काठमाडौं । नबिल बैंक लिमिटेडले ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ८ वर्षे अवधिको ऋणपत्र साउन ६ गतेदेखि निष्कासन गर्ने भएको छ। यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज प्राप्त गर्नेछन् । जुन अर्धवार्षिक रूपमा प्रदान गरिनेछ। बैंकले ऋणपत्रको मूलधन ८ वर्षपछि मात्र फिर्ता गर्ने जनाएको छ।
ऋणपत्रको अंकित मूल्य प्रतिकित्ता १ हजार रुपैयाँ रहेको छ। बैंकले कुल ३० लाख कित्ता अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको हो। तीमध्ये १२ लाख ९६० हजार कित्ता सामूहिक लगानी कोषसहित सर्वसाधारणका लागि खुला हुनेछ।
सर्वसाधारणले छिटोमा साउन ९ गतेसम्म र यदि सो अवधिमा पूर्ण रूपमा बिक्री नभएमा ढिलोमा साउन २० गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन मेरोसेयर प्रणालीमार्फत अनलाइनबाट गर्न सकिनेछ।
बिक्री प्रवन्धकमा एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ। बैंकले यो ऋणपत्रमार्फत दीर्घकालीन स्रोत व्यवस्थापन गरी वित्तीय प्रणालीमा स्थिरता र सन्तुलन ल्याउने लक्ष्य लिएको जनाएको छ।



