काठमाडैँ। रुसले बिहीबार युक्रेनमाथि गरेको हवाई आक्रमणमा कम्तिमा १३ जनाको मृत्यु भएको छ । यस घटनामा किभमा एक जनाको मृत्यु भएको बताइएको छ । आक्रमण पश्चिमी शहर लभिभसम्म भएको थियो । यस्तोमा छिमेकी देश पोल्यान्ड आफ्नो हवाई क्षेत्रलाई सुरक्षित राख्न फाइटर जेट तयार राख्न बाध्य भएको थियो।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकाबाट फर्किएपछि यी आक्रमण भएका हुन् । आफूसँग भेटको क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई प्याट्रियोट मिसाइल उपलब्ध गराउन सहमत भएको जेलेन्स्कीले बताएका थिए । युक्रेनको अधिकांश क्षेत्रमा हवाई रेड अलर्ट सुनिएका थिए । केही गैर–आवासीय स्थलमा आगो लागेको किभका मेयर भिताली क्लित्श्कोले टेलिग्राममा भनेका थिए।
युक्रेनको राजधानी किभमा एक जनाको मृत्यु भएको र दुई जना घाइते भएको आपतकालीन सेवाले जनाएको छ । त्यसैगरी ड्निप्रोपेत्रोभ्स्क ओब्लास्ट र पोल्टाभा ओब्लास्ट मा दुई बालबालिकासहित थप ६ जनाको ज्यान गएको छ ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको जन्मसहर क्रिभी रिहमा भएको आक्रमणमा ५ र १२ वर्षका दुई बालिका सहित ६ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।
क्रिभी रिहको रक्षा परिषद्का प्रमुख ओलेक्सान्द्र विल्कुल का अनुसार रुसले इस्कान्देर–एम ब्यालिस्टिक मिसाइल प्रयोग गरी ठूलो परिवार बस्ने घरमा प्रत्यक्ष प्रहार गरेको थियो । उनले टेलिग्राममार्फत भने, ‘यो अत्यन्तै अँध्यारो रात थियो।’उनका अनुसार मिसाइल रुसको भोरोनेझ ओब्लास्ट बाट प्रक्षेपण गरिएको थियो। भग्नावशेष हटाउने काम जारी रहेकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने चेतावनी पनि उनले दिएका छन्।
पश्चिमी युक्रेनको ल्भिभमा पनि रुसका मिसाइलले दुईवटा अपार्टमेन्ट भवनमा क्षति पुर्याएको छ। त्यहाँ कम्तीमा १५ जना घाइते भएका छन्, र उद्धारकर्मीहरू भग्नावशेषमा फसेकाहरूको खोजीमा जुटेका छन्। आक्रमणअघि राष्ट्रपति जेलेन्स्कीले ठूलो रूसी आक्रमण हुन सक्ने चेतावनी दिँदै युक्रेनी नागरिकको सुरक्षा सहयोगी राष्ट्रहरूले उपलब्ध गराउने हवाई प्रतिरक्षा प्रणालीमा निर्भर रहेको बताएका थिए।



