काठमाडौँ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)ले कुवेतस्थित अमेरिकी सैन्य अड्डाहरूमा आक्रमण गरी प्याट्रियट मिसाइल प्रतिरक्षा प्रणाली, सैन्य उपकरण, हेलिकप्टर र ड्रोनमा क्षति पुर्याएको दाबी गरेको छ। यो जानकारी इरानको अर्धसरकारी समाचार संस्था फार्स न्युजले सार्वजनिक गरेको हो।
आईआरजीसीका अनुसार अमेरिकाले स्ट्रेट अफ होर्मुजमा गरेको हस्तक्षेपको प्रतिकारस्वरूप कुवेतको अली अल–सालेम वायुसेना अड्डामा रहेको अमेरिकी सैन्य उपकरण गोदाम र प्याट्रियट मिसाइल प्रणालीलाई लक्षित गरी आक्रमण गरिएको हो।
आईआरजीसीले अर्को अमेरिकी सैन्य अड्डामा रहेका हेलिकप्टर, ड्रोन तथा एउटा दूरसञ्चार टावरमा पनि ठुलो क्षति पुगेको दाबी गरेको छ । यद्यपि यी दाबीहरू स्वतन्त्र रूपमा पुष्टि भइसकेका छैनन् । यसअघि बिहीबार बिहान कुवेतको सेनाले इरानबाट आएको ड्रोन आक्रमणको लहरलाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले सामना गरेको जनाएको थियो । तर त्यसबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
यसैबिच आईआरजीसीले स्ट्रेट अफ होर्मुज हुँदै यात्रा गर्ने प्रयास गरेको एउटा तेल ट्याङ्कर समुद्रमा बिछ्याइएको बारुदी सुरुङमा ठोक्किएपछि आगलागी भएको दाबी पनि गरेको छ । आईआरजीसीले उक्त सुरुङ आफूहरूले नै राखेको दाबी गर्दै स्ट्रेट अफ होर्मुज अझै आफ्नो नियन्त्रणमा रहेको जनाएको छ । आईआरजीसीका अनुसार अमेरिकी सैन्य बलहरू यस क्षेत्रमा रहेसम्म स्ट्रेट अफ होर्मुज सबै तेल ट्याङ्करका लागि बन्द रहनेछ।
तर अमेरिकी सेनाको केन्द्रीय कमाण्ड सेन्टकमले इरानको उक्त दाबी अस्वीकार गरेको छ । सेन्टकमका अनुसार स्ट्रेट अफ होर्मुज अझै अन्तर्राष्ट्रिय जहाजहरूको आवतजावतका लागि खुला छ र अमेरिकी सैन्य सुरक्षासहित व्यापारिक जहाजहरूले नियमित रूपमा उक्त जलमार्ग प्रयोग गरिरहेका छन् । सेन्टकमले इरानी बन्दरगाहहरूमा नाकाबन्दी कायम रहे पनि स्ट्रेट अफ होर्मुज पूर्ण रूपमा बन्द भएको भन्ने इरानको दाबी सही नभएको स्पष्ट पारेको छ।



