काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा गणतन्त्रको घोषणा गर्ने थलोका रूपमा रहेको रुकुम पूर्वमा समाजवाद निर्माणको सन्देश दिन आफू उमेदवार बनेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित रुकुम पूर्वका कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
रुकुम पूर्व नेपालको गणतान्त्रिक आन्दोलनको निर्णायक केन्द्र भएको उनले उल्लेख गरे । पूर्वी रुकुमको चुनबाङ बैठकबाट नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने निष्कर्ष निकालिएको उनले बताए ।
चुनबाङ बैठकबाट महिला, जनजाति, मधेसी, थारूलगायत उत्पीडित समुदायलाई पहिचानसहितको अधिकार दिने उद्घोष गरिएको उनले सुनाए । चुनबाङ बैठक नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय रूपमा समेत परिचित रहेको उनको भनाइ थियो ।
हाल देश ‘जेनजी’ आन्दोलनपछि जटिल अवस्थामा रहेको उनले टिप्पणी गरे । राष्ट्रलाई एकताबद्ध गर्ने, कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइ दिने र देशभर समाजवाद निर्माणको नयाँ सन्देश प्रवाह गर्न रुकुम पूर्व उपयुक्त थलो भएको उनले बताए । उनले सोही कारण आफू आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति रुकुम पूर्ववाट उमेदवार बनेको जिकिर गरे ।



