Oct 29 2026 | २०८३ कार्तिक १३ गते

वैदेशिक रोजगार

वैदेशिक रोजगारीका लागि ११ महिनामा झण्डै सात लाख नेपाली विदेशिए, कुन देशमा कति ?

वैदेशिक रोजगारीका लागि ११ महिनामा झण्डै सात लाख नेपाली विदेशिए, कुन देशमा कति ?

मंगलवार, आषाढ ४ २०८१
  • काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ६ लाख ८२ हजार पुगेको छ ।

    चालु आव २०८०/८१ को साउनदेखि जेठ मसान्तसम्म वैदेशिक रोजगारीमा ६ लाख ८२ हजार ३८६ जना नेपाली गएका छन् । यो नयाँ र पुनः श्रम स्वीकृति लिएर जाने दुवैको संख्या हो ।

    images

    वैदेशिक रोजगार विभागका अनुसार जेठमा मात्र ७२ हजार ६ सय ८१ जना रोजगारीका लागि विदेश गएका छन् । जसमा ६४ हजार ८ सय ८६ पुरुष र ७ हजार ९ सय ७५ महिला छन् । 

    गत आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगारीमा जानेको संख्या ७ लाख ७१ हजार पुगेको थियो ।

    युएई पहिलो श्रम गन्तव्य

    विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार रोजगारीको प्रमुख गन्तव्य खाडी मुलुक भएको छ भने युएई पहिलो श्रम गन्तव्य बनेको छ । साउनदेखि जेठसम्ममा युएईमा मात्रै १ लाख ७४ हजार ९१७ जनाले श्रम स्वीकृति लिएका छन् । जेठमा मात्र संयुक्त अरब इमिरेट्स (यूएई)मा २० हजार ४२४ जना गएका छन् । 

    यस्तै, जेठसम्म ८७ हजार जना मलेसिया गएका छन् । मेलेसियामा ८ हजार ७५२ जना पुगेका छन् । कतारमा ११ हजार ९७३, साउदी अरबमा १३ हजार ३६६ र कुवेतमा ३ हजार ४३२ जना रोजगारीका लागि पुगेका छन् ।

    यता, जेठ महिनामा क्रोएसियामा २ हजार ९२२ जना, रोमानियामा १ हजार ९४६ जना, साइप्रसमा ८९९, माल्टामा २८१ र प्रोचुगलमा १३९ जना रोजगारीका लागि पुगेका छन् ।

    कुन महिनामा कति गए ?

    विभागका अनुसार चालु आर्थिक वर्षको साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५ र कात्तिकमा ४३ हजार ६२२ रोजगारीका लागि विदेश गएका छन् ।

    त्यस्तै, मंसिरमा ६८ हजार २०१ र पुसमा ६५ हजार ८१३ नेपाली विदेश गएका छन् ।माघमा ६२ हजार १४७, फागुनमा ६५ हजार ६५८, चैतमा ७० हजार ९३३, वैशाखमा ७० हजार ६३७ र जेठमा ७२ हजार ६ सय ८१ जना रोजगारीका क्रममा विदेशिएको तथ्याङ्क छ ।

    दक्ष कामदार कति ? 

    जेठ महिनामा सबैभन्दा धेरै नेपाली काम सिकेर रोजगारका लागि विदेशमा गएको देखिन्छ । जेठमा विदेश गएका ७२ हजार ८ सय ६१ युवाहरू मध्ये ५१ हजार ६ सय २० नेपालीले काम सिकेर गएको देखिएको छ ।  

    यस्तै, १४ हजार ६ सय ३१ नेपालीले भने अदक्ष रूपमै श्रम स्वीकृति लिएको देखिन्छ । जेठमा सेमिस्किल्ड नेपालीको संख्या ६ हजार २६ छ । प्रोफेसनल र हाइस्किल्ड नेपालीको संख्या क्रमशः ४ सय ९० र ९४ रहेको विभागको तथ्याङ्क छ ।

    रेमिट्यान्स पनि बढ्यो

    नेपालबाट कामको खोजीमा विदेशीने युवाको संख्या बढेसंगै विदेशबाट नेपालीले पठाइरहेको रेमिट्यान्स हरेक महिना बढीरहेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेका देशको आर्थिक तथा वित्तीय प्रतिवेदनले देखाएको छ । 

    राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू वर्षको १० महिनाको अवधिमा १९.२ प्रतिशतले बढेर ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार