काठमाडौँ। युरोपेली विमान निर्माता एयरबसले अस्ट्रेलियाको मेलबर्नबाट फ्रान्सको टुलुजसम्म २४ घण्टा २४ मिनेट लामो ननस्टप परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ।
यो उडान विश्वकै सबैभन्दा लामो व्यावसायिक यात्रुवाहक हवाई सेवाको तयारीका लागि महत्त्वपूर्ण उपलब्धि मानिएको छ। विशेष रूपमा परिमार्जित ए ३५०–१००० यूएलआर (अल्ट्रा लङ रेन्ज) विमानले बिचको कुनै पनि विमानस्थलमा अवतरण नगरी २३ हजार ७५ किलोमिटर दूरी पार गर्दै टुलुजस्थित एयरबस कारखानामा सुरक्षित अवतरण गरेको हो।
यो परीक्षण क्वान्टास एयरवेजको प्रोजेक्ट सनराइजअन्तर्गत गरिएको हो। उक्त परियोजनाको उद्देश्य अस्ट्रेलिया र युरोपबिचको यात्रालाई बिचमा कतै नरोकी सीधा उडानमार्फत सञ्चालन गर्नु हो। एयरबसका अनुसार परीक्षणमा प्रयोग गरिएको विमानमा अतिरिक्त क्षमताको इन्धन ट्यांकी जडान गरिएको छ। यही मोडेलको विमान प्रयोग गरेर क्वान्टासले सन् २०२७ देखि सिड्नी–लन्डन ननस्टप व्यावसायिक उडान सुरु गर्ने योजना बनाएको छ।
कम्पनीले यस्ता १२ वटा परिमार्जित ए ३५०–१००० यूएलआर विमान अर्डर गरिसकेको छ। यी विमानहरूले अस्ट्रेलियाको पूर्वी तटलाई लन्डन र न्यूयोर्कसँग करिब २० घण्टाको प्रत्यक्ष उडानमार्फत जोड्ने लक्ष्य राखेका छन्। उडान ट्र्याकिङ सेवा फ्लाइटराडार२४ का अनुसार यो उडान इतिहासकै दोस्रो सबैभन्दा धेरै पछ्याइएको उडान बनेको छ । विश्वभरका ३६ लाखभन्दा बढी मानिसहरूले विमानको यात्रा प्रत्यक्ष रूपमा ट्र्याक गरेका थिए।
यसअघि सन् २००५ मा बोइङ ७७७–२०० एलआर वर्ल्डलाइनरले हङकङबाट लन्डनसम्म २२ घण्टा ४२ मिनेट मा २१ हजार ६०१ दशमलव ७ किलोमिटर दूरी पार गर्दै लामो परीक्षण उडानको कीर्तिमान बनाएको थियो। एयरबसको पछिल्लो परीक्षण उडानले त्यसभन्दा बढी दूरी र बढी समय लगातार आकाशमा बिताएको छ।
नयाँ ए ३५०–१००० यूएलआर विमानमा २०,००० लिटर अतिरिक्त इन्धन बोक्ने क्षमता थपिएको छ। यसमा २३८ जना यात्रु बस्न सक्ने व्यवस्था छ। क्वान्टासले पहिलो विमान अप्रिल २०२७ मा प्राप्त गर्ने अपेक्षा गरेको छ भने अक्टोबर २०२७ देखि सिड्नी–लन्डनबिच दैनिक ननस्टप व्यावसायिक उडान सञ्चालन गर्ने लक्ष्य राखेको छ। यस परियोजनाले एक समय पाँच दिनसम्म लाग्ने अस्ट्रेलिया–लन्डन यात्रा अब करिब १९ देखि २१ घण्टामै पूरा गर्ने सम्भावना खोल्ने विश्वास गरिएको छ।



