Oct 28 2026 | २०८३ कार्तिक १२ गते

विश्वमै निरन्तर फैलिँदै डढेलो : बर्सेनि कसरी बन्दैछ झन् भयावह ?

विश्वमै निरन्तर फैलिँदै डढेलो : बर्सेनि कसरी बन्दैछ झन् भयावह ?

आइतवार, श्रावण २४ २०८३
  • काठमाडौँ । अमेरिकाका धेरै भूभागमा विनाशकारी डढेलो अहिले दैनिक जीवनकै एउटा हिस्सा बनेको छ।अमेरिकीहरू तातिँदो पृथ्वीअनुसार आफूलाई अनुकूल बनाउँदै छन् र तीव्र बढ्दो मौसमी घटनाहरू पनि सामान्यजस्तै लाग्न थालेका छन्।

    यस गर्मी याममा उल्लेखनीय रूपमा वासिङ्टन राज्यको स्पोकेनमा डढेलोले बस्तीहरू ध्वस्त पार्‍यो । दसौँ हजार मानिसलाई सुरक्षित स्थानमा सर्नुपर्‍यो । त्यसैगरी, डढेलोले पश्चिमी अमेरिकाका धेरै भूभाग प्रभावित भए । युटा र कोलोराडोलगायतका राज्यमा बस्तीहरू जलेर सखाप भए । त्यसमाथि युरोपबाट आएका डरलाग्दा दृश्य र क्यानडाबाट अमेरिकातर्फ फैलिएको धुवाँले पनि अवस्था झन् गम्भीर बनाएको छ।

    images

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनलाई ‘झुट’ भन्दै आएका छन् । उनले यस समस्यालाई सम्बोधन गर्ने अन्तर्राष्ट्रिय दायित्वबाट अमेरिकालाई अलग गरेका छन् । देशभित्र पनि जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने प्रयास उनले व्यापक कटौती गरेका छन्।

    गत महिना ट्रम्पले क्यानडाबाट आएको धुवाँले अमेरिकी हावालाई ‘विषाक्त’ बनाएको र त्यसको क्षतिपूर्ति क्यानडाले अमेरिकालाई तिर्नुपर्ने हो कि भन्दै प्रश्नसमेत गरेका थिए, तर ट्रम्प प्रशासनअन्तर्गतको अमेरिकी वातावरण संरक्षण निकाय (ईपीए)ले मानिसमा डढेलोको धुवाँको प्रभावबारे अनुसन्धान गरिरहेको एउटा संथालाई लगभग पूर्ण रूपमा विघटन गरेको अवस्था छ।

    त्यस्तै ट्रम्प प्रशासनले बजेट कटौती गर्दा राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन (एनओएए)ले डढेलोजस्ता विपद् तथा जलवायु परिवर्तनसँग सम्बन्धित अन्य मौसमी घटनाबाट हुने क्षतिको विवरण सङ्कलन गर्न बन्द गरेको छ । एउटा गैरनाफामूलक संस्थाका अनुसार, ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता लस एन्जलसमा लागेको डढेलोबाट मात्रै अनुमानित ६३ अर्ब डलर बराबरको क्षति भएको देखिन्छ । डढेलोको प्रकोप भयावह छ । पछिल्ला वर्षहरूमा टेक्सास, टेनेसी, फ्लोरिडा, क्यालिफोर्निया र हवाईलगायतका राज्यमा घरहरू जलेर नष्ट भएका छन् र मानिस विस्थापित भएका छन् । हरेक वर्ष पश्चिमी अमेरिकाका वन क्षेत्रमा अत्यधिक डढेलो फैलिने गरेको छ।

    ट्रम्पले अमेरिकी भूभागमा डढेलो नियन्त्रण गर्ने अग्निनियन्त्रक परिचालन गर्ने विभिन्न सरकारी निकायलाई पुनर्गठन गर्दै नयाँ यूएस वाइल्डल्यान्ड फायरफाइटिङ सर्भिस स्थापना गर्ने प्रक्रिया पनि अघि बढाएका छन् । तर ट्रम्प प्रशासनले परिकल्पना गरेअनुसारको नयाँ निकायका लागि कंग्रेसले बजेट दिनसमेत अस्वीकार गरेको छ।वासिङ्टन डीसीमा राजनीतिक मतभेदहरू जारी रहे पनि डढेलो फैलिने क्रम रोकिएको छैन।

    यो वर्ष डढेलोको मौसम कस्तो छ ?

    यो वर्ष लगभग सबै ठाउँमा डढेलोको अवस्था औसतभन्दा माथि छ । अगस्टको सुरुसम्म अमेरिकाभर डढेलोले जलेको क्षेत्रफल पछिल्लो १० वर्षको औसतभन्दा करिब ५० प्रतिशत बढी छ । तर ध्यान दिनुपर्ने कुरा के हो भने पछिल्लो १० वर्षकै अवस्था पनि सामान्यभन्दा खराब थियो । यदि अहिलेको अवस्थालाई दुई दशकअघिको अवस्थासँग तुलना गर्ने हो भने डढेलोको आधाररेखा नै करिब ५० प्रतिशतले बढिसकेको देखिन्छ । त्यसैले डढेलोले जलाउने क्षेत्रफल लगातार बढिरहेकै छ।

    यो समस्या अमेरिकामा मात्रै सीमित छैन । अन्य ठाउँमा त अवस्था झन् खराब छ । उदाहरणका लागि क्यानडामा यस वर्ष डढेलोले जलेको क्षेत्रफल औसतभन्दा निकै बढी छ । पछिल्ला चार वर्षमध्ये प्रत्येक वर्ष डढेलोले जलेको क्षेत्रफलका हिसाबले क्यानडाका शीर्ष चार वर्षमा परेको छ । अब यो लगभग हरेक वर्ष दोहोरिने घटना बनेको छ ।

    ap26215843432693

    युरोपमा पनि यस्तै छ । हरेक वर्ष युरोपको कुनै न कुनै भागमा डढेलो लागिरहेको हुन्छ र हरेक वर्ष अघिल्लाभन्दा बढी डढेलो देखिन्छ । गत वर्ष ग्रीस र इटालीमा ठुलो डढेलो लागेको थियो । यस वर्ष स्पेन, फ्रान्स र बेलायत प्रभावित भएका छन् । युरोपका लगभग सबै ठाउँमा हरेक गर्मीयाममा तापक्रमका नयाँ कीर्तिमान बनिरहेका छन्।

    अहिले अमेरिकामा ठुला डढेलोको संख्याका हिसाबले ओरेगन र वासिङ्टन अग्रस्थानमा छन् । क्यालिफोर्निया अहिले अग्रस्थानमा छैन, तर अवस्था परिवर्तन हुन धेरै समय लाग्दैन । धेरै वर्षदेखि क्यालिफोर्निया र कोलोराडो अग्रस्थानमा रहने गरेका थिए।

    हरेक वर्ष डढेलो लाग्ने ठ्याक्कै स्थान परिवर्तन हुन सक्छ, तर समग्रमा जलेको क्षेत्रफल, डढेलोको संख्या र अन्य यस्ता सूचकहरू भने निरन्तर बढिरहेका छन् । डढेलोको मौसम अब कहिल्यै अन्त्य नहुने जस्तो देखिन्छ । त्यसैले क्यालिफोर्नियाका केही भागलाई लिएर अहिलेको अवस्थाबाट भाग्यमानी भन्न मिल्दैन । त्यहाँ डढेलोको मौसम सामान्यतः वर्षको पछिल्लो समयमा सुरु हुन्छ । शरद ऋतुमा त्यहाँ ठुला हावाहुरी आउने गर्छन् । तीव्र हावाका घटनाले वनस्पति तथा अन्य ज्वलनशील पदार्थलाई निकै सुक्खा बनाउन सक्छ । गर्मी याममा त्यहाँ खासै वर्षा पनि हुँदैन । त्यसैले यही समयमा वातावरण अत्यन्त सुक्खा हुने गर्छ । शरद ऋतुमा तीव्र हावा चल्न थालेपछि त्यहाँ ठुला डढेलो फैलिने गर्छन्।

    ओरेगन र वासिङ्टन सामान्यतः त्यति सुक्खा र तातो हुने क्षेत्र होइनन् । तीमध्ये प्रशान्त महासागर नजिकका धेरै ठाउँमा त घरहरूमा वातानुकूलन प्रणालीसमेत हुँदैन । तर जब त्यहाँ विगतमा हुने नगरेको धेरै दिनसम्म लगातार ९० वा १०० डिग्री फरेनहाइटसम्म तापक्रम पुग्न थाल्छ, अवस्था फरक हुन्छ । जब तापक्रमका नयाँ कीर्तिमानहरू देखिनथाल्छन्, डढेलो लाग्ने सम्भावना निकै उच्च हुन्छ।

    डढेलोका लागि कत्तिको जिम्मेबार छ जलवायु परिवर्तन ?

    मानिसले नै सधैँ डढेलो निम्त्याउँदै आएका छन् । कहिलेकाहीँ जानाजानी र धेरैजसो दुर्घटनावश । क्याम्पफायरबाट आगो फैलिन सक्छ । सुक्खा घाँसे मैदानमा गाडी स्टार्ट गर्दा पनि डढेलो लाग्न सक्छ । मानिसबाट हुने र प्राकृतिक रूपमा लाग्ने डढेलोको अनुपात पछिल्ला वर्षहरूमा खासै परिवर्तन भएको छैन । त्यसैले ‘जलवायु परिवर्तनका कारण स्पोकेनमा डढेलो लाग्यो’ भन्नु सही हुँदैन । त्यस्तो दाबी गलत हुन्छ।

    तर, जलवायु परिवर्तनले उक्त क्षेत्रलाई त्यस्तो किसिमले डढेलो फैलिनका लागि अनुकूल वातावरण बनाएको हुन्छ । कुरा सरल छ । कुनै वस्तु जति सुक्खा हुन्छ, त्यति नै सजिलै बल्ने सम्भावना हुन्छ । कुनै ठाउँ जति तातो हुन्छ, त्यति नै सुक्खा बन्छ।

    जलवायु परिवर्तनले वायुमण्डलको पानी सोस्ने क्षमता परिवर्तन गरिरहेको छ । यसले वाष्पीकरणलाई तीव्र बनाउँछ र पानीको सतह घटाउँछ । लेक मिड र लेक पावेलजस्ता पश्चिमी अमेरिकाका जलाशयहरूमा पानीको सतह अहिलेसम्मकै न्यून स्तरमा पुगेको देखिन्छ।

    ap26217015090143

    जलवायु परिवर्तनले रुख, झाडी र वनबाट पनि पानी सोसिरहेको छ । यसले ती वनस्पतिलाई अझ झुरो र सुक्खा बनाउँछ । तर यसको अर्को पक्ष पनि छ । यदि कुनै क्षेत्र निरन्तर सुक्खा हुँदै गयो भने अन्ततः तीमध्ये केही क्षेत्र मरुभूमिमा परिणत हुन सक्छन् र लामो समयपछि त्यहाँ जल्नका लागि पर्याप्त वनस्पति नै नहुन सक्छ।

    तर मुख्य समस्या अहिले देखिइरहेको मौसमीय उतारचढाव हो । क्यालिफोर्नियामा यो विशेष रूपमा देखिन्छ, जहाँ एक वर्ष अत्यधिक वर्षा हुन्छ भने अर्को वर्ष अत्यन्त सुक्खा हुन्छ । कुनै वर्ष निकै धेरै वर्षा हुनुमा वा सुक्खा हुनुमा एल निनो र ला निनाजस्ता प्राकृतिक रूपमा हुने जलवायु प्रणालीहरूको पनि भूमिका हुन सक्छ । विडम्बना के छ भने जलवायु परिवर्तनले अत्यधिक वर्षा हुने अवस्थालाई अझ चरम बनाउन सक्छ । जलवायु तात्दै जाँदा न्यानो हावाले बढी पानीको वाष्प धारण गर्न सक्छ।

    त्यसैले कुनै वर्ष अत्यन्त हराभरा भएर धेरै वनस्पति उम्रिन सक्छन् । त्यसपछि अर्को वर्ष अहिलेसम्मकै सबैभन्दा तातो र सुक्खा वर्ष भयो भने त्यसले भयावह डढेलो निम्त्याउन सक्छ । अहिले यही भइरहेको छ । युरोपमा पनि यस्तै भएको छ । हिउँदमा युरोप निकै भिजेको थियो र त्यसपछि यो गर्मीयाम अहिलेसम्मकै सबैभन्दा तातो बनेको छ । यसले पनि डढेलोका लागि अत्यन्त खराब अवस्था सिर्जना गरेको छ।

    भिजेको ठाउँमा पनि डढेलो किन भयावह हुन्छ ?

    कुनै पनि ठाउँ डढेलोबाट पूर्ण रूपमा सुरक्षित हुन्छ भन्ने होइन । जहाँ वन र प्राकृतिक जङ्गली भूभाग छन्, त्यहाँ पनि डढेलो लाग्न सक्छ । अमेरिकाको दक्षिणपूर्वी क्षेत्र ग्याटलिनबर्गमा केही वर्षअघि निकै भयावह डढेलो लागेको थियो । त्यस घटनाले धेरै मानिसलाई यो समस्या पश्चिमी तटको मात्रै होइन भन्ने महसुस गरायो । ग्रेट लेक्स क्षेत्र र उत्तरपूर्वी अमेरिकाका केही भित्री भूभागमा डढेलोको घटना तुलनात्मक रूपमा कम हुन्छ।

    फ्लोरिडामा धेरै वर्षा हुन्छ । तर वर्षा केही समयका लागि मात्र रोकिँदा पनि त्यहाँको अत्यधिक गर्मीका कारण निकै छिटो सुक्खा हुन्छ । त्यस्तै फ्लोरिडामा अमेरिकाका अन्य कुनै पनि स्थानभन्दा प्रतिवर्गमाइल बढी चट्याङ पर्ने गर्छ । चट्याङ डढेलो लाग्नुका प्रमुख कारणमध्ये एक हो । फ्लोरिडामा केही सातासम्म वर्षा नहुनु, अत्यधिक गर्मी हुनु र त्यसपछि मेघगर्जनसहितको वर्षा हुनुमात्र पनि दर्जनौँ डढेलो सल्काउन पर्याप्त हुन्छ।

    बस्न लायक ठाउँमा डढेलोको जोखिम झन् बढ्न सक्छ

    अमेरिकामा मात्रै लाखौँ मानिस ‘वाइल्डल्यान्ड–अर्बन इन्टरफेस’ अर्थात् वन क्षेत्र र सहरी बस्तीबिचको क्षेत्रमा बस्ने गर्छन् । यस्तो वातावरणमा बस्न रुचाउँछन् । यस्तो क्षेत्रलाई सङ्क्रमण क्षेत्र भनिन्छ । सहर विस्तार गर्दै जाँदा पहिले वन वा प्राकृतिक जङ्गली भूभाग रहेका ठाउँमा बस्ती विस्तार गरिएका छन् । यी मानिसहरूलाई बस्न मनपर्ने ठाउँ हुन्।

    समुद्र किनारमा बस्नु पनि यस्तै हो । समुद्री आँधीको जोखिम अत्यधिक भए पनि अन्य स्पष्ट कारणले मानिसहरू त्यहाँ बस्न रुचाउँछन् । तर यसो गर्दा मानिसको बस्ती प्रकृतिसँग जोडिन्छ र प्रकृति स्वाभाविक रूपमा जल्ने गर्छ । वनमा प्राकृतिक रूपमा डढेलो लाग्ने प्रक्रिया वास्तवमा उपयोगी पनि हुन्छ । त्यसैले वनलाई स्वस्थ राख्न योजनाबद्ध रूपमा डढेलो लगाउने, अर्थात् प्रेस्क्राइब्ड बर्न गर्ने गरिन्छ । यसले वनलाई स्वस्थ राख्नुका साथै अनावश्यक रूपमा बढेको वनस्पति र ज्वलनशील पदार्थ हटाउँछ।

    तर वन क्षेत्र र सहरी बस्तीबिचका क्षेत्रमा रहेका वनहरूलाई आवश्यक स्तरमा व्यवस्थापन गर्न सधैँ सम्भव हुँदैन । किनभने योजनाबद्ध रूपमा लगाइने डढेलो पनि आखिर आगो र जोखिम नै हो । मानिसहरूलाई त्यस्तो आगो मन पर्दैन । गर्मीयामका सुन्दर दिनहरू धुवाँले ढाकिएको उनीहरूलाई मन पर्दैन।

    त्यसैले वन व्यवस्थापन र स्थानीय बासिन्दाको चाहनाबिच सधैँ द्वन्द्व रहन्छ । त्यसमाथि, अवस्था जोखिमपूर्ण भएको बेला योजनाबद्ध डढेलो लगाउन पनि सकिँदैन । वनमा पर्याप्त चिस्यान भएको र डढेलोको जोखिम कम भएको दिन चाहिन्छ । तर अधिकांश वर्षमा त्यस्ता दिन धेरै हुँदैनन् । त्यसैले यो काम झन् कठिन हुँदै गएको छ ।  सरकारहरूले भविष्यमा यस्ता योजनाबद्ध डढेलो व्यवस्थापनका काम अझ बढी गर्नुपर्ने हुन सक्छ।

    घरधनीहरूले के गर्न सक्छन् ?

    बस्ती विकासकै चरणमा अग्निनियन्त्रणको व्यवस्थापन गर्न सकिन्छ । घरहरूलाई आगोको जोखिम सामना गर्न सक्ने गरी निर्माण गर्न सकिन्छ र प्राकृतिक रूपमा आगो फैलिन रोक्ने खाली क्षेत्र बनाउन सकिन्छ । अत्यधिक ज्वलनशील निर्माण सामग्री प्रयोग नगर्ने, घर वरिपरिको बगैँचा तथा वनस्पति डढेलोप्रति संवेदनशील नहुने गरी व्यवस्थापन गर्ने जस्ता धेरै काम घरधनीहरूले आफ्नै स्तरमा गर्न सक्छन्।

    ap26216139062197

    यसले घर वा पूरै बस्ती डढेलोबाट बच्ने सम्भावना बढाउन सक्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको घरलाई सिधै वनसँग टाँसिएर नबनाउनु हो । घर र वनबिच प्राकृतिक खाली क्षेत्र राख्नुपर्छ भने घर–घरबिचमा पनि खाली ठाउँ हुनुपर्छ । बस्तीको एउटा घरमा आगो लागेपछि हावा चलिरहेको अवस्थामा आगो अत्यन्त छिटो एउटा घरबाट अर्को घर, त्यसपछि अर्को घरमा फैलिन सक्छ । हावाले आगोका झिल्का निकै प्रभावकारी रूपमा बोक्छ । छानामा केही झिल्का मात्र खस्दा पनि घर केही समयमै जल्न सक्छ।

    जलवायु वैज्ञानिक र अग्निनियन्त्रकहरू के भनिरहेका छन् ?

    जलवायु वैज्ञानिक र अग्निनियन्त्रकका अनुसार, यस्तो अवस्था अझ बढी देखिनेछ । डढेलोले जलाउने क्षेत्रफल निरन्तर बढ्नेछ । यसको एउटा प्रमुख कारण डढेलोको मौसम लम्बिँदै जानु हो । डढेलो पहिलेभन्दा चाँडो सुरु हुन्छ र लामो समयसम्म रहन्छ।

    उदाहरणका लागि क्यानडालाई हेरौँ । विगतमा त्यहाँ जुन वा जुलाईसम्म खासै डढेलो सुरु हुँदैनथ्यो, किनभने त्यतिबेलासम्म पनि जमिनमा हिउँ बाँकी हुन्थ्यो । जमिन र वनस्पति सुक्खा तथा तातो हुन धेरै महिना लाग्थ्यो।

    तर अहिले दुवै दिशाबाट परिवर्तन भइरहेको छ । धेरै वर्षमा थोरै हिउँ पर्छ, त्यसैले हिउँ छिटो पग्लिन्छ र वनस्पति बाहिर देखिन थाल्छ । वनस्पति पनि चाँडै उम्रिन्छ र त्यसपछि चाँडै सुक्खा हुन्छ । अर्कोतर्फ, फेरि हिउँ पर्न, वर्षा हुन र तापक्रम चिसिन लामो समय लाग्छ । विशेषगरी क्यानडा, युरोप र रुसजस्ता उत्तरी क्षेत्रमा, जहाँ सबैभन्दा धेरै र भयावह डढेलो देखिएका छन्, यो प्रवृत्ति आगामी दिनमा पनि जारी रहने आकलन गरिएको छ।

    पहिला–पहिला रात नै अग्निनियन्त्रकहरूका लागि डढेलो नियन्त्रण गर्ने महत्त्वपूर्ण समय हुन्थ्यो । अत्यन्त तीव्र डढेलो भए दिनको समयमा केही पछाडि हट्थे । तर रात परेपछि उनीहरू डढेलोमाथि पुनः सक्रिय रूपमा नियन्त्रणको प्रयास गर्थे र अर्को दिन तापक्रम बढ्न तथा दिउँसो हावा तीव्र हुनुअघि नै आगोलाई नियन्त्रणमा ल्याउने व्यवस्था गर्थे । अब त्यस्तो प्रायः छैन । जसरी डढेलोको मौसम विस्तार भएर वर्षभरिजस्तै हुन थालेको छ, त्यसैगरी डढेलो नियन्त्रणको ‘दिन’ पनि अहिले २४ घण्टे भएको छ । डढेलोमाथि प्रभावकारी रूपमा नियन्त्रण कायम गर्न वा त्यसको फैलावट रोक्न अग्निनियन्त्रकहरूसँग पहिलेभन्दा कम समय र अवसर छ । यही कारणले कहिलेकाहीँ डढेलो रातको समयमा समेत असाधारण गतिमा फैलिरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार