Oct 29 2026 | २०८३ कार्तिक १३ गते

शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता

बिहिवार, आषाढ ३२ २०८३
  • काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि जापानी राजदूत मायदा तोरुले बिहीबार शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल–जापानबिचको लामो समयदेखिको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको थियो । साथै, आगामी दिनमा शिक्षा क्षेत्रमा गर्न सकिने सम्भावित सहकार्यका क्षेत्रबारे पनि विचार–विमर्श भएको थियो।

    भेटका क्रममा नेपाल सरकारको प्रवक्ता समेत रहेका मन्त्री पोखरेलले नेपाल र जापानबिचको ऐतिहासिक, मैत्रीपूर्ण तथा विश्वासमा आधारित सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गरे।

    images

    उनले सार्वजनिक शिक्षा सुधारका लागि सरकार प्रतिबद्धताका साथ अघि बढिरहेको उल्लेख गर्दै भने, ‘सार्वजनिक शिक्षा सुधारका चुनौतीहरू छन् । तर चुनौती स्वीकार गर्नु नै सुधारको प्रारम्भिक पूर्वसर्त हो । त्यसका लागि शिक्षा तथा खेलकुद मन्त्रालय पूर्ण रूपमा प्रतिबद्ध छ।’

    मन्त्री पोखरेलले शिक्षामा गरिएको लगानीको प्रतिफल प्राप्त हुन समय लाग्ने भए पनि सुधार र परिवर्तनको प्रक्रिया तत्काल सुरु गर्नुपर्ने धारणा राखे । त्यसको उदाहरण स्वरूप विद्यालयको भौतिक पूर्वाधार मूल्याङ्कनको काम अघि बढाइएको र सोही आधारमा आगामी दिनमा आवश्यकता अनुसार विद्यालयहरूमा बजेट विनियोजन गरिने बताए । साथै, भौतिक पूर्वाधार, शैक्षिक सुविधा तथा शिक्षक तालिमलगायतका क्षेत्रमा मन्त्रालयले प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

    उनले सुरक्षित विद्यालय पूर्वाधार, डिजिटल तथा स्मार्ट लर्निङ, शिक्षकको पेसागत क्षमता विकास, विद्यालय स्वास्थ्य तथा पोषणलगायतका क्षेत्रमा जापान सरकारसँग सहकार्य गर्न सकिने उल्लेख गरे । साथै, जापानमा विद्यालय तहदेखि नै विद्यार्थीलाई सांस्कृतिक मूल्य र अनुशासन सिकाउने अभ्यासबाट नेपालले पनि सिक्न सक्ने र नेपाली संस्कृति, मूल्य–मान्यता तथा सहकार्यको भावना विकास गर्ने कार्यक्रम सञ्चालन गर्न सकिने धारणा राखे । मन्त्री पोखरेलले परिवर्तित सन्दर्भअनुसार नयाँ सोच र सुधारसहित सरकार अघि बढिरहेको उल्लेख गर्दै सम्भावित क्षेत्रमा जापान सरकारसँग सहकार्य गर्न नेपाल तयार रहेको बताए।

    जापानी राजदूत तोरुले सार्वजनिक विद्यालय शिक्षा सुधारका लागि नेपाल सरकारले थालेका प्रयासमा जापान सरकारको निरन्तर सहयोग रहने विश्वास व्यक्त गरे । उनले विद्यालय शिक्षाको सुधार र सुशासनका लागि दीर्घकालीन राजनीतिक प्रतिबद्धता, सक्षम कर्मचारीतन्त्र तथा समग्र प्रणालीको विश्वास आवश्यक हुने उल्लेख गर्दै त्यस किसिमको पहलमा जापानले आवश्यक सहयोग गर्ने बताए।

    उनले गुणस्तरीय विद्यालय शिक्षाका लागि शिक्षक तालिम अपरिहार्य रहेको उल्लेख गर्दै शिक्षा विकास तथा समन्वय इकाइ वा सम्बन्धित निकायलाई शिक्षकको पेसागत विकासका कार्यक्रम सञ्चालनमा प्रभावकारी रूपमा उपयोग गर्न सुझाव दिए।

    राजदूत तोरुले शिक्षा क्षेत्रमा नेपाल सरकारले थालेको सुधारको प्रयास प्रशंसनीय रहेको बताउँदै त्यसको प्रत्यक्ष लाभ आम नागरिकसम्म पुग्नुपर्नेमा जोड दिए। सार्वजनिक शिक्षा सुधारका लागि समग्र शिक्षा प्रणालीमा सुशासन स्थापना गर्न दीर्घकालीन प्रतिबद्धता आवश्यक रहेको उनको भनाइ थियो।

    उनले शिक्षा क्षेत्रमा हुने सुधारले अपेक्षित परिणाम दिन समय लाग्ने भएकाले प्रारम्भिक चरणमै दृढ प्रतिबद्धता र धैर्य आवश्यक रहेको उल्लेख गरे।

    राजदूत तोरुले नीतिगत स्थायित्व, प्रशासनिक सहजीकरण तथा पूर्वाधार विकासलाई थप गति दिन सके जापानी निजी क्षेत्रको नेपालप्रतिको आकर्षण अझ बढ्न सक्ने धारणा राखे । त्यसैगरी, सूचना प्रविधि क्षेत्रमा नेपाल–जापानबिच सहकार्य विस्तार गर्ने प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उनले डिजिटल पूर्वाधार विस्तार, प्राविधिक जनशक्ति विकास, नवप्रवर्तन तथा लगानी प्रवर्द्धनका क्षेत्रमा दुई देशबिच सहकार्यलाई अझ मजबुत बनाउन सकिने बताए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार