काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लाल सागरमा दुई साउदी तेल ट्याङ्करमाथि भएको आक्रमणपछि इरान र यमनका हुथी विद्रोहीलाई कडा सैन्य सजाय दिने चेतावनी दिएका छन् । हुथी समूहले आफूहरूले ती ट्याङ्करलाई क्षेप्यास्त्र र ड्रोनमार्फत आक्रमण गरेको दाबी गरेको छ।
यस घटनाले पश्चिम एसियाको युद्ध अर्को महत्त्वपूर्ण समुद्री व्यापार मार्गसम्म फैलिएको छ । यस आक्रमणपछि विश्वव्यापी तेल आपूर्तिमा असर पर्ने चिन्ताले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ । ब्रेन्ट क्रुडको भाउ ६ प्रतिशतभन्दा बढी बढ्दै प्रति ब्यारेल १०० अमेरिकी डलर नाघेको छ । ब्रेन्टको भाउ यो स्तरमा पुगेको मे महिनायता पहिलो पटक हो।
अस्थायी युद्धविराम प्रभावहीन बनेको दुई सातापछि अमेरिकी सेनाले लगातार १३औँ रात इरानका सैन्य लक्ष्यहरूमा हवाई आक्रमण गरेको छ।
त्यसको प्रत्युत्तरमा इरानले अमेरिकी सैन्य अड्डा रहेका छिमेकी अरब मुलुकतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार स्ट्रेट अफ होर्मुजस्थित केश्म टापुमा पनि क्षेप्यास्त्र आक्रमण भएको छ । अमेरिकी मिसाइल आक्रमणमा इरानको अहभाज सहरमा ४ जनाको मृत्यु भएको र पाँच जना घाइते भएको इरानी सरकारी टेलिभिजनले जनाएको छ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत हुथीहरूले फेरि यस्तै आक्रमण गरे त्यसको जिम्मेवार इरान हुने बताएका छन् । उनका अनुसार हुथीहरू इरानका प्रतिनिधि हुन् । त्यसैले भविष्यमा हुने कुनै पनि आक्रमणको जवाफ इरान र हुथी दुवैलाई सैन्य कारबाहीमार्फत दिइनेछ । उनले समाचार संस्था एक्सियोससँग कुरा गर्दै इरानविरुद्ध ठुलो सैन्य अभियान पुनः सुरु गर्ने विषयमा आफू निर्णयको नजिक पुगेको र इरानले अझै पर्याप्त पीडा भोगिनसकेको बताएका छन् ।
हुथीहरूले भने साउदी अरबविरुद्ध नौसैनिक नाकाबन्दी घोषणा गरेका छन् । इरानले स्टेट अफ होर्मुजमा लगाएको अवरोध छल्न साउदी अरेबियाले पाइप लाइनमार्फत दैनिक लाखौँ ब्यारेल तेल लाल सागरतर्फ पठाउँदै आएको छ । ट्रम्पले सामाजिक सञ्जालमा भविष्यमा मालवाहक जहाजहरूमा हुने सबै क्षतिको क्षतिपूर्ति अमेरिकामा रोक्का रहेका इरानी सम्पत्तिबाट असुल गरिने दाबी गरेका छन्। तर त्यसको प्रक्रिया भने उनले खुलाएका छैनन्।
इरानका विदेशमन्त्री अब्बास अराघचीले ट्रम्पको भनाइको प्रतिक्रिया दिँदै कुनै देशको सम्पत्ति असम्बन्धित दाबीका लागि कब्जा गर्नु अत्यन्त खतरनाक नजिर हुने चेतावनी दिएका छन् । यस्तो कार्य सामान्य अभ्यास बने विश्वव्यापी अराजकता निम्तिने उनले बताएका छन्।
रोयटर्ससँग कुरा गरेका इरान र यमनका स्रोतहरूका अनुसार हुथीहरूले नाकाबन्दी घोषणा गर्नुभन्दा केही दिनअघि इरानले यमनमा इस्लामिक रिभोलुसनरी गार्डका कमान्डर, सैन्य सल्लाहकार तथा क्षेप्यास्त्र र ड्रोनसँग सम्बन्धित उपकरण पठाएको थियो।
हुथी समूहले भने यो दाबी अस्वीकार गरेको छ । हुथीहरूले आफ्नो सेनाले एन्सेलिया र लायला नाम गरेका दुई साउदी तेल ट्याङ्करमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको दाबी गरेका छन्।



