काठमाडौं । इजरायलमा रोजगारीमा पठाउने श्रमिकको भर्ना प्रक्रियामा जालझेल भएको समाचार प्रकाशन भएपछि सरकार आवेदन खुल्ला गर्न र विभाग म्याद थप्न बाध्य भएको छ ।
समाचार प्रकाशन भएपछि ब्रिटिस काउन्सिलले फाउन्डेसन इंग्लिस टेस्ट (एफईटी) को परीक्षा आवेदन खुला खुला ग¥यो भने सरकारले इजरायलमा केयर गिभरको रुपमा काम गर्न जान इच्छुकसँग आवेदन लिने अन्तिम मिति पनि १० दिन थप्यो ।
गत असार ११ गते ८०० जनाको श्रमिक छनोटका लागि आह्वान गरेको सूचनाअनुसार २१ दिने सूचना जारी गरिएको थियो । विभागका महानिर्देशक डण्डुराज घिमिरेका अनुसार १ साउनसम्म ब्रिटिस काउन्सिलमा भाषा परीक्षाको टेस्टको आवेदन दिन पाइनेछ । यसअघि काउन्सिलले २१ असारदेखि भाषा परीक्षाको आवेदन बन्द गरेको थियो ।
ब्रिटिस काउन्सिलको प्रमाण पत्र मागिएको २१ दिनको सूचना निकालेर परीक्षा लिन चाहँदा पनि दिनै नपाइने अवस्था बनाइएपछि सरकारमाथि औंला तेर्सिएको थियो । अन्ततः सरकार आफ्नो पूर्व निर्णयबाट पछि हट्दै परीक्षा आवेदन खुला गर्न र विभाग आवेदनको म्याद थप्न बाध्य भयो ।



