएको छ । मृतकमध्ये तीन जना बालबालिका छन्।
भूकम्पको केन्द्र नजिकै पर्ने चोको क्षेत्रमा भने सञ्चार सेवा अवरुद्ध हुँदा क्षतिको पूर्ण विवरण आउन सकेको छैन । त्यहाँका केही क्षेत्रमा भूकम्प गएको घण्टौंसम्म मोबाइल सेवा सञ्चालनमा आउन सकेको थिएन।
चोकोकी गभर्नर नुबिया क्यारोलिना कोर्डोबाकाले भने उक्त क्षेत्रमा १२ जनाको मृत्यु र ८४ जना घाइते भएको अनुमान गरिएको बताएकी छन् । स्थानीय अगुवाहरुका अनुसार ठूलो संख्यामा मानिस बेपत्ता छन्।
बेपत्ता मानिसको संख्या बढ्दै
सोमबार दिउँसोसम्म मानिसहरूले आफ्ना आफन्त बेपत्ता भएको विवरण अनलाइन डेटाबेसमा राख्न थालेका थिए । एउटा डिजिटल डेटाबेसमा मात्रै १ हजार ४०० भन्दा बढी मानिस बेपत्ता भएको विवरण राखिएको थियो । तीमध्ये अधिकांश काली र पेरेइराका थिए।
पेरेइरामा विमानस्थलको छतका केही भाग खसेको दृश्य सार्वजनिक भएको छ । भूकम्पपछि यात्रुहरू डराउँदै सुरक्षित स्थानतर्फ भागेको देखिएको छ । त्यहाँ चारतले भवन भत्किएको दृश्यसमेत सार्वजनिक भएको छ।पेरेइराका मेयर माउरिसियो सालाजारका अनुसार शहरमा कम्तीमा १५ वटा भवन भत्किएका छन् । ती भवनमा मानिस फसेको आशंका गरिएको छ।

नजिकैको मानिजालेसमा शहरको प्रसिद्ध नव–गोथिक शैलीको क्याथेड्रलको एउटा छेउको टावर भत्किएको छ । टावरको भग्नावशेष सडकमा खसेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
भूकम्पपछि कोलम्बियाको नागरिक उड्डयन प्राधिकरणले पश्चिमी क्षेत्रका केही विमानस्थलमा उडान सेवा स्थगित गरेको छ । पेरेइरा, मानिजालेस, क्विब्दो, आर्मेनिया, कार्तागो र बुएनाभेन्तुराका विमानस्थलमा संरचनाको प्राविधिक निरीक्षण भइरहेको छ।
यस शताब्दीको सबैभन्दा शक्तिशाली भूकम्प
प्रशान्त महासागर वरपरको भूकम्पीय क्षेत्रमा पर्ने कोलम्बियामा साना भूकम्प सामान्य मानिन्छन् । तर ६ म्याग्निच्युडभन्दा माथिका भूकम्प भने दुर्लभ छन्।
सन् १९९९ मा आर्मेनिया शहरनजिकै गएको ६.२ म्याग्निच्युडको भूकम्पमा १ हजार १०० भन्दा बढी मानिसको मृत्यु भएको थियो।
कोलम्बियन जियोलोजिकल सर्भिसका अनुसार सोमबारको भूकम्प २१औं शताब्दीमा कोलम्बियामा रेकर्ड भएको सबैभन्दा शक्तिशाली भूकम्प हो।
नर्थवेस्टर्न विश्वविद्यालयकी भूकम्पविद् सुजान भान डर लीका अनुसार भूकम्पको ठूलो म्याग्निच्युड, जमिनभित्रको अवस्थिति र ‘स्ट्राइक–स्लिप’ प्रकृतिको चालका कारण जनघनत्व भएका क्षेत्रमा क्षति बढेको हुन सक्छ।
‘यो भूकम्प पृथ्वीको निकै तल गएको थियो । सिद्धान्तत: यस्तो अवस्थामा धेरै ठूलो कम्पन हुन नहुने हो । तर यसको म्याग्निच्युडका कारण निकै शक्तिशाली कम्पन भयो,’ उनले रोयटर्सलाई भनेकी छन्।
अमेरिकासहित विभिन्न देशले सहयोग गर्ने
भूकम्पपछि अमेरिकाले कोलम्बियालाई आपत्कालीन सहायता उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयले आपत्कालीन आश्रय, खाद्यान्न तथा भूकम्प प्रभावितको उद्धार र राहतका लागि १ करोड ५५ लाख डलर सहयोग गर्ने जनाएको छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ्जाल एक्समार्फत कोलम्बियामा गएको शक्तिशाली भूकम्पलाई अमेरिकाले नजिकबाट निगरानी गरिरहेको र कोलम्बियाली जनतालाई सहयोग गर्न तयार रहेको बताएका छन्।
ल्याटिन अमेरिकी मुलुकहरूले पनि सहयोगको प्रतिबद्धता जनाएका छन् । एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेले र मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेइनबाउमले कोलम्बियालाई तत्काल सहयोग गर्न तयार रहेको बताएका छन् ।
चिलीका राष्ट्रपति होसे एन्टोनियो कास्टले पनि भूकम्प प्रभावित कोलम्बियालाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। भूकम्पको उच्च जोखिममा रहेको चिलीले ‘भूकम्पपछि आउने पीडा र चुनौती राम्रोसँग बुझेको’ उनले बताएका छन्।इजरायल, इक्वेडर र फ्रान्सले पनि कोलम्बियालाई उद्धार तथा राहतमा सहयोग गर्ने प्रस्ताव गरेका छन्।



