Oct 31 2026 | २०८३ कार्तिक १५ गते

काठमाडौं महानगरपालिकाले ८ वटा पार्कमा राख्यो मौरीका घार

काठमाडौं महानगरपालिकाले ८ वटा पार्कमा राख्यो मौरीका घार

बुधवार, जेठ ६ २०८३
  • काठमाडौं । काठमाडौँ महानगरपालिकाले विभिन्न ८ वटा पार्कमा मौरीको घार राखेको छ । 

    करिब ९ लाख रुपियाँ लागतमा सेरेना जातका रैथाने मौरीलाई आधुनिक घार बनाएर पार्कहरुमा राखिएको हो । यो जातका मौरीहरु उच्च पहाडी, मध्य पहाडी र तराई क्षेत्रमा पाइने मौरी हुन् । यी मौरीहरुले सृष्टिको सन्तुलन र बोटविरुवाको वंश जोगाउने काम गरिरहेका हुन्छन् ।

    images

    यी मौरीका घारहरु महानगरपालिकाले नमूना कार्यक्रमका रुपमा राखेको हो । यसबाट प्राप्त हुने नतिजाका आधारमा थप कार्यक्रम सञ्चालन हुनेछन् । कार्यक्रमको पहिलो चरणमा शंखधर उद्यान (रत्नपार्क) मा २ घार, वडा नम्वर ३ को रानीवारी सामुदायिक बन भित्र ४ घार, वडा नम्बर १६ को वालाजु वाइसधारा उद्यान भित्र ५ घार, यही वडाको गुरु नानक पार्कमा २ घार, वडा नम्बर ४ को शंखपार्कमा २ घार, वडा नम्बर ६ को लाखे पोखरी पार्कमा २ घार मौरी राखिएका छन् ।

    यस्तै वडा नम्बर १४ को भुवनेश्वरी पार्कमा ४ घार र वडा नम्बर ३२ को मदन भण्डारी पार्कमा २ घार राखिएको आयोजनाका इञ्जिनियर सरकारदीप श्रेष्ठले जानकारी दिए ।

    ‘एउटा घारमा १४ हजारदेखि २२ हजारसम्म मौरी बस्छन्, यो भन्दा धेरै संख्यामा माहुरी भए भने छुट्टै रानी मौरी बनाएर समूह विभाजन गरेर बस्छन् । हामी एउटा घारबाट मौरीको संख्या बढेर धेरै हुन् भन्नका लागि वातावरण मिलाउँदै जान्छौँ,’ श्रेष्ठले भने।

    उनका अनुसार घारको सुरक्षाका लागि फलामे बार राखिएको बताउँदै पार्कमा रैथाने विरुवा र फूल रोप्ने कामलाई बढाउने, विरुवामा प्राकृतिक मल राख्ने, विरुवा जोगाउन प्राकृतिक उपचार विधि अपनाउने, विषादीको प्रयोग रोक्ने योजना रहेको छ ।

    वातावरण संरक्षणका दृष्टिले मौरीलाई पारिस्थितिकीय इञ्जिनियरका रुपमा लिइन्छ । मौरीको अभावमा पृथ्वीको जैविक विविधता र खाद्य सुरक्षा दुवै संकटमा पर्न सक्छन् । फूलहरुको पराग सेचनका लागि मौरीलाई मुख्य माध्यम मानिन्छ । एउटा फूलबाट अर्को फूलमा पराग कण ओसारेर बिरुवाहरूको प्रजनन प्रक्रियामा मौरीको ठुलो भूमिका हुन्छ । संसारका लगभग ८०५ भन्दा बढी फूल फुल्ने बिरुवा र एक तिहाइभन्दा बढी खाद्य बालीहरू पराग सेचनका लागि मौरीमा निर्भर हुन्छन् ।

    मौरीको यही भूमिकाले फलफुल, बालीनाली र वनजंगलको विकास तथा विस्तार स्वभाविक र स्वचालित रुपमा भइरहेको हुन्छ ।

    वनस्पतिहरूको विविधता कायम राख्ने मौरीको यही कामले गर्दा अन्य वन्यजन्तु, चराचुरुङ्गी र कीराहरूका लागि बासस्थान र आहारा सुनिश्चित हुन्छ । मौरीको यो गुणको उपयोग गरेर काठमाडौँ महानगरपालिकाले जैविक विविधता तथा पारिस्थितिकीय अवस्थालाई जोगाउने योजना बनाएको बताइएको छ ।

    पारिस्थितिकीय स्वास्थ्यको सूचक मौरी निकै संवेदनशील जीव हो ।  इञ्जिनियर श्रेष्ठले भने,  ‘मौरीको संख्या  घट्नुले वातावरणीय प्रदुषण, विषादीको अत्याधिक प्रयोग र जलवायु परिवर्तनबाट परेको नकारात्मक असरको संकेत हो । यसकारण मौरीको जीवन चक्रलाई सूचक मानेर हामी वातावरणीय सुरक्षाका लागि काम गर्नेछौँ ।’

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार