Oct 31 2026 | २०८३ कार्तिक १५ गते

समाचार

ककनी सडक विस्तारको नाममा कान्छा लामामाथि अन्याय, अरुको जोगाउन लामाको निजी जग्गामात्र किन काटियो ?

ककनी सडक विस्तारको नाममा कान्छा लामामाथि अन्याय, अरुको जोगाउन लामाको निजी जग्गामात्र किन काटियो ?

बुधवार, बैशाख २ २०८३
  • काठमाडौं । नुवाकोटको ककनी गाउँपालिका–२, काउलेथानामा सडक स्तरोन्नतीको नाममा निजी सम्पत्तिमाथि खुला हस्तक्षेप भएको आरोप सार्वजनिक भएको छ।

    सडक बिस्तारको नाममा स्थानीय कान्छा लामाको जग्गामाथि मात्र डोजर चलाइएको भन्दै गाउँपालिका अध्यक्ष सुमन तामाङ र सम्बन्धित प्राविधिक टोलीविरुद्ध अख्तियारमा उजुरी दर्ता गरिएको छ।

    images

    स्थानीय कान्छा लामाको निजी जग्गामा निर्माण भइरहेको संरचना भत्काएर एकतर्फी रूपमा सडक विस्तार गरिएको भन्दै गाउँपालिका अध्यक्ष सुमन तामाङ र सम्बन्धित प्राविधिक टोलीविरुद्ध अख्तियारमा उजुरी दर्ता गरिएको हो। पीडित पक्षका अनुसार सहमतिमा निर्माण भइरहेको संरचनासमेत रातारात डोजर लगाएर हटाइएको छ भने राजमार्ग विस्तारका लागि केन्द्र रेखादेखि दुवैतर्फ बराबर कटान गर्नुपर्ने मापदण्ड हुँदाहुँदै एकातर्फ मात्र कटान गरिएको छ।

    5.jpg
    पीडित कान्छा तामाङ 

    बालाजु–त्रिशूली–धुन्चे–स्याफ्रुबेसी (राष्ट्रिय १८, पासाङ ल्हामु राजमार्ग) अन्तर्गतको उक्त खण्डमा डबल लेन स्तरोन्नती गर्दा ८ मिटर चौडाइ कायम गर्नुपर्ने भए पनि व्यवहारमा भने एकपक्षीय निर्णय गरिएको आरोप छ। स्थानीयका अनुसार राजनीतिक प्रभाव र स्वार्थका आधारमा अर्को पक्षको जग्गा जोगाउँदै कान्छा लामाको भाग मात्र काटिएको हो। यसले विकासको नाममा राज्यकै संयन्त्र प्रयोग गरेर एक व्यक्तिमाथि अन्याय गरिएको अनुभूति गराएको स्थानीयहरुको भनाइ छ।

    पीडित पक्षले जग्गा अधिग्रहण वा मुआब्जाको कुनै प्रक्रिया नअपनाई जबरजस्ती निजी सम्पत्तिमा हस्तक्षेप गरिएको आरोप लगाएको छ। साथै गाउँपालिका अध्यक्ष र सम्बन्धित इन्जिनियरको संलग्नतामा यस्तो कार्य भएको आशंका स्थानीयले व्यक्त गरेका छन्। सहमतिमा बनेको संरचना भत्काइनु, एकतर्फी रूपमा जग्गा कटान हुनु र उचित क्षतिपूर्ति नदिइनुजस्ता विषयले घटनालाई झन् विवादास्पद बनाएको छ।

    घटनाबारे आफ्ना भनाइ राख्दै स्थानीय 
    घटनाबारे आफ्ना भनाइ राख्दै स्थानीय 

    घटनापछि स्थानीयस्तरमा असन्तोष चुलिँदै गएको छ। पीडित कान्छा लामाले न्याय नपाएसम्म निर्माण कार्य रोक्ने चेतावनी दिएका छन् भने आवश्यक परे कानुनी प्रकिया र आन्दोलनका माध्यमबाट समेत आफ्नो हकका लागि लड्ने बताएका छन्।

    संघीय राजधानी नजिकैको यो सडक खण्ड लामो समयदेखि राजनीतिक मुद्दा बन्दै आएको सन्दर्भमा पछिल्लो घटनाले विकास प्रक्रिया पारदर्शी र न्यायसंगत छ कि छैन भन्ने गम्भीर प्रश्न खडा गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार