काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले चीन– नेपाल सहकार्यले दक्षिण एसियाली देशबिच द्विपक्षीय सहकार्यका लागि उदाहरण प्रस्तुत गरेको बताएका छन् । उनले यो सहकार्यले क्षेत्रीय स्थिरता र समृद्धिमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।
शुक्रबार नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एन्ड इन्गेजमेन्ट (एनआईआईसीई) र चीनको फुदान विश्वविद्यालय अन्तर्गतको दक्षिण एसिया अध्ययन केन्द्रको आयोजनामा ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसिया’ विषयक अन्तर्राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै राजदूत चाङले चीन र दक्षिण एसिया बिचको सहकार्यलाई थप सुदृढ बनाउन नेपालले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए।
चीन र दक्षिण एसिया पहाड र समुद्रले जोडिएको बताउँदै उनले सांस्कृतिक सम्बन्धमा समेत बाँधिएको उनले उल्लेख गरे । उनले क्षेत्रीय सम्पर्क र आर्थिक विकासका लागि चीन र दक्षिण एसियाबिच सहकार्यको ठुलो सम्भावना रहेको धारणा समेत राखे।
विश्वमा अचम्मका परिवर्तनहरू भइरहेको बताउँदै उनले क्षेत्रीय द्वन्द्व, एकपक्षीयता र प्रभुत्ववाद बढ्दै जाँदा शान्ति र विकासमा गम्भीर चुनौती थपिएको बताए।
विश्व फेरि जङ्गलको कानुनतर्फ फर्किने जोखिम रहेको बताउँदै राजदूत माओमिङले यसमा दक्षिण एसियाले समग्र रूपमा स्थिरता कायम राख्नमा जोड दिनुपर्ने बताए । पछिल्लो समय दक्षिण एसियाले निरन्तर आर्थिक वृद्धि हासिल गरिरहेको समेत उनले बताए । दक्षिण एसियाको विकासले विश्वको बहुध्रुवीकरणलाई प्रतिबिम्बित गर्नुका साथै एसियाली शताब्दीको आगमनलाई समेत पुष्टि गरेको उनको धारणा थियो।
चीनका राष्ट्रपति सी चिनफिङले दक्षिण एसियाली देशहरूसँगको सम्बन्धलाई उच्च महत्त्व दिँदै आएको उल्लेख गर्दै उनले पछिल्लो एक वर्षमा राष्ट्रपति सीले नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, माल्दिभ्स लगायत दक्षिण एसियाली देशका नेताहरूसँग भेटवार्ता गरेको बताए । ती भेटवार्ताका क्रममा क्षेत्रीय समृद्धि प्रवर्द्धन र परम्परागत मित्रतालाई थप विश्वासिलो बनाउने विषयमा महत्त्वपूर्ण समझदारी बनेको समेत उनले उल्लेख गरे।
‘चीन र दक्षिण एसियामा विशाल बजार छ भने दुवै क्षेत्रको संयुक्त आर्थिक आकार विश्व अर्थतन्त्रको करिब पाँच भागको एक भाग बराबर छ । यस्तो विशाल बजार, आर्थिक सम्भावना र विकासको अवसरले विश्व व्यवस्थाको विकास क्रममा समेत गहिरो प्रभाव पार्छ’ उनले भने।
सन् २०२६ चीनको १५औँ पञ्चवर्षीय योजनाको सुरुवातको वर्ष र नेपालमा नयाँ सरकारको पहिलो वर्ष भएकाले दुई देशबिच रणनीतिक समन्वय तथा एकीकृत विकासका लागि थप अवसर सिर्जना भएको उनले बताए।
चीन नेपालसँग मिलेर दुवै देशका नेताबिच भएका महत्त्वपूर्ण समझदारी कार्यान्वयन गर्न, उच्च गुणस्तरको बेल्ट एन्ड रोड सहकार्यलाई थप फराकिलो बनाउन तथा विभिन्न क्षेत्रमा व्यावहारिक सहयोग विस्तार गर्न तयार रहेको समेत उनले बताए।



