Oct 28 2026 | २०८३ कार्तिक १२ गते

डढेलो नियन्त्रणमा कस्ता प्रविधि पछ्याइरहेको छ युरोप ?

डढेलो नियन्त्रणमा कस्ता प्रविधि पछ्याइरहेको छ युरोप ?

बुधवार, श्रावण २० २०८३
  • काठमाडाैँ। स्पेन र पोर्चुगलका जंगल तथा ग्रामीण क्षेत्रमा यस गर्मीयाममा डढेलो फैलिँदा लाखौँ मानिस घर छाडेर सुरक्षित स्थानमा जान बाध्य भए । डढेलो नियन्त्रणमा अग्निनियन्त्रक र पानी खसाल्ने विमान परिचालन गरिएका डरलाग्दा दृश्य अहिले चिर–परिचित बनेका छन्।फ्रान्समा मात्रै यस गर्मीयाममा डढेलो नियन्त्रणका क्रममा चार जनाले ज्यान गुमाइसकेका छन् भने थप १५० जना घाइते भएका छन्।

    अब प्रश्न उठ्छ– डढेलो नियन्त्रणका लागि अझै पनि मानिस र ३० वर्ष पुराना विमानहरू किन प्रयोग भइरहेका छन् ? युक्रेनमा ड्रोनले सैनिकहरूका केही काम गर्न सक्छन् भने अग्निनियन्त्रकको काममा ड्रोनको प्रयोग गर्न किन सकिँदैन ?

    images

    गिरोन्द क्षेत्रमा २४ वर्षदेखि अग्निनियन्त्रकका रूपमा काम गर्दै आएका प्रमुख सार्जेन्ट गिलाउम मिलेले फ्रान्समा यस गर्मीयाममा डढेलोबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमा रहेको ‘सीएफडीटी’ युनियनको अग्नि तथा उद्धार सेवा शाखाको नेतृत्व गरिरहेका छन् । उनका अनुसार आगो नियन्त्रण गर्ने प्रविधिमा धेरै परिवर्तन आएको छैन, तर जंगलमा आगो पत्ता लगाउने प्रविधिमा भने ठुलो परिवर्तन आएको छ।

    ‘विशेषगरी मेरो क्षेत्रमा भएको ठुलो परिवर्तन भनेको अहिले हामीसँग एआईको सहयोगमा सञ्चालन हुने क्यामेरा छन्, जसले जंगलमा निगरानी राख्छन् र कहाँबाट आगो सुरु भइरहेको छ भनेर पत्ता लगाउँछन्,’ मिलेले भने। उनका अनुसार गिरोन्दमा गर्मीयामभरि हरेक सहरका निगरानी टावरमा बसेर जंगल हेर्ने मानिसको स्थान अब क्यामेराले लिएका छन् । ती निगरानीकर्तामध्ये धेरैजसो विद्यार्थी हुने गरेका थिए । यस परिवर्तनले ‘भ्रामक चेतावनी’ अर्थात् गलत रूपमा आगो लागेको सूचना आउने घटना घटाएको उनको भनाइ छ । ‘एआईको सहयोगमा चल्ने क्यामेराले खेतमा ट्र्याक्टर चल्दा उडेको धुलो र धुवाँबिच लगभग पूर्ण निश्चितताका साथ फरक छुट्याउन सक्छ,’ उनले भने।

    frie-control-europe2

    यी क्यामेराको पहुँच पनि प्रभावशाली छ । तिनले २० किलोमिटर टाढासम्म लागेको आगो पत्ता लगाउन सक्छन्। 

    सुरुमै आगो पत्ता लगाउनु निर्णायक

    आगो सुरुमै पत्ता लगाउनु अत्यन्त महत्त्वपूर्ण हुन्छ । एकपटक आगो ठुलो रूपमा फैलिसकेपछि त्यसलाई नियन्त्रण गर्न निकै कठिन हुन्छ । गिरोन्दमा यो प्रणाली मिडगार्ड नामक कम्पनीले जडान गरेको हो । फ्रान्सका अन्य क्षेत्रमा भने फायरट्र्याकिङ नामक अर्को फ्रान्सेली स्टार्टअपले यस्तै प्रविधि प्रयोग गरिरहेको छ।

    फायरट्र्याकिङका प्रमुख कार्यकारी अधिकृत जाँ सिमोन सोडियरका अनुसार प्रणालीले आगो पत्ता लगाउनेबित्तिकै अग्निनियन्त्रकहरूको मोबाइलमा सूचना पुग्छ । ‘उनीहरूले एप्लिकेसन खोल्छन् र क्यामेराले देखिरहेको दृश्य ४० गुणासम्म जुम गरेर हेर्न सक्छन्,’ उनले बताए, ‘त्यस वास्तविक समयको भिडियोसँगै आगो लागेको ठ्याक्कै स्थान, नजिकै रहेका घरहरूको अवस्थिति र मौसम, हावाको आद्रतालगायत आधारमा आगो मिनेट–मिनेटमा कति फैलिन सक्छ भन्ने अनुमानसहितको मुल्याङ्कन पनि हुन्छ । र, हरेक मिनेट महत्त्वपूर्ण हुन्छ’

    ‘उदाहरणका लागि, पछिल्ला १० दिनमा एक अग्निनियन्त्रकबाट हामीले पाएको प्रतिक्रियाअनुसार हाम्रो एआईले पहिलो फोन आउनुभन्दा १५ मिनेटअघि सात वटा आगो पत्ता लगाएको थियो,’ सोडियरले थपे । ‘यदि तपाईंले अग्निनियन्त्रकको लागि १५ मिनेट समय बचाउन सक्नुभयो भने त्यसले ठुलो विपत्तिलाई दुई–तीन हेक्टरको क्षेत्रफलमा सीमित गर्न सक्छ।’उनका अनुसार एक मिनेटपछि एक गिलास पानीले आगो निभाउन सकिन्छ, दुई मिनेटपछि एक ट्यांकी पानी चाहिन्छ र तीन मिनेटपछि क्यानाडेयर विमान पठाउनुपर्ने हुन्छ।

    क्यानाडेयर भनेका नदी, ताल र समुद्रबाट पानी भरेर आगो लागेको स्थानमा खसाल्ने ‘हाइब्रिड’ विमान हुन्। फ्रान्ससहित विश्वका धेरै ठाउँमा जंगलको डढेलो नियन्त्रणमा यस्ता विमान अग्रपंक्तिमा प्रयोग हुँदै आएका छन्। 

    क्यामेराले मानिसको स्थान लिँदै

    फायर ट्र्याकिङका क्यामेराले अहिले मुख्यतः फ्रान्समा करिब १० लाख हेक्टर क्षेत्रको निगरानी गरिरहेका छन् । यसको लागत पनि कम छैन । फ्रान्सको आन्द्र–ए–लोआर क्षेत्रमा कम्पनीले आगो पत्ता लगाउने ११ वटा केन्द्र स्थापना गरेको छ । सोडियरका अनुसार ६ हजार वर्गकिलोमिटर क्षेत्रफल ढाक्न कुल १२ लाख युरो खर्च भएको छ । यो क्षेत्र मुख्यतः कृषि भूमि हो । यहाँ बालीमा लाग्ने आगो ठुलो र खर्चिलो समस्या रहेको उनले बताए । उनका अनुसार यस क्षेत्रमा मात्रै वर्षमा करिब ३०० वटा बाली आगलागीका घटना हुने गरेका छन् । 

    frie-control-europe4

    आगामी वर्षहरूमा एआईमा आधारित आगो पहिचान प्रविधि अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ । फ्रान्सेली नागरिक सुरक्षा सेवाले ‘कन्डोर’ नामक कार्यक्रम सञ्चालन गरिरहेको छ । यसअन्तर्गत सौर्य ऊर्जाबाट चल्ने ड्रोनको परीक्षण भइरहेको छ । तिनले विद्युतीय–अप्टिकल क्यामेरा र एआईको प्रयोग गर्दै निरन्तर गस्ती गर्नेछन्।

    रुखहरूबिच सेन्सर जडान गर्ने परियोजनाहरू पनि सञ्चालनमा छन् । उदाहरणका लागि स्पेनको ‘सेनफोरफायर’ परियोजनाले आगोको ज्वाला देखिनुअघि नै निस्कने ग्यास मापन गर्छ।

    ड्रोनले अग्निनियन्त्रकको स्थान लिन सक्छ ?

    ड्रोनको हकमा भने अग्निनियन्त्रक मिलेले फ्रान्समा समुद्री उद्धारका लागि ड्रोनको परीक्षण भइरहेको बताए । यस्ता ड्रोनले जीवनरक्षक सामग्री र उद्धार सामग्री खसाल्न सक्छन् । तर डढेलो नियन्त्रणका लागि त्यही स्तरमा पुगेको ड्रोन प्रविधि अहिलेसम्म विकास भइसकेको छैन । ‘वास्तवमा यस क्षेत्रमा प्रविधिको उपयोगिता निकै सीमित छ,’ मिले भन्छन्, ‘यसले आगो पत्ता लगाउन हामीलाई सहयोग गर्न सक्छ, तर आगो निभाउने प्रविधि भने होइन । जंगलभित्र पाइप तानेर आगो भएको ठाउँसम्म पुग्न र त्यसलाई नियन्त्रण गर्न मानिस नै आवश्यक हुन्छ।’

    frie-control-europe3

    उनका अनुसार विमानले समेत अग्निनियन्त्रकलाई पूर्ण रूपमा विस्थापित गर्न सक्दैनन् । ‘क्यानाडेयर विमानले डढेलोमा एकैपटक ६ हजार लिटर पानी खसाल्दा आगोको तीव्रता कम हुन्छ । तर त्यसपछि जमिनमा रहेका अग्निनियन्त्रकहरूले क्यानाडेयरले सुरु गरेको काम पूरा गर्नुपर्छ।’

    फ्रान्सेलीहरू अहिले आगोको अगाडि अमोनियम फस्फेटयुक्त सुन्तला रङको पाउडर छर्कने ड्यास विमानमा पनि अभ्यस्त हुँदैछन् । यसले वनस्पतिमा आगो छिटो फैलिन नदिन मद्दत गर्छ । तर त्यो पनि जमिनमा रहेका अग्निनियन्त्रकले गर्ने शारीरिक मेहनत र पानीको प्रयोगको विकल्प भने होइन । कम्तीमा अहिलेका लागि त होइन ।

    भारी ड्रोनको विकास

    फ्रान्सेली स्टार्टअप डाइडेलोसले ठुलो क्षमताको पेट्रोल इन्जिनयुक्त ड्रोन विकास गर्न लगानी जुटाउने प्रयास गरिरहेको छ । यदि यो परियोजना सफल भयो भने उक्त ड्रोन आगोमाथि स्थिर रूपमा उडेर एकैपटक १.२ टन पानी छर्कन सक्षम हुनेछ । केही कम्पनीले अत्यधिक तापक्रममा पुग्नेबित्तिकै विस्फोट हुने विशेष उपकरण बोक्ने ड्रोन पनि विकास गरिरहेका छन् । ती उपकरणले वरपरको क्षेत्रमा आगो निभाउने रसायनिक पाउडर फैलाउनेछन्, जसले आगोको ताप घटाउनुका साथै दहन प्रक्रिया अवरुद्ध गर्नेछ।

    frie-control-europe

    यसको उद्देश्य स्वचालित प्रारम्भिक प्रतिक्रिया प्रणाली विकास गर्नु हो । जंगलमा आगो पत्ता लाग्ने र ड्रोन परिचालन हुने प्रक्रिया यति छिटो बनाउने लक्ष्य छ कि आगो फैलिन सुरु हुदैँ त्यसलाई निभाउन सकियोस् । तर, आगो ठुलो डढेलोका रूपमा फैलिइसकेपछि यस्तो प्रणालीले खासै प्रभावकारी काम गर्न सक्ने छैन।

    फ्रान्सेली अनुसन्धानकर्ताहरू आगोको ज्वालानजिकै उड्न सक्ने ड्रोनमा पनि काम गरिरहेका छन् । त्यस्ता ड्रोनको मुख्य उद्देश्य आगो निभाउनु होइन, अग्निनियन्त्रकहरू घटनास्थलमा प्रवेश गर्नुअघि आवश्यक जानकारी संकलन गर्नु हो।यसले धुवाँ, अचानक हुने मौसम परिवर्तन, जलिरहेका रुख वा भवन ढल्ने जोखिमलगायत विषयमा जानकारी उपलब्ध गराउन सक्छ।

    प्रविधिले सहयोग गर्छ, तर मानिसको विकल्प होइन

    प्रविधिले अग्निनियन्त्रकहरूलाई आगो अझ छिटो पत्ता लगाउन र प्रभावकारी रूपमा प्रतिक्रिया दिन सहयोग गरिरहेको छ । भविष्यमा यसले उनीहरूको कामलाई अझ सुरक्षित बनाउन पनि सक्छ । तर गिरोन्दका अग्निनियन्त्रक गिलाउम मिलेका अनुसार प्रविधिले अग्निनियन्त्रकलाई नै विस्थापित गर्ने सम्भावना भने निकै कम छ । ‘आगो निभाउने काम अन्ततः जमिनमा रहेका अग्निनियन्त्रकहरूले नै गर्छन् । उनीहरूले पाइप तानेर आगोसम्म पुग्छन् र त्यसलाई निभाउँछन्,’ उनले भने।

    उनका अनुसार सन् १६७० को दशकमा नेदरल्यान्ड्समा पहिलो आधुनिक अग्नि नियन्त्रण दस्ता स्थापना भएदेखि नै यही अवस्था रहँदै आएको छ, ‘यो अवस्था छिट्टै परिवर्तन हुने देखिँदैन।’

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार