काठमाडौं । स्कटल्यान्डलाई ६ विकेटले हराउँदै नेपाल आईसीसी क्रिकेट विश्वकप लिग २ को पाँचौ स्थानमा उक्लिएको छ । घरेलु मैदानमा स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८ ओभर १ बलमा ४ विकेट गुमाएर १९९ रन बनाउँदै पूरा गरेको हो ।
नेपालको जितमा कप्तान रोहित पौडेलले सर्वाधिक ७४ रन बनाएर नटआउट रहे । उनले ९८ बलमा ५ चौका र २ छक्का प्रहार गरे । रोहितले इशान पाण्डेसँग तेस्रो विकेटका लागि शतकीय साझेदारी गरे । इशान ६१ बलमा ५५ रन बनाएर आउट भए । उनले ५ चौका र २ छक्का प्रहार गरे । त्यसअघि ओपनर कुशल भुर्तेल र आसिफ शेखले ५८ रनको ओपनिङ साझेदारी गरेका थिए । कुशल २८ र आसिफ २९ रनमा आउट भए । त्यसपछि नेपालको ब्याटिङ रोहित र इशानले सम्हालेका थिए । उपकप्तान दीपेन्द्रसिंह ऐरी २ रनमा आउट हुँदा आरिफ शेख ८ रनमा अविजित रहे । बलिङमा स्कटल्याण्डका मार्क वाटले २ र ब्रेन्डन म्याकमुलेनले एक विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको स्कटल्याण्ड ३९ ओभर एक बलमा १९४ रनमा समेटिएको थियो । स्कटल्याण्डका लागि ब्रेन्डन म्याकमुलेनले सर्वाधिक ७३ रन बनाए । उनले ४४ बलमा ६ छक्का र ६ चौका प्रहार गरे । माइकल इंग्लिसले अर्धशतक पूरा गरे । उनी ७२ बलमा ५१ रन बनाए । जर्ज मुन्से २१, फिन्ले म्याकक्रेथ ६, कप्तान रिची बेरिङटन १२, माथ्यु क्रस १, मार्क वाट २०, माइकल लिस्क १, ओलीइ जोन्स २ र ओलीभर डेभिडसन कुनै पनि रन नजोडी आउट भए ।
बलिङमा नेपालका स्पिनर ललित राजवंशी घातक बने । लामो समय विकेटविहीन बनेका ललितले स्कटल्याण्डविरुद्ध ४ विकेट लिए । सन्दीप लामिछाने ३, नन्दन यादव, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरी एकएक विकेट लिए ।



