Oct 29 2026 | २०८३ कार्तिक १३ गते

वैदेशिक रोजगार

१६ वर्षमा रोजगारीका लागि विदेसिए ८१ लाख ३६ हजार युवा

१६ वर्षमा रोजगारीका लागि विदेसिए ८१ लाख ३६ हजार युवा

भित्रियो १११ खर्ब ५२ अर्बभन्दा बढी रेमिट्यान्स

आइतवार, आषाढ २९ २०८२
  • काठमाडौं । पछिल्लो १६ वर्षमा रोजगारीका लागि ८१ लाख ३६ हजार युवा श्रमशक्ति मुलुकबाट बाहिरिएको पाइएको छ । आर्थिक वर्ष २०६५/६६ देखि आव २०८०/८१ सम्मको अवधिमा उक्त संख्यामा युवाहरु विदेसिएको वैदेशिक रोजगार विभागको तथ्यांकमा देखिन्छ । यसमा भारतमा रोजगारीका लागि जानेहरु समेटिएका छैनन् । भारतमा जान श्रम स्वीकृति लिनु नपर्ने भएकाले त्यहाँ काम गर्न जानेहरु यो तथ्यांकमा नसमेटिएका हुन् ।

    उपरोक्त तथ्यांक संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति लिएर जानेहरुको हो । यद्यपि, यसरी श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरुमध्ये कति फर्किए भन्ने तथ्यांक यहाँ उल्लेख गरिएको छैन । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार उक्त १६ वर्षको अवधिमा १११ खर्ब ५२ अर्ब रुपैयाँभन्दा बढी विप्रेषण (रेमिट्यान्स) मुलुकमा भित्रिएको छ ।

    images

    वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै उनीहरुले पठाउने विपे्रषण पनि बढेको देखिन्छ । आर्थिक वर्ष २०६५/६६ मा दुई लाख १९ हजार ९६५ जना रोजगारीमा गएका थिए । उक्त आवमा दुई खर्ब नौ अर्ब सात करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको थियो । आव २०८०/८१ मा सात लाख ४१ हजार २९७ जना रोजगारीमा गएका थिए भने १४ खर्ब ४५ अर्ब रुपैयाँ विप्रेषण मुलुक भित्रिएको थियो ।

    सरकारले अवैधानिक माध्यमबाट पैसा पठाउने प्रवृत्तिलाई नियन्त्रण गर्न विभिन्न नीतिहरु अवलम्बन गरेसँगै वैधानिक बाटोबाट रेमिट्यान्स आउने क्रम बढ्दै गएको देखिन्छ । उदाहरणका लागि आव २०६९/७० मा छ लाख ११ हजार १५५ जना वैदेशिक रोजगारीमा गएका थिए र त्यस आवमा चार खर्ब ३४ अर्ब छ करोड रुपैयाँको हाराहारीमा मात्र रेमिट्यान्स भित्रिएको थियो । तर त्यसको छ वर्षपछि आव २०७५/७६ मा पाँच लाख तीन हजार ८२८ जना रोजगारीमा जाँदा आठ खर्ब ७९ अर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको थियो । यो अवधिमा सबैभन्दा कम विप्रेषण २०६५/६६ मा दुई खर्ब नौ अर्ब रुपैयाँ भित्रिएको तथ्यांक छ । सबैभन्दा बढी आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब ४५ अर्ब रुपैयाँ भित्रिएको देखिन्छ । चालु आवको ११ महिनामै १५ खर्बभन्दा बढी रेमिट्यान्स भित्रिइसकेको छ ।

    आव २०६५/६६ यता रोजगारीमा जानेहरुको संख्या क्रमशः बढे पनि आव २०७५/७६ पछिका तीन आर्थिक वर्षमा भने निरन्तर घटेको थियो । त्यसअघि लगातार चारवटा आर्थिक वर्षमा रोजगारीमा जानेहरु छ लाखभन्दा बढी थिए । यसैगरी आव २०७५/७६ मा पाँच लाख तीन हजार ८२८, आव २०७६/७७ मा तीन लाख ६८ हजार ४३३ र २०७७/७८ मा १६ वर्षयताकै सबैभन्दा कम एक लाख ६६ हजार ६९८ जनामात्र रोजगारीमा गएका थिए । विश्वव्यापीरुपमा देखिएको कोरोना महामारीका कारण रोजगारीमा जानेहरुको संख्या अत्यन्तै न्यून देखिएको हो ।

    महामारीपछि भने रोजगारीमा जाने क्रमले पुरानै लय समात्दै २०७९/८० मा अहिलेसम्मकै धेरै सात लाख ७१ हजार ३२७ जना श्रम स्वीकृति लिएर रोजगारीमा गएका थिए । त्यसपछि २०८०/८१ मा करिब ३० हजारले घटेको यो संख्या चालु आर्थिक वर्षमा फेरि बढेको छ । यस आर्थिक वर्षको ११ महिनामै सात लाख ६० हजारभन्दा बढीले श्रम स्वीकृति लिएर विदेसिएको वैदेशिक रोजगार विभागको तथ्यांक छ ।

    यस अवधिमा रोजगारीमा गएकामध्ये १३ हजार २९९ जनाको ज्यान गएको देखिन्छ । सबैभन्दा बढी आव २०७८/७९ मा एक हजार ४७९ जनाको मृत्यु हुँदा सबैभन्दा कम २०६५/६६ मा ७८ जनाको मृत्यु भएको थियो । यसबीचमा कूल तीन हजार ५७ जना घाइते र बिरामी भएका छन् । सबैभन्दा बढी घाइते र बिरामी अघिल्लो आव २०८०/८१ मा ६५३ जना भएका थिए भने सबैभन्दा कम २०६५/६६ मा आठ जना थिए ।

    विगतमा रोजगारीमा व्यक्तिगत र संस्थागत माध्यमबाट जानेहरु अधिकांश छ वटा खाडी मुलुक र मलेसिया जाने गर्थे । रोजगारीमा जानेको संख्या बढेसँगै नयाँ श्रम गन्तव्यतर्फ पनि आकर्षण बढेको पाइन्छ । आर्थिक वर्ष ०६९/७० को तथ्यांक हेर्दा जम्मा १५ हजार ९६७ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएर रोजगारीमा गएका थिए । जसमध्ये १३ हजार ७६८ जना खाडी मुलुक र मलेसिया जानेहरु थिए । गत आर्थिक वर्षमा ९५ हजार ३८ जना व्यक्तिगत श्रम स्वीकृति लिएर रोजगारीमा गएकामा यी सातवटा मुलुकमा जानेको संख्या ३० हजार ६४६ थियो । खाडी मुलुक र मलेसियाबाहेकका मुलुकमा जान ६४ हजार ३९२ जनाले श्रम स्वीकृति लिएका तथ्यांकमा देखिन्छ ।

    प्रभावका लागि ममता थापाले लेख्नु भएको हो। 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार