काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडानम्बर-१० जवाङ खोला नजिकै ठूलो पहिरो खस्दा काठमाडौँ जाने सडक पूर्व रूपमा अवरुद्ध भएको छ ।
गएराति खसेको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध भएको हो । राति सुरुमा सानो पहिरो खसेको थियो । त्यसलाई पन्छाएर एकतर्फी बाटो खुलाइएको थियो । तर पछि फेरि ठूलो पहिरो खसेपछि हाल सडक दुईतर्फी नै बन्द छ ।
नागढुंगा– मुग्लिन सडक योजना कार्यालय पश्चिम खण्डका प्रमुख केदार नेपालले पहिरो ठूलो भएकाले पन्छाउन दिनभर लाग्ने बताए । उनका अनुसार आज दिनभर सवारी साधन सञ्चालन हुने सम्भावना कम छ ।
अहिले पनि पहिरो खस्ने क्रम जारी रहेकाले पन्छाउने काम गर्न नसकिएको उनले बताए । पहिरो खस्न रोकिएपछि मात्र पन्छाउने काम हुने प्रहरीले जनाएको छ ।



