Oct 28 2026 | २०८३ कार्तिक १२ गते

युक्रेनले क्यास्पियन सागरमा इरानी जहाजमाथि आक्रमण गरेपछि तनाव

युक्रेनले क्यास्पियन सागरमा इरानी जहाजमाथि आक्रमण गरेपछि तनाव

मंगलवार, श्रावण १२ २०८३
  • काठमाडौँ। युक्रेनले क्यास्पियन सागरमा इरानी मालवाहक जहाजलाई लक्षित गरी गरेको आक्रमणपछि आएको इरानको प्रतिरोधात्मक धम्कीलाई अस्वीकार गरेको छ । शनिबार भएको उक्त घटनाले युक्रेन–रुस युद्ध र इरानसँग सम्बन्धित क्षेत्रीय तनावबिच पहिलो प्रत्यक्ष सम्बन्ध स्थापित गरेको मानिएको छ।

    युक्रेनका विदेशमन्त्री आन्द्री सिबिहाले सामाजिक सञ्जाल एक्समार्फत इरानका धम्कीहरू निराधार र अनुचित भएको बताएका छन् । उनका अनुसार तेहरानले सन २०२२ देखि रुसलाई हतियार उपलब्ध गराएर युक्रेनविरुद्धको आक्रमणमा प्रत्यक्ष सहयोग गर्दै आएको छ।

    images

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार क्यास्पियन सागर क्षेत्रमा गरिएको लामो दूरीको आक्रमण अत्यन्त सफल भएको बताएका थिए । उनले इरानसँग सम्बन्धित सैन्य सामग्री ढुवानी गर्ने जहाजहरूलाई पनि निशाना बनाइएको जानकारी दिएका थिए । युक्रेनको सुरक्षा सेवा एसबीयूका अनुसार ड्रोन आक्रमणबाट उत्तरी क्यास्पियन सागरस्थित एक तेल प्लेटफर्म, रुसी क्षेप्यास्त्र डुङ्गा तथा अन्तर्राष्ट्रिय प्रतिबन्धमा परेका सैन्य सामान बोक्ने मालवाहक जहाजहरूमा क्षति पुगेको छ।

    रुसका लागि इरानी राजदूत काजेम जलालीका अनुसार आक्रमणको समयमा अन्ना नामक जहाज भोल्गा नदीको मुखबाट करिब पाँच किलोमिटर टाढा लंगर हालेर बसेको थियो । इजरायलका लागि युक्रेनका राजदूत येभहेन कोर्नियचुकले उक्त जहाजले सर्वसाधारणका लागि सामान नभई इरानबाट रुसतर्फ ड्रोन र क्षेप्यास्त्रका पुर्जाहरू ढुवानी गरिरहेको दाबी गरेका छन्।

    इजरायली सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा उनले युक्रेन र इजरायलले फरक–फरक मोर्चामा एउटै दुष्ट गठबन्धनको सामना गरिरहेको बताए । रुस र इरानबीच पछिल्ला वर्षहरूमा घनिष्ठ सैन्य सम्बन्ध कायम छ । इरानले सन २०२२ देखि आफ्नै उत्पादनका शाहेद ड्रोनहरू रुसलाई उपलब्ध गराउन थालेको थियो । ती ड्रोनलाई परिमार्जन गरेर रुसले युक्रेनका विभिन्न सहरमा आक्रमण गर्दै आएको छ । जेलेन्स्कीले हालैको एक अन्तर्वार्तामा इरानले रुसलाई ब्यालिस्टिक क्षेप्यास्त्र पनि उपलब्ध गराउने तयारी गरिरहेको दाबी गरेका थिए । विभिन्न प्रतिवेदनअनुसार छोटो दूरीका क्षेप्यास्त्र भने सन २०२४ देखि नै रुसलाई आपूर्ति हुन थालेका थिए।

    उता युक्रेनले पनि पछिल्ला महिनाहरूमा केही खाडी राष्ट्रहरूमा आफ्ना सैन्य विज्ञहरू पठाएर इरानी ड्रोन आक्रमणविरुद्ध सुरक्षा क्षमता बढाउन सहयोग गरिरहेको जनाएको छ । क्यास्पियन सागर रुस र इरानबिचको अत्यन्त महत्त्वपूर्ण सैन्य तथा आपूर्ति मार्ग मानिन्छ । युक्रेनले लामो समयदेखि इरानले उपलब्ध गराएका ड्रोनका कारण सयौँ युक्रेनी नागरिक मारिएको आरोप लगाउँदै आएको थियो । तर इरानी जहाजलाई प्रत्यक्ष रूपमा निशाना बनाएको यो पहिलो घटना मानिएको छ।

    आक्रमणपछि इरानले कडा प्रतिक्रिया जनाउँदै एक नाविकको मृत्यु भएको र अन्य केही घाइते भएको जनाएको छ । इरानको विदेश मन्त्रालयले आफूले रुस–युक्रेन युद्धमा कहिल्यै हस्तक्षेप नगरेको दाबी गरेको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले उक्त आक्रमणलाई संयुक्त राष्ट्रसंघको बडापत्रको खुला उल्लङ्घन भएको आरोप लगाएका छन् । उनका अनुसार यो हमला इजरायलको उक्साहटमा युरोपलाई युद्धमा तान्ने उद्देश्यले गरिएको हो। उनले यस घटनाको जवाफ अवश्य दिइने चेतावनी पनि दिएका छन्।

    यसको जवाफमा युक्रेनका विदेशमन्त्री सिबिहाले अराघचीको अभिव्यक्तिलाई इरानी झूटको संज्ञा दिएका छन् । साथै उनले इरानले युक्रेनी बन्दरगाहबाट अन्न बोकेर गइरहेका जहाजमाथि रुसले गरिरहेका आक्रमणबाट विश्वको ध्यान मोड्न खोजेको आरोप पनि लगाए।

    युक्रेनले पछिल्ला महिनाहरूमा रुसको तथाकथित छद्म नामधारी तेल ट्यांकरहरूको सञ्जालका ट््याङ्करलाई पनि निरन्तर निशाना बनाइरहेको छ । तेल भण्डारण केन्द्र र अन्य रणनीतिक पूर्वाधारमाथिका लामो दूरीका आक्रमणमार्फत रुसको आर्थिक स्रोत कमजोर बनाउने अभियानलाई राष्ट्रपति जेलेन्स्कीले लामो दूरीको प्रतिबन्ध अभियानको नाम दिएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार