काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा तथा लोत्से हिमालको सफलतापूर्वक आरोहण गरी कीर्तिमान कायम गरेका दुई महिला हिमाल आरोहीहरूलाई सशस्त्र प्रहरी बलले विशेष सम्मान गरेको छ ।
सगरमाथा र लोत्से हिमाल आरोही सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकी शेर्पा र सगरमाथा आरोही सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीलाई भव्य सम्मान गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक, स्वयम्भूमा जेठ ८ गते आयोजित विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले उनीहरूलाई संगठनको तर्फबाट सम्मान गरे । हिमालको चुचुरोमा राष्ट्र तथा संगठनको झण्डा फहराउनु गौरवको विषय भएको बताउँदै महानिरीक्षक पौडेलले सफल आरोहणका लागि दुवै जनालाई हार्दिक बधाई दिए ।
सम्मान कार्यक्रममा बोल्दै आरोहीहरू शेर्पा र कार्कीले राष्ट्र र संगठनको झण्डा सर्वोच्च शिखरमा फहराउन पाउनु आफ्नो जीवनकै गर्वको विषय भएको बताए । सफल आरोहणका लागि आवश्यक सहयोग, समन्वय तथा साथ दिने सशस्त्र प्रहरी बल नेपाल लगायत सम्पूर्ण सहयोगीहरू प्रति उनीहरूले हार्दिक कृतज्ञता तथा धन्यवाद व्यक्त गरे ।
सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीले गत जेठ ३ गते बिहान १० बजेर २० मिनेटमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी थिइन् । त्यसैगरी सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पाले सोही दिन बिहान ११ बजेर ५५ मिनेटमा सगरमाथाको सफल आरोहण गरेकी थिइन् भने त्यसको भोलिपल्ट जेठ ४ गते दिउँसो ३ बजेर २५ मिनेटमा लोत्से हिमालको समेत सफल आरोहण गरेकी थिइन् ।
सशस्त्र प्रहरी बल नेपालको इतिहासमा सगरमाथा आरोहण गर्ने उनीहरू पहिलो महिला आरोही हुन् ।



