काठमाडौं । यही २०२४ को १४ जुलाईदेखि १२ सेप्टेम्बरसम्म कुवेतका घरेलु कामदारले आफ्नो भिसा निजी क्षेत्रमा परिवर्तन गर्नसक्ने कानुन ल्याएको छ । कुवेतका उपप्रधान एवं रक्षा र आन्तरिकमन्त्री शेख फहाद अल–युसुफ अल–सबाहले घरेलु कामदार (भिसा २०)लाई निजी क्षेत्र (भिसा १८)मा परिवर्तन गर्ने निर्णय गरेका हुन् । तर यसको लागि आफ्नो रोजगारदाताको स्वीकृति भने अनिवार्य रपमा प्राप्त गर्नुपर्नेछ । यसका अलावा भिसा परिवर्तनको निम्ति रोजगारदाताकामा काम गरेको कम्तीमा १ वर्ष हुनुपर्ने प्रावधान समेत कुवेतले राखेको छ ।
नयाँ सम्झौताका लागि प्रत्येक वर्षका लागि १० कुवेती दिनार शुल्क लाग्नेछ भने स्थानान्तरणका लागि ५० केडी शुल्क तोकिएको छ । यसका प्रावधानहरू कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइने मन्त्रालयले जनाएको छ । यस नयाँ नियमले कुवेतभित्र घरेलु कामदारहरूको आवागमनलाई नियमन गर्न महत्वपूर्ण कदम हुने मन्त्रालयले विश्वास लिएको छ । यो प्रावधान लागू भएपछि त्यहाँ रहेका हजारौं नेपाली घरेलु कामदार लाभान्वित हुनुका साथै घरेलु कामदारमाथि हुने हिंसाको घटनामा समेत उल्लेख्य रुपमा कमी आउने अपेक्षा गरिएको छ ।
अहिले कुवेतमा कुवेतमा २५ हजारभन्दा बढी नेपाली महिला घरेलु कामदार रहेकोमा हरेक दिन १० देखि १५ जना नेपाली महिलाले आफूलाई घर मालिकले बन्धक बनाएको भन्दै उद्धारका लागि आग्रह गर्ने गरेका छन् । केही महिनाअघि कुवेतले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार त्यहाँ २५ हजारभन्दा धेरै नेपाली महिलाले घरेलु कामदारका रूपमा काम गर्ने गरेको जनाएको थियो ।
नेपालले कुवेतमा घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएको भएपनि दलालरूले विभिन्न प्रलोभन देखाएर कामदार पठाउने गरेका छन् । हाल कुवेतमा १ लाख ७ हजार बढी नेपाली कामदार कार्यरत रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।



