Oct 31 2026 | २०८३ कार्तिक १५ गते

एकै महिनामा २३ सयभन्दा बढी फरार प्रतिवादी र ४० जना अवैध हतियारधारी प्रहरी फन्दामा

एकै महिनामा २३ सयभन्दा बढी फरार प्रतिवादी र ४० जना अवैध हतियारधारी प्रहरी फन्दामा

शुक्रवार, जेठ ८ २०८३
  • काठमाडौँ । नेपाल प्रहरीले गत वैशाख महिनामा देशव्यापी रूपमा सञ्चालन गरेको विशेष अभियानका क्रममा विभिन्न मुद्दाका २ हजार ३ सय १९ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । 

    अदालतबाट दोषी ठहर भई सजाय भुक्तान गर्न बाँकी रहेका तथा लामो समयदेखि कानुनको आँखा छलेर फरार रहेका अपराधीहरूलाई प्रहरीले पक्राउ गरी कानुनी दायरामा ल्याएको हो ।

    images

    प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ परेका फरार प्रतिवादीहरूमध्ये सबैभन्दा बढी मधेश प्रदेशबाट ७ सय ३० जना र काठमाडौँ उपत्यकाबाट ३ सय ६६ जना रहेका छन् । यसैगरी लुम्बिनी प्रदेशबाट ३ सय ३० जना, कोशी प्रदेशबाट ३ सय २६ जना, गण्डकी प्रदेशबाट २ सय ४ जना, बागमती प्रदेशबाट १ सय ९९ जना, सुदूरपश्चिम प्रदेशबाट ८४ जना, कर्णाली प्रदेशबाट ६८ जना र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीबाट १२ जना पक्राउ परेका छन् । 

    वैशाख महिनामा पक्राउ परेका यी प्रतिवादीहरूबाट कुल ८ सय २५ वर्ष २ महिना २५ दिन कैद सजाय कार्यान्वयनमा आएको छ भने उनीहरूबाट २१ करोड ५३ लाख ६९ हजार १ सय १० रुपैयाँ जरिवाना समेत असुलउपर गरिएको छ । प्रहरीले कर्तव्य ज्यान, लागूऔषध, जबरजस्ती करणी, बैंकिङ कसुर र ठगी लगायतका मुद्दामा फैसला ठहर भएकाहरूलाई पक्राउ गर्न विशेष अभियान चलाइरहेको छ ।

    यसैगरी नेपाल प्रहरीले सोही एक महिनाको अवधिमा देशभरबाट अवैध हातहतियार सम्बन्धी मुद्दामा संलग्न ४० जनालाई समेत पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गण्डकी प्रदेशबाट १४ जना, लुम्बिनी प्रदेशबाट ९ जना, कर्णाली प्रदेशबाट ८ जना, काठमाडौँ उपत्यका र सुदूरपश्चिम प्रदेशबाट ३/३ जना तथा कोशी, मधेश र बागमती प्रदेशबाट १/१ जना रहेका छन् ।

    पक्राउ परेका हतियारधारीहरूको साथबाट प्रहरीले कुल २९ थान अवैध हातहतियार बरामद गरेको छ । जसमा २१ थान भरुवा बन्दुक, २ थान कटुवा पेस्तोल, २ थान एयरगन, १ थान चिनियाँ पेस्तोल, १ थान सामान्य पेस्तोल, १ थान रिभल्वर र १ थान अन्य बन्दुक रहेका छन् । हतियारका साथै उनीहरूको ओसारपसार र भण्डारणबाट एसएलआरको २ सय ६३ राउण्ड गोली, विभिन्न बन्दुकमा लाग्ने ७० राउण्ड गोली र चिनियाँ पेस्तोलको १ राउण्ड गोली समेत बरामद भएको छ ।

    तस्करी, हत्या, अपहरण, डकैती, लुटपाट, जबरजस्ती चन्दा असुली तथा दुर्लभ वन्यजन्तुको शिकार जस्ता गम्भीर अपराधमा यस्ता अवैध हतियार प्रयोग हुने गरेको प्रहरीको निष्कर्ष छ । अपराधमुक्त समाज निर्माणका लागि अवैध हातहतियार नियन्त्रण र कारोबारीलाई निस्तेज पार्न प्रहरीले सूचना संकलनलाई तीव्र बनाएको छ । प्रहरीले कतै अवैध हतियार लुकाइराखेको थाहा भएमा तत्काल सूचना दिन र त्यस्ता हतियार प्रहरीमा बुझाउन आम नागरिकलाई अनुरोध समेत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार