Oct 28 2026 | २०८३ कार्तिक १२ गते

युक्रेनमा रुसको भीषण आक्रमण : मर्नेको सङ्ख्या १७ पुग्यो

युक्रेनमा रुसको भीषण आक्रमण : मर्नेको सङ्ख्या १७ पुग्यो

बुधवार, श्रावण २० २०८३
  • काठमाडौँ। रुसले युक्रेनको राजधानी किभ र आसपासका क्षेत्रमा बुधबार मध्यरातपछि ब्यालिस्टिक क्षेप्यास्त्र तथा ड्रोनमार्फत व्यापक आक्रमण गर्दा मर्नेको सङ्ख्या कम्तीमा १७ जना पुगेको छ । यी आक्रमणमा ४५ भन्दा बढी व्यक्ति घाइते भएका छन्।

    यस वर्ष किभ क्षेत्रमा भएको सबैभन्दा घातक आक्रमणमध्ये एक मानिएको सो घटनापछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले पर्याप्त क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली उपलब्ध भएको भए धेरै नागरिकको ज्यान बचाउन सकिने बताएका छन्।

    images

    युक्रेनी आपत्कालीन सेवाका अनुसार किभ सहरमा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । त्यसैगरी राजधानी आसपासको क्षेत्रमा १६ जनाको ज्यान गएको र २९ जना घाइते भएको पुष्टि गरिएको छ । उद्धार टोलीले धेरै स्थानमा खोज तथा उद्धार कार्य जारी राखेको छ । केही भवनको भग्नावशेषमा अझै मानिसहरू फसेको हुनसक्ने आशङ्का गरिएको छ।

    आक्रमणका क्रममा आवासीय भवन, रेल स्टेसन, गोदाम र अन्य पूर्वाधारमा ठुलो क्षति पुगेको छ । भीषण विस्फोटपछि विभिन्न स्थानमा आगलागी भएको थियो । युक्रेनको आपत्कालीन सेवाले किएभ क्षेत्रका पाँच स्थानमा लागेको आगो नियन्त्रणमा लिन अग्नि नियन्त्रकहरूले लामो समयसम्म काम गरेको जनाएको छ । आगोले करिब दुई लाख ३० हजार वर्गमिटर क्षेत्र प्रभावित भएको बताइएको छ।

    राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै युक्रेनले लामो समयदेखि आफ्ना साझेदार राष्ट्रहरूसँग थप अमेरिकी प्याट्रियट क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली माग गर्दै आएको स्मरण गराएका छन् । उनले समयमै यस्ता प्रणाली उपलब्ध नहुँदा ठुलो जनधनको क्षति व्यहोर्नुपरेको बताए।

    ‘यदि पर्याप्त अवरोधक क्षेप्यास्त्र उपलब्ध भएका भए धेरै निर्दोष नागरिकको ज्यान बचाउन सकिन्थ्यो । साझेदार राष्ट्रहरूबाट प्रतिरक्षा प्रणाली प्राप्त गर्न ढिलाइ हुँदा यस्तो दुःखद क्षति भइरहेको छ,’ उनले भने।

    युक्रेनको वायुसेनाका अनुसार रुसले यस आक्रमणमा २४ वटा ब्यालिस्टिक क्षेप्यास्त्र, ४ वटा जहाज विरोधी क्षेप्यास्त्र तथा ११५ वटा ड्रोन प्रयोग गरेको थियो । तीमध्ये ९८ वटा ड्रोनलाई युक्रेनी हवाई प्रतिरक्षा प्रणालीले खसाल्न सफल भएको दाबी गरिएको छ । तर रातभरको आक्रमणमा प्रहार गरिएका ब्यालिस्टिक क्षेप्यास्त्रमध्ये कुनै पनि रोकेको जानकारी सार्वजनिक गरिएको छैन।

    विशेषज्ञहरूका अनुसार ब्यालिस्टिक क्षेप्यास्त्रलाई रोक्न अत्याधुनिक प्रतिरक्षा प्रणाली आवश्यक पर्ने भएकाले युक्रेन अहिले त्यस्तो क्षमताको अभावसँग सङ्घर्ष गरिरहेको छ । सोही कारण रुसले पछिल्लो समय ब्यालिस्टिकप्रयोग क्षेप्यास्त्रको बढाउँदै आएको बताइन्छ।

    उता,रुसी रक्षा मन्त्रालयले भने आक्रमण सैन्य उद्देश्यलाई लक्षित बनाएर गरिएको दाबी गरेको छ । मन्त्रालयका अनुसार किभ र आसपासका क्षेत्रमा रहेका हतियार भण्डारण केन्द्र, सैन्य सामग्री आपूर्ति केन्द्र तथा ड्रोन उत्पादन र वितरणसँग सम्बन्धित संरचनामाथि आक्रमण गरिएको हो।

    रुसले कृष्ण सागरस्थित ओडेसा बन्दरगाह नजिक रहेका तीन वटा मालवाहक जहाजलाई पनि निशाना बनाएको जनाएको छ । ती जहाजले हतियार तथा सैन्य उपकरण ढुवानी गरिरहेको दाबी रुसी पक्षले गरेको छ । युक्रेनी पक्षले भने यसबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन।

    किभका मेयर भिताली क्लिच्कोले उद्धार टोलीले भग्नावशेष हटाउने काम जारी राखेको र केही मानिस अझै भवनभित्र फसेको हुन सक्ने आशङ्का रहेको बताएका छन् । उनले नागरिकलाई सतर्क रहन र हवाई आक्रमणको चेतावनी पालना गर्न आग्रह गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार