Oct 31 2026 | २०८३ कार्तिक १५ गते

प्रधानमन्त्री शाहद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति सम्मान

प्रधानमन्त्री शाहद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति सम्मान

आइतवार, जेठ ३ २०८३
  • काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ३२औँ पटक सगरमाथाको सफल आरोहण गरेका कामी रिता शेर्पा र ११औँ पटक सगरमाथा आरोहण गर्ने लाक्पा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गरेका छन् ।

    सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री शाहले आरोहीहरुको यो सर्वोच्च सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय, गौरवपूर्ण र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्यालो बनाउने विश्वास लिएको बताएका छन् ।

    images

    शेर्पाले आज बिहान १०ः १२ बजे सगरमाथाको ३२औँ पटक सफल आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान पुनः नवीकरण गरेका हुन् ।  “विश्वको सर्वोच्च शिखर सगरमाथा केवल एउटा भौगोलिक उचाइको अवयव मात्रै होइन, नेपालको आत्मसम्मान, साहस, धैर्य र हिमाली सभ्यताको सर्वोच्च प्रतीक हो। यही गौरवशाली हिमालमाथि आज नेपाली आरोहीहरूले पुनः इतिहास लेखेका छन्”, प्रधानमन्त्रीले भनेका छन् ।

    साथै, ‘माउन्टेन क्विन’ का रूपमा परिचित लाक्पा शेर्पाले आजै बिहान ९ः ३० बजे ११औँ पटक सगरमाथा आरोहण गर्दै महिला आरोहीमध्ये सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान कायम गरेका छन् ।

    “निरन्तरको अदम्य साहस, कठोर आत्मअनुशासन र कर्मप्रतिको इमान्दार समर्पणले मात्रै यस्तो ऐतिहासिक सफलता प्राप्त हुन सक्दछ”, प्रधानमन्त्री शाहले भनेका छन्, “खुसीको यो क्षणलाई सबैजनासँग साझा गर्दै दुबैजना आरोहीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।”

    नेपालको पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण र अनुपम रहेको उनको भनाइ छ । हिमाललाई ईश्वर झैं पुजन गर्ने, जोखिमलाई जिम्मेवारीका रूपमा स्वीकार गर्ने, र विश्वभरका आरोहीलाई सुरक्षित रूपमा शिखरसम्म पुर्याउने शेर्पाहरू वास्तवमै हिमालयका अदृश्य नायक भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले उनीहरूको साहस, ज्ञान र श्रम बिना हिमालको गौरव अधुरो रहने बताएका छन् ।

    “सम्पूर्ण नेपालीको तर्फबाट कामी रिता शेर्पा, लाक्पा शेर्पा तथा सम्पूर्ण आरोही, शेर्पा समुदाय र पर्वतारोहण क्षेत्रमा समर्पित सबैप्रति हार्दिक बधाई तथा उच्च सम्मान व्यक्त गर्दछु”, प्रधानमन्त्रीले भनेका छन् ।



    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार